चोरी आरोपमा अवतार निर्देशक जेम्स क्यामरुन र डिज्नीविरुद्ध मुद्दा
सारांश
- अवतारका निर्देशक जेम्स क्यामरुन र डिज्नीविरुद्ध अभिनेत्री कोरिआन्का किलचरले मुद्दा दायर गरेकी छन्।
- कोरिआन्काले आफ्नो अनुमतिबिना अनुहारको बनावट चोरेर अवतारको मुख्य पात्र 'नेयतिरी' बनाएको दाबी गरेकी छन्।
- उनले रोयल्टी, क्षतिपूर्ति, नाफाको हिस्सा र सार्वजनिक माफीको माग गरेकी छन्।
न्युयोर्क । विश्वकै सर्वाधिक कमाइ गर्ने हलिउड चलचित्र ‘अवतार’ का निर्देशक जेम्स क्यामरुन र द वाल्ट डिज्नी कम्पनी कानुनी संकटमा परेका छन्।
सन् २००५ को चर्चित चलचित्र ‘द न्यु वर्ल्ड’ मा पोकाहोन्टसको भूमिका निभाएकी अभिनेत्री कोरिआन्का किलचरले आफ्नो अनुमतिबिना अनुहारको बनावट चोरेर अवतारको मुख्य पात्र ‘नेयतिरी’ बनाएको दाबी गर्दै मुद्दा दायर गरेकी हुन्।
टेरेन्स मलिकको उक्त चलचित्रमा अभिनेता कोलिन फारेलसँग अभिनय गर्दा कोरिआन्का मात्र १४ वर्षकी थिइन्। निर्देशक क्यामरुनले उनको तस्बिरलाई आधार मानेर जोइ साल्डानाले निर्वाह गरेको नेयतिरी पात्रको रूप तयार पारेको दाबी मुद्दामा गरिएको छ।
मुद्दामा उल्लेख गरिए अनुसार क्यामरुनले सार्वजनिक सञ्चार माध्यममा छापिएको कोरिआन्काको तस्बिरबाट उनको अनुहारको बनोट र विशेषताहरू चोरेका थिए। त्यसपछि उनले आफ्नो डिजाइन टिमलाई त्यही अनुहारलाई आधार बनाएर नेयतिरी पात्रको स्केच कोर्न निर्देशन दिएका थिए।
कोरिआन्काका कानुनी प्रतिनिधिहरूले अदालतमा दर्ता गरेको उजुरीमा हलिउडका सबैभन्दा शक्तिशाली चलचित्रकर्मीले एक जना अल्पसङ्ख्यक आदिवासी किशोरीको जैविक पहिचान र सांस्कृतिक सम्पदाको दुरुपयोग गरेको आरोप लगाएका छन्। कुनै जस र क्षतिपूर्ति नदिई नियोजित रूपमा व्यावसायिक स्वार्थका लागि यस्तो शोषण गरिएको उनीहरूको दाबी छ।
अर्बौँ डलर कमाउने अवतार शृंखलाले पर्दामा आदिवासीहरूको संघर्षप्रति सहानुभूति देखाए पनि पर्दापछाडि भने वास्तविक आदिवासी किशोरीमाथि नै चुपचाप शोषण गरेको उजुरीमा उल्लेख छ। यस मुद्दामा क्यामरुनको कम्पनी लाइटस्टर्म इन्टरटेनमेन्ट र धेरै भिजुअल इफेक्ट्स कम्पनीहरूलाई पनि विपक्षी बनाइएको छ।
कोरिआन्का र जेम्स क्यामरुनबिच सन् २००९ मा अवतार प्रदर्शन भए लगत्तै एउटा च्यारिटी कार्यक्रममा छोटो भेट भएको थियो। सो भेटमा क्यामरुनले उनलाई आफ्नो कार्यालयमा बोलाएर आफैँले हातले कोरेको र हस्ताक्षर गरेको नेयतिरीको स्केच उपहार दिएका थिए।
स्केचसँगै क्यामरुनले एउटा नोट पनि लेखेका थिए, जसमा लेखिएको थियो, ‘तिमी जत्तिकै राम्री केटी नेयतिरीका लागि मेरो सुरुवाती प्रेरणा थिइन्। दुःखको कुरा तिमी अर्को चलचित्रको सुटिङमा व्यस्त थियौ, अर्को पटक प्रयास गरौँला।’ तर, कोरिआन्काका एजेन्टले उनलाई अडिसन दिलाउन निकै प्रयास गर्दा पनि क्यामरुनले यस परियोजनाका लागि उनलाई कहिल्यै बुक गर्ने वा सम्पर्क गर्ने कोसिस भने गरेका थिएनन्।
आफूले विश्वास गरेको मान्छेले आफ्नो अनुहार गोप्य रूपमा चोरेर डिजाइन प्रक्रियामा मिसाउला र विना अनुमति चलचित्रमा प्रयोग गर्ला भन्ने कहिल्यै नसोचेको भन्दै कोरिआन्काले यो कदमले हद पार गरेको र निकै गलत भएको बताएकी छन्। गत वर्ष सामाजिक सञ्जालमा भाइरल भएको क्यामरुनको एउटा पुरानो अन्तर्वार्ता हेरेपछि मात्र कोरिआन्काले आफ्नो अनुहारको पहिचान चोरी भएको थाहा पाएकी हुन्।
उक्त अन्तर्वार्तामा क्यामरुनले नेयतिरीको स्केच हातमा लिएर भनेका छन्, ‘यो पात्रको वास्तविक स्रोत लस एन्जलस टाइम्समा छापिएको कोरिआन्का किलचर नामकी एक युवा अभिनेत्रीको फोटो थियो। वास्तवमा यो उनको अनुहारको तल्लो भाग हो, उनको अनुहार निकै आकर्षक थियो।’
कोरिआन्काले आफ्नो अनुहारको पहिचान प्रयोग गरेबापतको रोयल्टी, क्षतिपूर्ति, नाफाको हिस्सा र सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राख्दै मुद्दा दायर गरेकी हुन्। पहिलो अवतारले विश्वभर २.९२ अर्ब डलर कमाएको थियो भने यसका बाँकी दुई सिक्वेलले पनि १.५ अर्ब डलरभन्दा बढीको कमाइ गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा ‘एक हजार’का योजनाको बाढी, कार्यविधि र सुशासनको धज्जी !
-
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
-
ट्रम्पको धम्कीपछि पनि सम्हालिँदै अमेरिका-इरान वार्ता
-
पाँचथरको गुराँसेमा आकर्षक माङहिम निर्माण अन्तिम चरणमा
-
मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा भारी गिरावट
-
विधान संशोधन गरेर रास्वपालाई थप समावेशी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण