मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति पौडेल

बिहीबार, २४ वैशाख २०८३, १६ : ०५
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
  • उनले संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको र पत्रकारलाई निर्भय तथा स्वतन्त्र वातावरणमा समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए ।
  • राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । 

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा बिहीबार आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए। 

जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै विभिन्न समयमा भएका जनआन्दोलनहरू तथा सङ्घर्षहरूमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढङ्गले काम गर्ने  विश्वास व्यक्त गरेका छन्  

नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गरे । 

उनले भने, ‘हाम्रो संविधानले  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो । संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । त्यसैगरी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो । यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेनैछ भन्ने मैले विश्वास लिएको छु ।’

उनले पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त हो भने स्वतन्त्र र निष्पक्ष पत्रकारिताविना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पारे । 

उनले श्रमजीवी पत्रकारहरूको हकहित र सञ्चार गृहहरूको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्न जरुरी रहेको पनि बताए। उनले सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चार माध्यमसामु थपिएको चुनौती रहेको भन्दै चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुनेमा आफू विश्वस्त रहेको बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप