सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुकुम्बासी बस्तीमा डोजर चलाइएकोमा खुश्बु ओलीको आक्रोश: मृत्युको पनि वर्ग र जात हुँदो रहेछ

सोमबार, २८ वैशाख २०८३, १४ : ४३
सोमबार, २८ वैशाख २०८३

सारांश

  • सांसद खुश्बु ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएको र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना गरेकी छन्।
  • उनले दुई गरिबले टहरा भत्किएपछि आत्मदाह गर्दा समेत सरकारले कुनै संवेदना प्रकट नगरेकोमा आक्रोश व्यक्त गरिन्।
  • उनले नेपालमा मृत्युको पनि वर्ग र जात हुने गरेको टिप्पणी गर्दै गरिबको मृत्युलाई सरकारले बेवास्ता गरेको आरोप लगाइन्।

काठमाडौँ । राप्रपा  सांसद खुश्बु ओलीले सुकुम्बासी बस्तीमा चलाइएको डोजर र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आलोचना गरेकी छन् । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै  सांसद ओलीले काठमाडौँको सुकुम्बासी बस्ती तहसनहस पारिसकेपछि मात्र रास्वपाले डोजर रोक्न सरकारलाई गरेको आग्रहको कुनै अर्थ नरहेको बताइन्। उनले दुई जना गरिबले वर्षौँको दुःखले बनाएको टहरा भत्किएपछि आत्मदाह गर्न विवश हुँदा समेत सरकारले कुनै संवेदना प्रकट नगरेकोमा आक्रोश व्यक्त गरिन्। "उनीहरूको जीवन समाप्त हुँदा समेत सरकारले न त कुनै वक्तव्य निकाल्यो, न त कुनै संवेदना नै प्रकट गर्यो," ओलीले भनिन्, "यसले यो सरकार सामान्य भुईँमान्छेहरूबाट कति टाढा छ भन्ने स्पष्ट पार्छ।"

उनले नेपालमा मृत्युको पनि वर्ग र जात (क्लास एन्ड कास्ट) हुने गरेको टिप्पणी गर्दै गरिबको मृत्युलाई सरकारले बेवास्ता गरेको आरोप लगाइन् । हिजोका दिनमा सत्तापक्षका साथीहरूले 'मानिसको जीवन प्रमुख हो, सिंहदरबार त फेरि पनि बनाउन सकिन्छ' भनेको स्मरण गराउँदै ओलीले आज खोला किनारमा बस्ने गरिबको जीवनको मूल्य छ कि छैन भनी प्रश्न गरिन् । 

सुकुम्बासी व्यवस्थापनका नाममा गरिएको कार्यलाई 'मानवीय संवेदनशीलताको गम्भीर असफलता' भन्दै उनले यसको नैतिक जिम्मेवारी सरकार र रास्वपाले लिनुपर्ने माग गरिन्। विस्थापन अगाडि उचित व्यवस्थापन हुनुपर्ने माग गर्दा आफूहरू आलोचित हुनुपरेको तर आज सरकारले बल्ल लगत संकलनको कुरा गरिरहेकोमा उनले अचम्म लागेको बताइन् । "४८ घण्टाको समय पनि नदिई राति डोजर चलाएर घर भत्काउनुलाई कसरी उद्धार भन्न मिल्छ?" उनले प्रश्न गरिन् । 

सांसद ओलीले सरकारले 'रुल अफ ल' नभई 'रुल बाइ विल' गरिरहेको टिप्पणी गरिन् । साथै, उनले प्रतिनिधि सभालाई छायामा पारेर अध्यादेशमार्फत काम गर्न खोजेको भन्दै सरकारको कार्यशैलीप्रति आपत्ति जनाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप