यो वर्षको मनसुनमा खडेरीको संकेत : देशभर पानी कम पर्ने, गर्मी सरदरभन्दा बढी हुने
सारांश
- जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम सरदरभन्दा बढी हुने आँकलन गरेको छ।
- कर्णाली, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
- देशभर अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरेको छ। विभागको जलवायु विज्ञान महाशाखाले जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुको जलवायु आँकलन सार्वजनिक गर्दै पानी कम पर्ने र अधिकतम तथा न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने अर्थात् गर्मी बढ्ने पूर्वानुमान गरेको हो।
वर्षाको आँकलनअनुसार कर्णाली प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग, मधेस प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। सुदूरपश्चिम प्रदेशको अधिकांश भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग र कोशी प्रदेशको मध्य भूभागमा पनि ४५ देखि ५५ प्रतिशत सरदरभन्दा कम पानी पर्ने सम्भावना छ।
कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने ३५ देखि ४५ प्रतिशत सरदर वर्षा हुने सम्भावना छ भने देशका बाँकी भूभागमा ३५ देखि ४५ प्रतिशत सरदरभन्दा कम वर्षा हुने विभागले जनाएको छ।
अधिकतम तापक्रमको हकमा देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागको भनाइ छ। सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भूभाग, कर्णालीको उत्तरी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तर(पूर्वी तथा दक्षिणी भूभाग, बागमतीको पश्चिमी भूभाग, मधेसको पूर्वी तथा पश्चिमी भूभाग र कोशीको पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। कोशीको मध्य र सुदूरपश्चिमको पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने बाँकी भूभागमा ४५ देखि ५५ प्रतिशत सरदरभन्दा बढी हुने सम्भावना छ।
त्यसैगरी, न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी नै हुने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका उत्तरी भूभागहरू, मधेसको पूर्वी भूभाग र कोशीको दक्षिणी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभागहरू, मधेसको मध्य भूभाग र कोशीको मध्य तथा उत्तरी भूभागमा ३५ देखि ४५ प्रतिशत सरदरभन्दा बढी न्यूनतम तापक्रम रहनेछ। देशका बाँकी भूभागमा भने यो सम्भावना ४५ देखि ५५ प्रतिशत छ।
विभागले यो आँकलन विश्व मौसम सङ्गठनका विश्वभर तथा क्षेत्रीय स्तरका जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूप र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरम (सास्कोफ) को आँकलनका आधारमा तयार पारेको हो। नेपालको मनसुनमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो एन्ड साउदर्न असिलेसन (इन्सो) र हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डाइपोल (आइओडी) को अवस्थालाई पनि आधार मानिएको छ। युरोप तथा एसियामा गत हिउँद तथा प्रि-मनसुनमा परेको हिउँ र अन्तरऋतु परिवर्तनशीलतालाई समेत ध्यानमा राखिएको छ।
हाल प्रशान्त महासागरमा इन्सो तटस्थ अवस्थामा रहेर एल निनो अवस्थातर्फ उन्मुख रहेको र हिन्द महासागरमा विकसित हुने आइओडी हाल तटस्थ अवस्थामा रहे पनि आगामी मनसुन ऋतुको अन्त्यसम्ममा धनात्मक अवस्थामा पुग्ने विश्वव्यापी प्रारूपहरूको आँकलन छ। पूर्वानुमानको सीमितताबारे विभागले भनेको छ, ‘यद्यपि ऋतुगत जलवायु विभिन्न सामुन्द्रिक तथा वायुमण्डलीय प्रणालीहरू, भू–उपयोग जस्ता कुराहरूमा निर्भर हुने र जलवायु प्रारूपहरूलाई यस्ता प्रणाली ऋतु परिवर्तन हुने समयमा शतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने तथ्य मनन गर्नुपर्ने हुन्छ।’
गत वर्ष २०८२ को मनसुनको पूर्वानुमानको समीक्षा गर्दै विभागले वर्षाको आँकलन पूर्ण रूपमा नमिल्दा तापक्रमको आँकलन भने मिलेको जनाएको छ। गत वर्ष अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिए पनि धेरैजसो केन्द्रमा सरदरभन्दा कमदेखि सरदर वर्षा मात्र मापन भएको थियो।
तर, तापक्रमको हकमा भने सरदरभन्दा बढी हुने पूर्वानुमान गरिएअनुसार नै अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी नै मापन भएको विभागले उल्लेख गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण