प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सूचीबाट निर्वाचित मदनकृष्ण श्रेष्ठ विद्यार्थी राजनीति हुँदै सामाजिक सेवामा सक्रिय बने । स्थानीय तहको नेतृत्व गरिसकेका उनी लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बने । हाल उनी नेपाली कांग्रेस संसदीय दल सदस्यसचिव समेत छन् ।
श्रेष्ठसँग रातोपाटीले ‘सांसदसँग’ स्तम्भका लागि कुराकानी गरेको छ–
तपाईं सांसद किन बन्नु भएको ?
नेपालको संविधान २०७२ मा प्रदेश र स्थानीय सरकारलाई अधिकारहरू विकेन्द्रिकृत गर्ने, प्रत्यायोजन गर्ने र संविधानले दिएको, नेपालको संविधानले दिएको ऐन, नियम, कानुनहरू बनाउनका लागि म संसदमा पुगेको हो ।
नेपालको आर्थिक विकास, गरिबी रेखामुनि रहेका जनतालाई उत्थान गर्न, धनी मान्छेलाई अझ धनी बनाउन, विकास निर्माण गर्न, नेपालका विभिन्न समस्याहरू सम्बोधन गर्ने मेरो लक्ष्य हो । कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्न, पेट्रोल डिजेललाई न्यूनीकरण गरेर आफ्नै देशमा उत्पादन भएको बिजुलीलाई बढीभन्दा बढी प्रयोग गराउन, विदेशिएका युवाको क्षमतालाई सदुपयोग गरेर स्वदेशमै राख्न जे–जे व्यवस्था गर्नुपर्ने हो, त्यसका लागि ऐन–नियम बनाउन भूमिका खेल्छु ।
सांसदका रूपमा मुख्य—मुख्य काम के–के गर्नुहुनेछ ?
नयाँ ऐनहरू बनाउने हो । मुख्य त हामी सांसदले संविधान संशोधन गर्ने हो र ऐनमा भएका कमजोर पक्षलाई संशोधन गरेर अझ राम्रो बनाउने हो । विकास निर्माण सम्बन्धी, शिक्षा, स्वास्थ्य, रोजगारी, युवालाई रोजगारी र यहाँको कृषिजन्य उत्पादन बढाउने, जलस्रोतबाट बढीभन्दा बढी बिजुली उत्पादन गर्ने, विद्युतबाट चल्ने यातायातका साधनहरूको प्रयोगमा जोड दिने कुरामा केन्द्रित हुनेछु । जनताको आर्थिक वृद्धि गर्ने काममा लाग्नेछु ।
चुनावमा तपाईंका प्रमुख प्रतिबद्धता के–के थिए त्यतिबेला ?
देशमा सहरहरू बढिरहेका छन् । सहरलाई व्यवस्थित बनाउने, जथाभाबी अहिले सहरहरू विकास भइरहेका छन्, त्यसलाई व्यवस्थित रूपमा सहर बनाउनुपर्छ । यहाँको वातावरण बिग्रिरहेछ । प्रदूषणलाई न्यूनीकरण गर्ने, ऐन नियमहरू बनाउने प्रतिबद्धताहरू थिए । अब हामीले ती प्रतिबद्धताहरु यतातिर ध्यान दिनु आवश्यक छ ।
आफ्नो कार्यकाल ती प्रतिबद्धताहरू पूरा गर्न सक्नु हुन्छ ?
मैले माथि नै भनेँ, देशको आर्थिक वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, शिक्षा स्वास्थ्यलाई अझ गुणस्तरीय र सेवामूलक बनाउने काममा पूर्ण रुपमा प्रतिबद्ध भएर लाग्छु ।
सन् २००९ मा म कोरिया पुगेँ । अहिले जुन नेपाल–कोरिया मैत्री अस्पताल सञ्चालनमा छ, म मेयर हुँदा क्लिनिकका रूपमा ल्याएर हस्पिटलको रूपमा विकास गरेको हो । स्वास्थ्य बीमा नेपालमा प्रवेश पहिलो पटक कोरियाबाट फर्केपछि हामीले सुरु गरेको हो । कोरियन प्रविधिबाट हामीले छलफलपछि सुरु गर्यौँ । अहिले सरकारले सुरु गरेको स्वास्थ्य बीमाले धेरैलाई सहयोग गरेको छ ।

अहिले अधिकांश हस्पिटलमा र नेपालभरि स्वास्थ्य बीमा लागु भएको छ । त्यसमा समस्या पनि आएको छ, त्यो समस्या अब सरकारले समाधान पनि गर्छ । स्वास्थ्य बीमालाई कसरी समाधान गर्ने ? त्यस्तै शिक्षामा, स्वास्थ्यमा रहेका समस्या समाधान गर्न जोड दिनेछौँ । गरिबीको रेखा मुनि परेकालाई सर्वसुलभ शिक्षा, स्वास्थ्य, रोजगारी बढीभन्दा बढी प्राप्त गर्ने किसिमबाट हामीले ऐन नियम बनाउन संसदमा प्रतिबद्ध छौँ ।
जनतालाई के भन्न चाहनु हुन्छ ?
काम गर्दा समय लाग्न सक्छ, तुरुन्तै हुँदैन, हामी प्रयासरत रहनेछौँ । भ्रष्टाचारलाई न्यूनीकरण गर्न के के ऐन नियमहरू ल्याउनु पर्ने हो, अख्तियारलाई कसरी सशक्त बनाउन सकिन्छ ? त्यसका लागि ऐन नियम संशोधन गर्नेछौँ । यस्तै सार्वजनिक खरिद, विकासका पूर्वाधार निर्माणमा ढिला भइरहेछ, छिटोभन्दा छिटो समस्या समाधानमा हामी जोड दिनेछौँ । ऐन नियमहरू जे–जे संशोधन गर्नुपर्ने हो, त्यसमा जुट्नेछौँ ।
जनताले पाउनु पर्ने सेवा सुविधा, विकास निर्माणहरू ढिलासुस्ती भएको छ । अदालतमा न्याय पाउनलाई निकै समय लाग्छ । जनताले सेवा सुविधाहरू छिटो खोजेको छ । भ्रष्टाचार न्यूनीकरण, सुशासनका लागि ऐन नियमहरू संशोधन गर्नुपर्ने छ, हामी त्यसमा लाग्छौँ ।
प्रतिक्रिया