शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
अपडेट

राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री बालेन लगातार अनुपस्थित, कांग्रेस असन्तुष्ट

सोमबार, २८ वैशाख २०८३, १२ : ४४
सोमबार, २८ वैशाख २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाह राज्य व्यवस्था समितिको बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ।
  • कांग्रेसले सुकुमबासीको उठिबास र सुरक्षा प्रशासन जस्ता संवेदनशील विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्न चाहेको थियो।
  • कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा बैठकको औचित्य नभएको टिप्पणी गरेका छन्।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट बनेको छ।

सुकुमबासीको बलपूर्वक उठिबास, सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न संवेदनशील विषयमा गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने कांग्रेसले जनाएको छ । तर, प्रधानमन्त्री बालेन बैठकमा लगातार नआएपछि कांग्रेसले बैठक नै बहिष्कार गरेको छ।

समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव बैठकमा छन् । उनीहरू सोमबार ११ बजे बोलाएको बैठकमा अनुपस्थित रहे । 

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको टिप्पणी गरे।

उनले भने, ‘गृह मन्त्रालयसँग सम्बन्धित सुकुमबासी लगायत विषयमा जवाफ लिनु छ। गृहमन्त्रीको भूमिकामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नै हुनाले प्रधानमन्त्री आएर जवाफ दिनुहुन्छ भने हामी आउँछौँ। प्रधानमन्त्री नआउने हो भने औपचारिक रूपमा भेटिएर छलफल गरेर, परिचय गरेर, चिया खाएर हिँड्ने हिसाबले हाम्रो उपस्थिति रहँदैन भनेको हो। आज पनि यही कुरा दोहोर्‍याएर बैठकमा अनुपस्थित भयौँ।’

आङ्देम्बेले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री उपस्थित हुने भए बैठकको जानकारी दिन भनिएको पनि बताए । 

उनका अनुसार सभापति ढकाललाई प्रधानमन्त्री बालेनलाई समितिमा उपस्थित गराउन पटक–पटक आग्रह गरिएको भए पनि स्मरण गरे ।  ‘प्रधानमन्त्री बिना अहिले समिति बैठक बस्नु औचित्यपूर्ण अर्थ छैन, हामीले उहाँसँग जवाफ माग्नु छ,’ आङ्देम्बेले स्पष्ट पारे।

प्रधानमन्त्रीको अनुपस्थितिका कारण समिति बैठक दोस्रो पटक प्रभावित भएको छ । यसले संसदीय समितिमा पनि सरकार–प्रतिपक्ष सम्बन्ध थप तनावपूर्ण बनेको देखिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप