सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै

सोमबार, २८ वैशाख २०८३, १३ : ३०
सोमबार, २८ वैशाख २०८३

सारांश

  • नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा उत्कृष्ट नर्सिङ कर्मचारीलाई डेजी अवार्ड प्रदान गर्ने भएको छ ।
  • बिरामी, आफन्त, सहकर्मी र चिकित्सकले मनोनयन गरेका उत्कृष्ट ४ जना नर्सिङ कर्मचारीलाई यो अवार्ड दिइनेछ ।
  • नर्भिकले १० वर्षभन्दा बढी समयदेखि कार्यरत २१ जना नर्सिङ कर्मचारीलाई पनि सम्मान गर्ने भएको छ ।

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा उत्कृष्ट नर्सिङ कर्मचारीलाई  ‘डेजी अवार्ड‘ प्रदान गर्ने भएको छ ।

नर्भिक अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सम्झौता र सहकार्यमा अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा डेजी अवार्ड प्रदान गर्न लागेको हो ।

अस्पतालले उत्कृष्ट नर्सहरुको छनोटका लागि केही समयअघि मनोनयनको प्रक्रिया खुला गरेको थियो । जसमा बिरामी तथा बिरामीका आफन्त, सहकर्मी नर्स, चिकित्सक र अन्य कर्मचारीहरुले आफूलाई उत्कृष्ट लागेका नर्सलाई मनोनयन गर्ने व्यवस्था गरिएको थियो । 

 मनोनयनमा परेकामध्येबाट उत्कृष्ट ४ जना नर्सिङ कर्मचारीलाई डेजी अवार्डमार्फत् सम्मान गर्न लागिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत ( सीईओ) अजयकुमार मिश्रले जानकारी दिए । 

  ‘नर्सिङ पेसामा आबद्ध हुनुभएका हाम्रा कर्मचारीको मनोबल उकास्ने उद्देश्यले हामीले यो वर्षदेखि डेजी अवार्ड कार्यक्रम सुरु गरेका छौं,’ सीईओ मिश्रले भने, ‘यो अवार्डले नर्सिङ कर्मचारीको मनोबलमा अझ टेवा पुग्ने र उहाँहरु सेवाप्रति अझ समर्पित हुने विस्वास  लिएका छौँ।’ उनले नर्सहरुको सम्मानले समग्र अस्पतालको सेवा प्रवाहमा सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । 

नर्सहरुको सेवाभावको कदर र सम्मान गर्ने र उनीहरुको दक्षतालाई अन्तर्र्राष्ट्रिय रुपमा नै पहिचान दिने उद्देश्यले नर्भिक अस्पतालले डेजी फाउन्डेसनसँग सहकार्य गरेको हो । डेजी फाउन्डेसनमा हालसम्म ४६ देशका ७९ सयभन्दा बढी स्वास्थ्य संस्थाहरु आबद्ध छन् । 

नर्भिक अस्पतालले अन्तर्राष्ट्रिय नर्स दिवसकै अवसरमा नर्भिकमा नै १० वर्षभन्दा बढी समयदेखि निरन्तर काम गरिरहेका २१ जना नर्सिङ कर्मचारीलाई पनि सम्मान गर्न लागेको छ । 

नर्सिङ पेसालाई प्राथमिकतामा राखेर उनीहरुको पारिश्रमिक र सेवासुविधा उत्कृष्ट बनाउने अस्पतालको रुपमा नर्भिकले आफ्नो छुट्टै पहिचानसमेत बनाएको सीईओ मिश्रले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप