सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

पोखराका विद्यालयले जेठ ११ गतेसम्म बाहिरका विद्यार्थी भर्ना लिन नपाउने

सूचना पार्टीमा शुल्क टाँस्नुपर्ने
मङ्गलबार, २९ वैशाख २०८३, १९ : ०८
मङ्गलबार, २९ वैशाख २०८३

पोखरा । पोखरा महानगरपालिकाका विद्यालयले जेठ ११ गतेसम्म बाहिरका विद्यार्थीको भर्ना लिन नपाउने भएका छन् ।

शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ को भर्ना प्रक्रिया सम्बन्धी महानगरपालिकाले विशेष सूचना जारी गरेको हो । यी विद्यालयहरूले सुरुमा आफ्नै विद्यालयबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र भर्ना गर्नुपर्नेछ ।

वैशाख ३० गतेदेखि जेठ ८ गतेसम्म विद्यालयहरूले आफ्नै संस्थाबाट माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र भर्ना गर्न पाउने सूचना जारी भएको हो । यो अवधिमा बाहिरका विद्यार्थीलाई भर्ना लिन पाइने छैन । आफ्ना विद्यार्थीलाई भर्ना गरिसकेपछि बाँकी रहेको कोटामा मात्र खुला भर्ना प्रक्रिया अगाडि बढाउन भनिएको छ । 

खुला भर्ना भने जेठ ११ गतेपछि मात्र सुरु गर्न पाइने सूचनामा उल्लेख छ । निजी विद्यालयहरूले विद्यार्थी भर्ना गर्दा महानगरले प्रदान गर्ने छात्रवृत्ति कोटा अनिवार्य रूपमा दिनुपर्ने छ । छात्रवृत्तिका लागि छुट्याइएका सिटहरूमा कुनै असर नपर्ने गरी मात्र अन्य विद्यार्थी भर्ना गर्न निर्देशन दिइएको छ । 

सबै विद्यालयले २०८३ सालको कक्षा ११ को शुल्क विवरण आफ्नो सूचना पाटीमा अनिवार्य रूपमा टाँस्नुपर्ने उल्लेख गरिएको छ । शुल्कमा पारदर्शिता कायम गर्न र अभिभावकलाई जानकारी दिन महानगरले यस्तो कडाइ गरेको हो । 

भर्ना प्रक्रियालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले बताए । निर्देशन उल्लंघन गर्ने वा छात्रवृत्ति कोटा सुरक्षित नराख्ने विद्यालयमाथि आवश्यक कारबाही हुने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप