शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रिपोर्ट

अनधिकृत बस्ती हटाउने क्रममा विद्यालय भवन ध्वस्त, २७५ बालबालिकाको भविष्यमा प्रश्न (भिडियो)

बिहीबार, २४ वैशाख २०८३

काठमाडौँ । सरकारले मनोहरा खोला किनारमा रहेका अनधिकृत बस्तीहरू हटाउने क्रममा वैशाख दोस्रो साता मध्यपुर थिमि नगरपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयमा पनि डोजर चल्यो । २०६२ सालमा स्थापना भएको यस विद्यालयले  २०६५ साल असारमा सरकारी अनुमति पाएको थियो ।

२०६५ सालको माघमा प्रधानाध्यापकका रूपमा आएकी थिइन् इन्दिरा महत । कक्षा १ सम्म पढाउने अनुमति पाए पनि सरस्वती आधारभूत विद्यालयमा उनी आउँदा कक्षा ४ सम्म अध्यापन हुन्थ्यो । सुरुवातमा यहाँ ३०/४० जना विद्यार्थी थिए ।

प्रधानाध्यापक महतका अनुसार, सुरुमा पाँच वटा कोठासहितको एउटा भवन गैरसरकारी संस्थाको सहयोगमा निर्माण भएको थियो । एक वर्षभित्रै अर्को तीन कोठाको एकतले आरसीसी भवन बन्यो, जसले विद्यार्थी संख्या वृद्धिसँगै कक्षा व्यवस्थापनमा सहयोग पुग्यो ।

विद्यालयमा सुन्दर बगैंचा, स्टेज लगायतका संरचना निर्माण गरी शैक्षिक वातावरणलाई आकर्षक बनाइएको थियो । २०७१ सालमा विद्यालयले कक्षा ८ सम्मको अनुमति पाएको थियो । पठनपाठन सञ्चालन भइरहेको यस विद्यालयको संरचना ध्वस्त भएपछि यहाँ अध्ययनरत २७५ जना बालबालिकाको पढाइ प्रभावित बनेको छ ।

school-dozer (1)

विद्यालयकी प्रधानाध्यापक महतले यस घटनाले आफू र समस्त विद्यालयलाई गहिरो चोट पुर्‍याएको बताइन् ।विद्यालय भत्किनेबारे आफूहरूलाई दुई दिन अघिमात्र माइकिङमार्फत जानकारी भएको उनको भनाइ छ ।

सरकारी संरचना भएकाले नभत्किने विश्वासमा विद्यालय प्रशासन र स्थानीयले सामान सार्न पहल गरेनन् । शहरी विकास मन्त्रालयमा बुझ्दा पनि सरकारी संरचना नभत्किने जानकारी पाएपछि उनी थप ढुक्क थिइन् ।

वैशाख ११ गते शुक्रबार बस्ती भत्काउन डोजर आएको हल्ला चलेपछि विद्यालयका शिक्षक र कर्मचारीहरू सामान सार्नका लागि पुगेका थिए । स्थानीय बासिन्दाले बस्ती नभत्किने बताएपछि आफूलाई विश्वास लागेको प्रधानाध्यापक महतले बताइन् ।

सोही दिन आफूले प्रहरी प्रमुख लगायत विभिन्न निकायसँग सम्पर्क गर्दा पनि विद्यालयको भविष्यबारे स्पष्ट जानकारी नपाएको उनको दुखेसो छ । १२ गते शनिबार साँझ बस्तीभित्र छिरेका डोजरहरूले वरपरका केही घर भत्काए पनि विद्यालयको भवनमा क्षति पुर्‍याएका थिएनन् । त्यसपछि आफूले केही राहत महसुस गरेको उनले सुनाइन् ।

सोही दिन आफूले प्रहरी प्रमुख लगायत विभिन्न निकायसँग सम्पर्क गर्दा पनि विद्यालयको भविष्यबारे स्पष्ट जानकारी नपाएको उनको दुखेसो छ । १२ गते शनिबार साँझ बस्तीभित्र छिरेका डोजरहरूले वरपरका केही घर भत्काए पनि विद्यालयको भवनमा क्षति पुर्‍याएका थिएनन् । त्यसपछि आफूले केही राहत महसुस गरेको उनले सुनाइन् ।

तर, यो राहत क्षणिकमात्र रह्यो । १४ गते सोमबार बिहानै प्रधानाध्यापक महतलाई प्रहरी प्रमुखबाट फोन आयो– छिटो स्कुल आएर सामान सार्ने व्यवस्था मिलाउनुहोस् । महतका अनुसार केही शिक्षक साथीहरूलाई लिएर हतारहतार विद्यालय पुग्दा डोजरले विद्यालय भत्काउन सुरु गरिसकेको थियो । पानी परिरहेको अवस्थामा प्रहरीको घेराभित्र डोजरले संरचना भत्काउँदै गर्दा सामान सार्न अत्यन्तै कठिन भएको उनले सुनाइन् ।

school-dozer (2)

‘हतारहतारमा केही डेक्स, बेन्च र नयाँ शैक्षिक सत्रका लागि ल्याइएका पाठ्यपुस्तकहरू मात्र बचाउन सकियो, तर विद्यालयको पुस्तकालयका अमूल्य किताबहरू, महत्त्वपूर्ण कागजातहरू र अन्य फर्निचर पानीमा भिजेर नष्ट भए,’ प्रधानाध्यापक महतले भनिन् ।

विद्यालय भत्किए लगत्तै प्रधानाध्यापक महतले शिक्षा शाखा र वडा कार्यालयसँग समन्वय गरी बालबालिकाको पठनपाठन व्यवस्थापनका लागि पहल गरिन् । मध्यपुर थिमि नगरपालिका–१ को सामुदायिक भवनमा अस्थायी रूपमा कक्षा सञ्चालन गर्ने निर्णय भयो ।

महतका अनुसार पहिला त बालबालिका कहाँ छन्, कसरी सम्पर्क गर्ने भन्ने नै समस्या थियो । अहिले करिब २०० जना विद्यार्थीले सामुदायिक भवनमा पढ्न सुरु गरिसकेका छन् र बाँकी विद्यार्थी पनि आउने क्रम जारी रहेको उनले बताइन् । सामुदायिक भवनमा कक्षा सञ्चालन भए पनि अवस्था अझै सामान्य छैन ।

विद्यार्थीहरू पुरानो स्कुलको ठुला कोठा र खेल्ने ठाउँ सम्झँदै भावुक हुन्छन् । कक्षा ३ मा पढ्ने विद्यार्थी भावना मगरले भनिन्, ‘हामीलाई हाम्रो पुरानो स्कुलको धेरै याद आउँछ । त्यहाँ खाजा खान पाइन्थ्यो, खेल्न पाइन्थ्यो, सफा शौचालय थिए ।’

विद्यार्थीहरू पुरानो स्कुलको ठुला कोठा र खेल्ने ठाउँ सम्झँदै भावुक हुन्छन् । कक्षा ३ मा पढ्ने विद्यार्थी भावना मगरले भनिन्, ‘हामीलाई हाम्रो पुरानो स्कुलको धेरै याद आउँछ । त्यहाँ खाजा खान पाइन्थ्यो, खेल्न पाइन्थ्यो, सफा शौचालय थिए ।’

डोजरले स्कुल भत्काएको देख्दा धेरै नराम्रो लागेको उनले बताइन् । कक्षा २ का विद्यार्थी सैफुद्दिन मियाँको पीडा अझै फरक छ । घर भत्किएपछि उनका एक जना साथी भारत गएका छन् ।

सैफुद्दिनले भने, ‘मेरो एक जना साथी थियो । उसको घर भत्काए, अनि ऊ भारत गयो । अब मसँग खेल्ने साथी पनि छैन । मलाई ठुलो स्कुल चाहिएको छ, जहाँ मेरा साथीहरू सबै सँगै आउन सक्छन् ।’

school-dozer (3)

उनले आफ्नो स्कुल धेरै राम्रो रहेको र त्यहाँ ठुला–ठुला कोठामा खेल्न र पढ्न पाइने गरेको सम्झिए । अन्य विद्यार्थीहरूले पनि सामुदायिक भवनमा खेल्न र पढ्न गाह्रो भएको गुनासो गरे । ‘सानो कोठामा खेल्न पाइँदैन, हामीलाई ठुलो, राम्रो स्कुल चाहिएको छ,’ उनीहरूको भनाइ थियो ।

रेम्बो भोलेन्टियर क्लबका स्वयंसेवक आसुतोष प्याकुरेलले आफ्नो संस्थाले विद्यार्थीहरूलाई खाजाको व्यवस्था गरिरहेको जानकारी दिए । उनका अनुसार यस क्षेत्रका धेरै बालबालिका उनको ट्युसन सेन्टरमा पनि पढ्ने गर्दथे । त्यसैले पनि आफूले ती बच्चाहरूलाई सहयोग गरिरहेको उनको भनाइ छ ।

यता नयाँ भर्ना पनि सुरु भएको छ । प्रमिला तामाङले आफ्नो छोरालाई कक्षा ५ मा भर्ना गर्न गाउँबाट ल्याएकी छन्, तर भत्किएको विद्यालयको अवस्था देखेर अन्योलमा परेको उनको भनाइ छ ।

यता नयाँ भर्ना पनि सुरु भएको छ । प्रमिला तामाङले आफ्नो छोरालाई कक्षा ५ मा भर्ना गर्न गाउँबाट ल्याएकी छन्, तर भत्किएको विद्यालयको अवस्था देखेर अन्योलमा परेको उनको भनाइ छ । उनले भनिन्, ‘गाउँमा राम्रो पढाइ छैन भनेर यहाँ आएकी थिएँ, तर अब के हुने हो १ हेरौँ, भर्ना गरिदिएको छु ।’

school-dozer (4)

प्रधानाध्यापक महतले सरकारी संरचना भत्काउनु राज्यको आवश्यकता भए पनि अलिकति समय दिएर सामान व्यवस्थापन गर्न पाएको भए राज्यकै सम्पत्ति जोगिन्थ्यो भन्ने तर्क गरिन् । अहिले नगरपालिकाले विद्यार्थीको संख्या हेरेर विद्यालयलाई अन्यत्र मर्ज गर्ने कुरा गरेको थियो, तर त्यसो गर्नुभन्दा यसैको व्यवस्थापन गर्नपर्नेमा आफूहरू रहेको उनले बताइन् ।

‘वडा नम्बर १ मा श्री सरस्वती आधारभूत विद्यालय नै एकमात्र सामुदायिक विद्यालय भएकाले पनि यसको महत्त्व अझै बढी छ,’ प्रधानाध्यापक महतले भनिन्, ‘शिक्षा मन्त्रालय र केन्द्र सरकारलाई विद्यालयको स्थायी व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गर्दछु ।’

यस घटनाले शिक्षामा पहुँचको अधिकार र मानवीय संवेदनाको प्रश्न उठाएको छ । सरकारले बालबालिकाको उज्ज्वल भविष्यका लागि यथाशीघ्र दीर्घकालीन समाधान खोज्नुपर्नेमा प्रधानाध्यापक, अभिभावक र स्वयंसेवकहरूको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया