आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिले सम्बोधन गर्दा मात्रै बिग्रिने कस्तो स्वास्थ्य हो ? : सुरेश आलेमगर

प्रधानमन्त्री बालेन्द्र साहले संसद्मै आएर स्पष्टीकरण दिनुपर्ने सांसदहरूको माग
बुधबार, ३० वैशाख २०८३, १३ : २६
बुधबार, ३० वैशाख २०८३

सारांश

  • सांसद सुरेश आलेमगरले राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा प्रधानमन्त्री साह अनुपस्थित हुनु राष्ट्रपतिको अपमान भएको बताएका छन्।
  • आलेमगरले स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्रीको अनुपस्थितिलाई व्यङ्ग्य गर्दै राष्ट्रपतिले सम्बोधन गर्दा मात्रै बिग्रिने र सकिएपछि ठिक हुने कस्तो स्वास्थ्य हो भनी प्रश्न उठाएका छन्।
  • नेकपा एमालेकी सचेतक रोशनी मेचेले पनि प्रधानमन्त्रीले संसद्मा उपस्थित भई घटनाको बारेमा जानकारी दिनुपर्ने माग गरेकी छन्।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद सुरेश आलेमगरले संसद्मा राष्ट्रपतिमाथि प्रधानमन्त्रीले गरेको अपमानलाई सहन नसकिने बताएका छन्। 

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा प्रधानमन्त्री बालेन्द्र साहको अनुपस्थिति हुनु राष्ट्रपतिको अपमान भएको दाबी गरेका हुन्। 

सांसद आलेमगरले यस विषयमा प्रधानमन्त्री साहले नै संसद्मा उपस्थित भएर जानकारी गराउनुपर्ने माग गरेका छन्। राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री उपस्थित नहुनु सामान्य घटना मात्रै नभएको आलेमगरको भनाइ छ। 

प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यको कारण देखाएकोप्रति प्रश्न उठाउँदै उनले राष्ट्रपतिले सम्बोधन गरिरहँदा मात्रै बिग्रिने र सम्बोधन सकिएपछि ठिक हुने कुन खालको स्वास्थ्य हो भन्दै व्यङ्ग्य गरे। यदि यो प्रधानमन्त्रीको अनुभवहीनता र अपरिपक्वताका कारण भएको भए क्षम्य हुन सक्ने तर नियतवश गरिएको अपमान भए स्वीकार्य नहुने उनले स्पष्ट पारे।

सदनमा बोल्दै आलेमगरले भने, ‘राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्रीको अनुपस्थिति के कारणले भएको हो, हामी जानकारी दिन माग गर्छौँ। उहाँको सचिवालयले स्वास्थ्यको कारणले भनेको छ, यदि स्वास्थ्यको कारणले हो भने त्यो कस्तो कारण हो राष्ट्रपतिज्यूले सम्बोधन गरिरहँदा मात्रै बिग्रिने र सम्बोधन सकिएपछि ठिक हुने? कस्तो स्वास्थ्य हो। यदि उहाँको अनुभवहीनता र अपरिपक्वताको कारणले हो भने क्षम्य हुन सक्ला, त्यो के हो? किन त्यस्तो घटना भयो? हामी यसको बारेमा जान्न चाहन्छौँ। यदि यो सम्माननीय राष्ट्रपतिज्यूको अपमान हो भने त्यसलाई हामी सहन सक्दैनौँ। वास्तविक कारण के हो? त्यसको जानकारी प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्छ। प्रधानमन्त्रीले नै पेश गरेको सम्बोधन राष्ट्रपतिज्यूले वाचन गरिरहँदा प्रधानमन्त्री नै अनुपस्थित हुनुहुन्छ भने त्यो सामान्य कुरा होइन।’

त्यसैगरी नेकपा एमालेकी राष्ट्रिय सभा सचेतक रोशनी मेचेले पनि प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर उक्त घटनाको बारेमा जानकारी दिनुपर्ने माग गरिन्। संसद्मा अमर्यादित र असंवैधानिक व्यवहार कसैले गर्न नहुनेतर्फ ध्यानाकर्षण गराउँदै उनले प्रधानमन्त्रीको यस्तो क्रियाकलापले लज्जाबोध भएको बताएकी छन्। सांसदहरूले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर घटनाको वास्तविक कारण स्पष्ट नपारेसम्म यो विषय गम्भीर रहने सङ्केत गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप