योग्य नेता तयार पार्ने कार्यक्रम ल्याउन सभापति थापाको निर्देशन
सारांश
- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई दक्ष बनाउन विशेष नेतृत्व विकास कार्यक्रम ल्याउन निर्देशन दिएका छन्।
- उनले पार्टीको प्रशिक्षण प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउन र नयाँ सदस्यलाई कांग्रेसको इतिहास, विचार, सिद्धान्तबारे प्रशिक्षण दिनुपर्नेमा जोड दिए।
- थापाले सुशासनलाई कांग्रेसको प्रमुख एजेन्डा बताउँदै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने र २०८४ को स्थानीय तहको निर्वाचनलाई लक्षित गरी तयारीमा जुट्न आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट राज्यका विभिन्न जिम्मेवारी र पदमा जान चाहने नेता तथा कार्यकर्तालाई दक्ष र सक्षम बनाउन विशेष नेतृत्व विकास कार्यक्रम ल्याउन निर्देशन दिएका छन्।
बुधबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
सभापति थापाले कांग्रेसले परिकल्पना गरेको ‘लिडरसिप एकेडेमी’ लाई अब छुट्टै नबनाई यही प्रतिष्ठानमार्फत नै सञ्चालन गर्नुपर्ने धारणा राखे। केन्द्रीय समितिबाट यसको कार्यशर्त (टीओआर) समेत पारित भइसकेको जानकारी दिँदै उनले राजकीय जिम्मेवारी सम्हाल्न इच्छुक साथीहरूलाई पहिल्यैदेखि प्रशिक्षित र तयार पर्नु आवश्यक रहेको बताए।
पार्टीभित्रको प्रशिक्षण प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै उनले पार्टीका सदस्यहरूलाई वैचारिक रूपमा सशक्त बनाउनुपर्ने बताए। अहिलेको महँगी लगायतका जनसरोकारका विषयमा सरकारको विरोध मात्र गरेर नहुने भन्दै थापाले समस्या समाधानका लागि के-कस्ता विकल्पहरू हुन सक्छन् भन्नेबारे ठोस नीतिगत कार्य गर्न प्रतिष्ठानलाई सुझाए। पार्टीमा ठूलो संख्यामा नयाँ सदस्यहरू आबद्ध भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले ती नयाँ पुस्तालाई कांग्रेसको इतिहास, विचार, सिद्धान्त र मूल्य-मान्यताबारे व्यवस्थित प्रशिक्षण दिनु पहिलो प्राथमिकता हुनुपर्ने स्पष्ट पारे।
पार्टीको प्रशिक्षण कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने योजना सुनाउँदै सभापति थापाले भने, ‘अहिले धेरै नयाँ सदस्यहरू पार्टीमा जोडिनुभएको छ। उहाँहरूका लागि प्रतिष्ठानले विशेष योजना बनाउनुपर्छ। अहिले सबै कुरा भर्चुअल रूपमा गर्न सकिन्छ। मेरो चाहना कांग्रेसको क्रियाशील सदस्यता लिएकाहरूलाई कांग्रेसकै आईडीमार्फत भर्चुअल मिटिङमा जोड्ने हो। पहिले जस्तो प्रशिक्षणका लागि भौतिक रूपमै उपस्थित हुनुपर्छ भन्ने बाध्यता अब छैन।’
आफ्नो सम्बोधनका क्रममा सुशासन नै नेपाली कांग्रेसको प्रमुख एजेन्डा भएको दाबी गर्दै उनले भ्रष्टाचारका मामिलामा पार्टीले शून्य सहनशीलताको नीति लिने स्पष्ट पारे। उनले यस प्रतिबद्धतालाई पार्टीको नीति र व्यवहारमा कसरी उतार्ने भन्नेबारे पनि प्रतिष्ठानले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए।
त्यस्तै, चुनावी तयारीका सन्दर्भमा बोल्दै सभापति थापाले आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी अहिलेदेखि नै आन्तरिक गृहकार्य र तयारीमा जुट्न सिंगो पार्टी पंक्तिलाई आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
विश्वकप २०२६ : हालसम्म कुन–कुन टिम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण