वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
सारांश
- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आज विशेष साधारणसभा तथा निर्वाचन हुन लागेको छ।
- संघको १७ सदस्यीय नयाँ कार्यसमिका लागि तीन प्यानलबाट ५१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
- कार्यसमितिभित्रै असन्तुष्टि चुलिएपछि र विवाद प्रशासनसम्म पुगेपछि संघको पुरानो कार्यसमिति विघटन गरिएको थियो।
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आज विशेष साधारणसभा तथा निर्वाचन हुन लागेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अघिल्लो कार्यसमिति विघटन गरेपछि आइतबार नयाँ कार्यसमिति छान्न चुनाव हुन लागेको हो।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आस्थावान् व्यवसायीहरू प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। संघको नेतृत्वका लागि पूर्वअध्यक्ष मेघनाथ भुर्तेल तथा पूर्व प्रथम उपाध्यक्षद्वय डिकबहादुर खत्री र हरिबहादुर पाण्डेले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको तर्फबाट भुर्तेलले प्यानलको नेतृत्व गरेका छन्। यस्तै, नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको प्यानलबाट खत्रीले नेतृत्व सम्हालेका छन्। खत्रीको प्यानलमा कांग्रेस निकट लोकतान्त्रिक समूहका असन्तुष्ट व्यवसायीहरूले समेत साथ दिएका छन्। त्यस्तै, तेस्रो प्यानलको नेतृत्व पाण्डेले गरिरहेका छन्।
संघको कुल १७ सदस्यीय नयाँ कार्यसमिति ७ पदाधिकारी र १० सदस्यका लागि तीनवटै प्यानलबाट जम्मा ५१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
यसरी निम्तियो मध्यावधि चुनावको अवस्था
यसअघि २०८१ चैत २९ गते सम्पन्न ३१औं साधारणसभाबाट भुवनसिंह गुरुङ संघको अध्यक्षमा निर्वाचित भएका थिए। तर, निर्वाचित भएको केही समयमै उनको कार्यशैलीलाई लिएर कार्यसमितिभित्रै तीव्र असन्तुष्टि चुलियो।
गुरुङले संघलाई आफ्नो व्यक्तिगत कम्पनीजस्तो बनाएको र स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै महासचिव महेशकुमार बस्नेतको नेतृत्वमा दुई तिहाइ पदाधिकारी र सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए।
बहुमत सदस्यको राजीनामासँगै संघको विधानअनुसार उक्त कार्यसमिति विघटन भई नयाँ प्रबन्ध समिति गठन गरिएको थियो। सोही प्रबन्ध समितिले जेठ २४ गतेका लागि विशेष साधारणसभा र निर्वाचनको मिति तय गरेको थियो।
तर, विवाद यतिमै रोकिएन। गुरुङले अझै पनि आफू नै आधिकारिक अध्यक्ष रहेको भन्दै दाबी पेस गरेपछि विवाद प्रशासनसम्म पुगेको थियो।
अन्ततः जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस विषयमा हस्तक्षेप गर्दै गुरुङ नेतृत्वको कार्यसमितिलाई पूर्ण रुपमा विघटन गरिदियो र तोकिएकै मितिमा विशेष साधारणसभा र निर्वाचन सम्पन्न गर्न कडा निर्देशन दियो।
प्रशासनको सोही निर्देशनबमोजिम आज संघको निर्वाचन हुन लागेको पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण