शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हलो जोतेर उमेर बित्यो

शनिबार, २६ वैशाख २०८३, ०५ : ३०
शनिबार, २६ वैशाख २०८३

कञ्चनपुर । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीबाट दुई दशकअघि मथुरादेवी सार्कीको परिवार ‘सस्तो बेसा’ (खाद्यान्न) को खोजीमा तराई झर्‍यो । सार्की परिवारको एउटा सुन्दर सपना थियो ।

तराईको समथर फाँटमा आफ्नो एउटा सानो घर हुनेछ र परिवारका सदस्यले पेटभरि खान पाउनेछन् । सत्तरी वर्षको उमेर ढल्किँदै गर्दा मथुरा देवीको त्यो सपना अझै पनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित वनहरा नदीको किनारमा रहेको भूमिहीन शिविरको झुपडीभित्र गुम्सिएर रहेको छ ।

“हलो खलो गर्दै जीवन बित्यो, हुने खाने उमेर छँदा अरूकै हलो जोत्यौँ,” उनी भन्छिन्, “अर्काको घरमै अरूले दिएको भात दाल खान पायौँ, त्यसमै भुल्यौँ, तर आज बुढेसकालमा न बस्ने ठेगान छ, न त हातमा कुनै लालपुर्जा ।”

यो पीडा मथुरा देवीको मात्र होइन । वनहरा नदीको किनारमा रहेको शिविरमा बस्दै आएका भूमिहीन परिवारको साझा व्यथा हो ।

पुर्खादेखि नै अरूको खेतबारीमा पसिना बगाएका यी परिवारका लागि आफ्नै जमिनको एक टुक्रा पनि छैन । न त बाजे–बज्यैको नाममा कुनै सम्पत्ति थियो, न त श्रीमान् वा छोराको नाममा । पुस्तौँदेखि श्रम बेचेर बाँचेका यी परिवार अहिले बुढेसकालमा पनि असुरक्षित झुप्रोमा मजदुरी गरेर दिन काट्न बाध्य छन् ।

शिविरमा बस्ने सबै रहरले त्यहाँ पुगेका भने होइनन् । डडेलधुराको बलौँचाबाट आएका दलबहादुर बोहराको कथा अझैँ मार्मिक छ । पहिरोले आफ्नो भएको घरबास र सानो टुक्रा जमिन सबै बगाएपछि उहाँको परिवार शरणार्थीको रूपमा वनहरा शिविर आइपुगेको हो ।

“पहिरोले सब थोक लग्यो, ज्यान जोगाउन यहाँ आयौँ, “बोहरा भन्छन्, “अहिले यहाँ हामीसँग बस्नका लागि बलियो घर छैन, न त गरिखान जमिन छ, सुरक्षित घर र जग्गा पाइन्छ भनेपछि फाराम भर्यौं, तर अहिलेसम्म सरकारले हाम्रो पुकार सुनेको छैन ।”

शिविरमा डडेलधुरा, बैतडी र अन्य पहाडी भेगबाट विस्थापित भएका धेरै परिवार छन् । उहाँका लागि वर्षायाम आउनु भनेको कालको अर्को नाम जस्तै हो । वनहरा नदीको किनारमै पाल टाँगेको झुपडीमा बसेका यी परिवारलाई कुन बेला बाढीले बगाउने हो भन्ने त्रासले रातभर निद्रा पर्दैन ।

शिविरकी अमृता साउद भन्छिन्, “वर्षातको समय जतिजति नजिक आउँछ, मुटुको धड्कन पनि त्यति नै बढ्छ, वनहरा नदीमा बाढी आए शिविरसम्मै पुग्छ, अनि ज्यान जोगाउन भाग्नुको विकल्प हुँदैन ।” बाढी आएपछि कयौँ पटक जङ्गलमा भागेको कुरा उनी सुनाउँछिन् ।

वनहरा शिविरका युवा घरमा छैनन् । घर खर्च चलाउन र साँझ–बिहानको छाक टार्नका लागि यहाँका प्रायः सबै युवा भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका छन् । स्थानीय राधिका सोंवका अनुसार, “शिविरमा अहिले बुढापाका, महिला र बालबालिका मात्रै छन्, युवा छ महिना भारतमा पसिना बगाउँछन् र केही पैसा लिएर आउँछन्, त्यसैले हाम्रो जीविका चल्छ, सक्नेले यहाँ पनि मजदुरी गर्छन्, नसक्ने शिविरमै कष्टकर जीवन बिताउँछन् ।”

प्लास्टिकको त्रिपाल र बाँसका भाटाले बनेका झुप्रामा बस्नुको पीडा वर्णन गरिसाध्या छैन ।

बहादुर कामी भन्छन्, “झुपडीभित्र गर्मीले बस्न सकिँदैन, बाहिर निस्क्यो भने लामखुट्टेले टोकेर हैरान पार्छ, त्यसैमाथि सर्प, बिच्छी र अन्य विषालु कीराको त्रास उस्तै छ ।”

तुलाराम बोहरा आक्रोश र दुख मिसिएको स्वरमा भन्छन्, “हाम्रो त पुस्ता नै जग्गाविहीन भएर सकिने भयो, सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गरिदिए मात्र पनि हाम्रो ज्यान जोगिन्थ्यो ।”

“कसैले जमिनदार बनाइदिने आस छैन,” उनी भन्छन्, “मात्र यति चाहना छ कि कतै एउटा सानो सुरक्षित टुक्रा जमिन र ओत लाग्ने छानो पाइयोस्, जहाँ ढुक्कसँग सुत्न सकियोस्, देशमा ठुलो परिवर्तन भएको छ, अब त हाम्रा दिन फिर्लान् कि भन्ने आशा छ ।”

नेपालको संविधानले प्रत्येक नागरिकलाई आवासको हक र भूमिहीनलाई जमिनको हक सुनिश्चित गर्ने कुरा उल्लेख गरेको छ । तर वनहरा शिविरका बासिन्दाका लागि संविधानका ती अक्षर अहिले पनि कागजमै सीमित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप