सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
विचार

सोह्र–छत्तिस कुलो : स्थानीय अभ्यासबाट विश्व सिद्धान्तसम्म

बिहीबार, २४ वैशाख २०८३, १२ : २६
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • अस्ट्रेलिया भ्रमणका क्रममा तास्मानियाको रिचमण्ड ब्रिजको अनुभवले औपनिवेशिक इतिहास र पर्यटनको संगमलाई दर्शाएको छ ।
  • बुटवलको सोह्र–छत्तिस कुलो साझा स्रोत व्यवस्थापनको विश्वस्तरीय अभ्यास हो, जसलाई स्थानीय किसानहरूले व्यवहारमा उतारेका थिए ।
  • सामुदायिक सहभागिता, स्वशासन र नियमनद्वारा साझा स्रोतको दिगोपन सम्भव छ भन्ने कुलोको अभ्यासले सिकाउँछ ।

अस्ट्रेलिया भ्रमणका क्रममा तास्मानियामा करिब दुई महिना बस्दा त्यहाँका धेरै ऐतिहासिक र सांस्कृतिक स्थलहरू हेर्ने अवसर मिल्यो । तीमध्ये ‘रिचमण्ड ब्रिज’ को अनुभव मेरा लागि विशेष रह्यो । यो केवल एउटा पुरानो पुल मात्र होइन, इतिहास र पर्यटनको मिलन बिन्दु रहेछ भन्ने अनुभूति त्यहीँ पुगेर भयो ।

तास्मानियाको रिचमण्ड बस्ती आफैँमा औपनिवेशिक इतिहासलाई जोगाएर राखिएको खुला संग्रहालय जस्तो लाग्छ । त्यहाँको सबैभन्दा प्रमुख आकर्षण यही पुल हो, जसलाई अष्ट्रेलियाको सबैभन्दा पुरानो जीवित फ्रिस्टोन (बलुवा ढुंगा) पुलमध्ये एक मानिन्छ ।

यो पुल सन् १८२३ तिर निर्माण सुरु भई सन् १८२५ तिर सम्पन्न भएको रहेछ । निर्माण प्रविधिमा इँटाको संरचना, ढुंगाका जोडाइ र पानी निकासका साना विवरणहरूले त्यस समयको इन्जिनियरिङ सोचलाई अझ जीवन्त बनाइरहेका छन् ।

रिचमण्ड बस्ती समयसँगै कृषिमा आधारित सानो बस्तीबाट सांस्कृतिक र पर्यटन केन्द्रमा रूपान्तरण भएको रहेछ । सन् १९७० पछि यहाँ सम्पदा संरक्षणमा विशेष ध्यान दिइएछ र पुराना भवनहरूलाई ‘कटेज शैली’ मा पुनः प्रयोग गर्न थालिएको देखिन्छ । यसै कारणले सन् २००५ मा यस क्षेत्रलाई राष्ट्रिय सम्पदा सूचीमा समावेश गरिएको रहेछ ।

आज यही रिचमण्ड ब्रिज तास्मानियाको सबैभन्दा धेरै फोटो खिचिने स्थानहरूमध्ये एक मानिने रहेछ । आज रिचमण्ड ब्रिज केवल ऐतिहासिक संरचना होइन, पर्यटनको प्रमुख आकर्षण पनि बनेको छ । स्थानीयहरूको भनाइअनुसार यहाँ पुगेर यो पुल नहेरी फर्कनु भनेको रिचमण्ड नै नहेरे जस्तो हुन्छ ।

मेरा लागि भने यो ब्रिज प्रारम्भिक इन्जिनियरिङको औपनिवेशिक इतिहास बोकेको सांस्कृतिक रूपान्तरणलाई एकैसाथ प्रतिनिधित्व गर्ने जीवित पाठशाला जस्तो बन्यो ।

बुटवलको सोह्र–छत्तिस कुलो १८औँ–१९औँ शताब्दीमा विकास भएको साझा स्रोत व्यवस्थापनको सुन्दर इतिहास हो । एक सय वर्षपछि कुनै पनि संरचना पुरातात्त्विक महत्वका हुन सक्ने प्रावधान भएकाले यो कुलोले पनि तदनुसारको हैसियत प्राप्त गर्न सक्ने अवस्था छ ।  यस अर्थमा अब यो कुलोलाई देखाएर बुटवलले पर्यटक भित्राउन सक्ने देखिन्छ । तर, हामीले यसप्रति चरम बेवास्ता गरेका छौँ । 

बुटवलको सोह्र–छत्तिस कुलो १८औँ–१९औँ शताब्दीमा विकास भएको साझा स्रोत व्यवस्थापनको सुन्दर इतिहास हो । एक सय वर्षपछि कुनै पनि संरचना पुरातात्त्विक महत्वका हुन सक्ने प्रावधान भएकाले यो कुलोले पनि तदनुसारको हैसियत प्राप्त गर्न सक्ने अवस्था छ । 

विश्वमा पश्चिमी विद्वानहरूले साझा स्रोत व्यवस्थापनको सिद्धान्त यही कुलोका आधारमा तयार गरेका हुन् । यसले देखाएको व्यवस्थापनलाई अध्ययन गरेपछि विश्वले यो व्यवस्थापन प्रणालीलाई मान्यता दियो । जबकि यस क्षेत्रका किसानहरूले यो सिद्धान्त पढेर होइन, व्यवहारमा उतारेर स्थापित गरेका थिए ।

यस अर्थमा यो कुलोलाई संरक्षण तथा ‘ब्रान्डी’ गर्दा विदेशी अध्येताहरू सशुल्क यहाँ आएर महिनौँ बस्न सक्नेछन् । विडम्बना यसप्रति स्थानीय सरकारले जुन तहबाट ध्यान दिनु पर्ने हो, तदनुसारको ध्यान पुग्न सकेको छैन ।

यसको ऐतिहासिक पक्षलाई केलाउँदा स्थानीय किसानहरूले प्राकृतिक मुहानहरूबाट पानीको व्यवस्थापन गर्दै जाँदा क्रमिक रूपमा कुलो विस्तार भयो । र, यस प्रणालीले कृषि उत्पादन वृद्धि मात्र होइन, सामाजिक सङ्गठन र सहकार्यलाई पनि मजबुत बनाएको उदाहरणका रूपमा लिइन्छ ।

बुटवल आसपासका खेतहरू सिँचाइ गर्ने यो सोह्र छत्तिस कुलो सामान्य सिँचाइ गर्ने नहर मात्र होइन, समुदाय, अनुशासन र सहकार्यको नमुना पनि हो । यो कुलोले हामीलाई स्रोत साझा हुँदा व्यवस्थापन पनि साझा हुनुपर्छ भन्ने एउटा पाठ सिकाइरहेको छ । 

नेपालले साझा स्रोत व्यवस्थापनको नमुना ५० को दशकदेखि सामुदायिक बनको अवधारणा स्थापित गरेर पनि विश्वलाई नयाँ पाठ सिकायो, त्यसलाई पनि हामीले बिर्सँदै गइरहेका छौँ । 

वास्तवमा यी दुवै श्रोत व्यवस्थापनका लागि नेपालका मौलिक सिद्धान्त हुन् । जसलाई आधार मानेर संसारलाई अध्ययनका लागि नेपालमा आकर्षित गर्न सकिन्छ । तर यस्ता विषयप्रति हाम्रा जनप्रतिनिधि र नीति निर्माताहरू बेखवर छन् । र, उनीहरूलाई यस्ता विषयमा सुन्ने धैर्यता पनि छैन ।

सन्दर्भ बुटवल क्षेत्रको यो परम्परागत प्रणालीको अतिक्रमणमा देखिएको मौनता हो । यो कुलो प्रणाली बारम्बार अतिक्रमणको चपेटामा परेको छ । जबकि यसले राज्य वा निजीकरणबिना पनि स्थानीय समुदायले पानी जस्तो संवेदनशील स्रोतलाई न्यायोचित रूपमा वितरण गर्न सक्छ भन्ने मान्यता स्थापित गरेको छ । सरल र प्रभावकारी यो अभ्यासले किसानहरूबिच विश्वास जगाएको छ । 

नियम तोड्नेलाई दण्ड, काम नगर्नेलाई सामाजिक दबाब जस्ता कारबाहीका प्रकरण औपचारिक कानुनभन्दा प्रभावकारी भएका थिए र छन् । नेपालका सिँचाइ र सामुदायिक वन संरक्षणका यस्तै विषयमा आधारित भई साझा स्रोत व्यवस्थापनको सिद्धान्त प्रस्तुत गर्ने विश्व प्रसिद्ध अर्थशास्त्री एलिनोर ओस्ट्रोमले सन् १९९० मा नोबेल पुरस्कार पाएकी थिइन् ।

उनले आफ्नो अनुसन्धानको निष्कर्षमा भनेकी थिइन्– समुदाय आफैले नियम बनाएर दिगो रूपमा स्रोत चलाउन सक्छ । उनले यस्तै प्रणालीको अध्ययन गरी ८ वटा सिद्धान्त स्थापित गरेकी थिइन् । आखिर के थिए त ती सिद्धान्त आउनु त्यसबारे जानौँ ।

पहिलो, स्पष्ट सीमांकनः यस अन्तर्गत श्रोतको सिमाङ्कन थियो । जस्तै: पानी, वन र प्रयोगकर्ताको सीमा । जस अन्तर्गत कसले प्रयोग गर्न पाउने, कसले नपाउने भनेर पहिचान स्पष्ट हुनुपर्छ ।

दोस्रो, स्थानीय अवस्थाअनुसार नियम: स्रोतको प्रयोगका नियमहरू स्थानीय आवश्यकता र अवस्थाअनुसार हुनुपर्छ । जस्तै पानीको बाँडफाँट, समय र श्रम सबै स्थानीय सन्दर्भमा आधारित हुनुपर्छ ।

तेस्रो, सामूहिक निर्णय प्रक्रिया: नियम बनाउने प्रक्रियामा उपभोगकर्ताहरूको सहभागिता अनिवार्य छ । ता कि ‘हामीले बनाएको नियम’ भनेर अपनत्वको भावना जगाउन सकियोस् ।

चौथो, निगरानी: स्रोतको प्रयोग र नियम पालना भइरहेको छ कि छैन भन्ने निगरानी हुनुपर्छ । र, निगरानी गर्ने व्यक्ति समुदायप्रति उत्तरदायी हुनुपर्छ । 

पाँचौँ, क्रमिक दण्ड व्यवस्था: नियम उल्लङ्घन गर्नेलाई दिइने दण्ड क्रमशः बढाउँदै जानु पर्छ । जस्तो कि सुरुमा चेतावनी, त्यसपछि पछि जरिवाना र अन्तमा कडा कारबाही ।

छैटौँ, विवाद समाधान संयन्त्र: छिटो, सस्तो र सजिलो तरिकाले स्थानीय तहमै विवाद समाधान गर्ने व्यवस्था मिलाउनु पर्छ ।

सातौँ, स्वशासनको मान्यता: समुदायको नियम बनाउने अधिकारलाई बाह्य निकाय (सरकारका अङ्ग आदि) ले मान्यता दिनुपर्छ । ता कि कुनै प्रकारको असजिलो नआओस् । अथवा समुदाय स्वतन्त्र रूपमा सञ्चालन हुन पाउने व्यवस्था हुनुपर्छ ।

आठौँ, बहुस्तरीय संरचनाः ठुला प्रणालीहरूमा साना–साना तहहरू मिलेर (स्थानीय, क्षेत्रीय, राष्ट्रिय स्तरमा समन्वय) काम गर्ने संरचना बनाइनु पर्छ । 

यसरी हेर्दा ओस्ट्रोमको मुख्य सन्देश थियो– ‘साझा स्रोतलाई टिकाउ बनाउन समुदायलाई अधिकार, जिम्मेवारी र नियम आवश्यक हुन्छ ।’

यस अर्थमा सोह्र–छत्तिस कुलो केवल स्थानीय सिँचाइ प्रणाली होइन, विश्वस्तरीय साझा स्रोत व्यवस्थापनको व्यवहारिक उदाहरण हो । यसले देखाउँछ कि स्थानीय समुदायको सहभागिता र स्वशासनले दिगो विकास सम्भव छ ।

सोह्र–छत्तिस कुलो विश्वस्तरको उदाहरण हुनुमा निम्न कारण प्रमुख छन् । पहिलो, राज्यको प्रत्यक्ष नियन्त्रण बिना सञ्चालन । दोस्रो, पानी बाँडफाँट, पालो प्रणाली र दण्ड व्यवस्था । तेस्रो, मर्मत तथा संरक्षणको काम सामूहिक रूपमा नै हुन्थ्यो । चौथो, यो पुस्तौँदेखि निरन्तर सञ्चालनमा छ ।

सोह्र–छत्तिस कुलो विश्वस्तरको उदाहरण हुनुमा निम्न कारण प्रमुख छन् । पहिलो, राज्यको प्रत्यक्ष नियन्त्रण बिना सञ्चालन । दोस्रो, पानी बाँडफाँट, पालो प्रणाली र दण्ड व्यवस्था । तेस्रो, मर्मत तथा संरक्षणको काम सामूहिक रूपमा नै हुन्थ्यो । चौथो, यो पुस्तौँदेखि निरन्तर सञ्चालनमा छ ।

यी सबै विशेषता ओस्ट्रोमले भनेका आठ वटा सिद्धान्तसँग मेल खान्छन् । यस अर्थमा सोह्र–छत्तिस कुलो वैश्विक स्तरमा मान्यता प्राप्त साझा स्रोत व्यवस्थापनको जीवन्त उदाहरण हो । 

एलिनोर ओस्ट्रोमको सिद्धान्तले अनुसन्धानबाट वैज्ञानिक रूपमा प्रमाणित गरेको विषय अर्थात् पश्चिमी विश्वले बनाएको सिद्धान्तलाई अभ्यासका रूपमा बुटवल क्षेत्रका किसानहरूले दशकौँदेखि व्यवहारमा उतारिरहेको उदाहरण यो सोह्र–छत्तिस कुलो हो ।

यो कुरा अर्कै हो कि आज यसमाथि अनेक चुनौतीहरू छन् । सहरीकरणले खेत घटाउँदै लगेको छ, युवाहरू वैदेशिक रोजगारीतर्फ गइरहेका छन् र सामूहिक श्रमदानको संस्कार कमजोर हुँदै छ । शायद यस कारणले कुलोको भाग पनि साँघुरिँदै गएको छ । 

यदि यही प्रवृत्ति जारी रह्यो भने कुलोको भौतिक संरचना मात्र होइन, त्यससँग जोडिएको सामुदायिक आत्मा पनि हराउने छ । यो कुलोमा रहेर नेपालका सिँचाइ प्रणालीमा आधारित धेरै अनुसन्धानहरू अन्तर्राष्ट्रियस्तरमा समेत भएका छन् । जसमध्ये सन् १९९४ मा अमेरिकी अनुसन्धानकर्ता/मानवशास्त्री रोबर्ट योडरले नेपालका किसानद्वारा सञ्चालित सिँचाइ प्रणालीहरूको अध्ययन गरी दस्तावेजीकरण गरेका थिए । 

नेपाललाई सामुदायिक सिँचाइ मोडलका रूपमा विश्वमा चिनाउन सहयोग पुर्‍याउने योडर नेपालका परम्परागत सिँचाइ प्रणालीलाई विश्वसामु चिनाउने र समुदायले नै स्रोत व्यवस्थापन गर्न सक्छ भन्ने विचारलाई बलियो बनाउने एक महत्त्वपूर्ण अनुसन्धानकर्ता हुन् । 

उनको दृष्टिमा सिँचाइलाई केवल प्राविधिक नभई सामाजिक संस्थाका रूपमा बुझाउन आवश्यक छ । उनी विशेषगरी नेपालका किसानहरूले आफैँ सञ्चालन गरेका सिँचाइ प्रणालीहरूको अध्ययनमार्फत चर्चित भएका हुन् ।

त्यस्तै श्रीलङ्कामा मुख्यालय रहेको पानी, कृषि र समाजबिचको सम्बन्धलाई वैज्ञानिक रूपमा बुझाउने र दिगो विकासका लागि विश्वलाई मार्गदर्शन गर्ने एक महत्त्वपूर्ण संस्था अन्तर्राष्ट्रिय जल व्यवस्थापन अनुसन्धान संस्था (आईडब्ल्युआईएम) ले जलस्रोत, सिँचाइ, दिगोपन र कृषि प्रणालीमा अनुसन्धान गरेको छ ।

यसले सामाजिक, आर्थिक, वातावरणीय तीनै पक्षलाई जोडेर पानीको व्यवस्थापन बुझ्ने, विश्वभर जल नीति निर्माणमा प्रभाव पार्ने र सरकार र अन्तर्राष्ट्रिय निकायलाई सल्लाह दिनुका साथै अनुसन्धानलाई व्यवहारमा लागू गर्ने पुलको काम गर्छ । यस अर्थमा माथि उल्लेखित व्यक्ति र संस्थाको अध्ययनले दीर्घकालीन प्रभाव पार्ने निश्चित छ ।

यसैले यो कुलोले हामीलाई सिकाउने कुरा के हो भने साझा स्रोतको दिगोपन सरकारको आदेशले होइन, समुदायको जिम्मेवारीले सम्भव हुन्छ । यो आज संसारका लागि अनुसन्धानको विषय बनिरहेकाले यसको संरक्षण हुँदा श्रोत व्यवस्थापनको क्षेत्रमा काम गर्ने अध्येता, विद्यार्थी सवैका लागि पर्यटनको केन्द्र बन्न सक्ने अवस्था छ । 

(लेखक घिमिरे बुटवलमा सक्रिय वरिष्ठ पत्रकार हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डी.आर. घिमिरे
डी.आर. घिमिरे
लेखकबाट थप