सुदूरका सांसदलाई ओलीको निर्देशन : गुटबन्दी अन्त्य गर्नुस्
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र चुलिएको विवाद र आगामी सत्ता समीकरणका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णायक हस्तक्षेप गरेका छन् ।
संसदीय दलको नेतृत्वलाई लिएर सांसदहरूबिच तीव्र मतभेद बढिरहेका बेला अध्यक्ष ओलीले सुदूरपश्चिमका सबै ११ जना प्रदेशसभा सदस्यहरूलाई भक्तपुरको गुण्डुमा बोलाएर विशेष छलफल गरेका हुन् ।
संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति असन्तुष्ट पक्षले नेतृत्व परिवर्तनको माग गरिरहेका बेला भएको यस भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । छलफलमा अध्यक्ष ओलीले आन्तरिक कलह छोडेर पार्टीलाई बलियो बनाउन र सम्भावित निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
बैठकपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसीले रातोपाटीसँग कुरा गर्दै संसदीय दलको नेता परिवर्तनका विषयमा कुनै औपचारिक छलफल नभएको दाबी गरे । अध्यक्ष ओलीले आगामी प्रदेश र स्थानीय तहकाे निर्वाचनमा एकजुट भएर अघि बढ्नुपर्नेमा जाेड दिएका थिए।
‘अध्यक्षज्यूले प्रदेश सभा र सरकारमा हाम्रा ११ जना सांसदको भूमिकालाई कसरी प्रभावकारी बनाउने र पार्टीभित्रको कमजोरीलाई कसरी सुधार्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको छ।’, उनले भने ।
अध्यक्ष ओलीले बैठकमा गत निर्वाचनको समीक्षा गर्दै नतिजा किन कमजोर आयो भन्ने विषयमा चासो राखेका थिए।
‘चाँडै फेरि प्रदेश र स्थानीय तहकाे चुनाव हुन्छ, त्यसैले अहिलेदेखि नै नतिजा सुधार्ने गरी गाउँस्तरमा लाग्न र प्रदेशमा विवादरहित ढङ्गले अगाडि बढ्न अध्यक्षले स्पष्ट निर्देशन दिनुभएको छ,’ जैसीले भने ।
हाल सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा एमालेसहितको गठबन्धन सरकार छ। बैठकमा सरकारको प्रभावकारिता र कांग्रेससँगको सहकार्यका विषयमा पनि कुराकानी भएको थियो ।
सुदूरपश्चिममा एमालेको एकल बहुमत नभएकाले हालको अवस्थामा कांग्रेससँग मिलेर जाँदा पनि पार्टी किन पछि पर्यो भन्नेबारे ओलीले जिज्ञासा राखेको थिए। दलको नेता फेर्ने सांसदहरूको भित्री चाहना र नयाँ सत्ता समीकरणको सम्भावना भने अझै टरिसकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण