बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

‘व्यवस्था फेरियो तर अवस्था बदल्ने कार्यक्रम खोइ?’

१ देखि १०० बुँदासम्म हेरेँ तर रुपान्तरणको खाका भेटिनँ : सांसद हमाल
बिहीबार, ३१ वैशाख २०८३, १५ : १९
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोणको अभाव रहेको बताएका छन्।
  • उनले सत्तारुढ दलका सभापतिले उठाएको ‘व्यवस्था परिवर्तनपछि अब अवस्था परिवर्तन’को नारासँग सरकारको कार्यक्रम मेल नखाएको टिप्पणी गरेका हुन्।
  • सांसद हमालले नीति तथा कार्यक्रमका बुँदाहरू अध्ययन गर्दा सरकार आफ्नै नेतृत्वको सार्वजनिक प्रतिबद्धताबाट टाढिएको महसुस भएको बताए।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोणको अभाव रहेको बताएका छन्। 

प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सत्तारुढ दलकै सभापतिले उठाएको ‘व्यवस्था परिवर्तनपछि अब अवस्था परिवर्तन’ को नारासँग सरकारको कार्यक्रम मेल नखाएको टिप्पणी गरेका हुन्।

सांसद हमालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघि सारेको जनजीवन रूपान्तरणको अवधारणालाई आफूले सकारात्मक रूपमा लिए पनि नीति तथा कार्यक्रमका बुँदाहरू अध्ययन गर्दा सरकार आफ्नै नेतृत्वको सार्वजनिक प्रतिबद्धताबाट टाढिएको महसुस भएको बताए। 

उनले वैचारिक दृष्टिकोणबिना नीति तथा कार्यक्रम प्रभावकारी हुन नसक्ने तर्क गरे। अवस्था परिवर्तनको अर्थ जनताको जीवनस्तर सुधार, सामाजिक–आर्थिक रूपान्तरण तथा उत्पीडित, गरिब र न्याय खोजिरहेका नागरिकको पक्षमा ठोस कार्यक्रम ल्याउनु रहेको उनको भनाइ छ।

सरकारको आलोचना गर्दै उनले भने, ‘सत्तारुढ दलका सभापतिको अभिव्यक्तिसँग सरकारको नीति तथा कार्यक्रम कति संगतिपूर्ण छ भनेर नियाल्ने प्रयत्न गरेको छु। उहाँले भन्नुभएको थियो, अग्रजहरूले व्यवस्था परिवर्तन गरे, अब हामीले मुलुकको अवस्था परिवर्तन गर्नुपर्छ। मलाई कर्णप्रिय लागेको थियो ती कुराहरू। सायद त्यस्तै होला, नीति तथा कार्यक्रममा त्यही कुरा झल्केला भन्ने सोचेको थिएँ, तर नीति तथा कार्यक्रमका बुँदा केलाउँदै जाँदाखेरी सरकार कता हराएको? सरकार आफ्नै सभापतिको अभिव्यक्तिबाट कति टाढा भएको? मलाई ताजुब लागिरहेको छ।’

सांसद हमालले नीति तथा कार्यक्रमका १ देखि १०० सम्मका बुँदामा ती विषय प्रभावकारी रूपमा सम्बोधन नभएको दाबी गरे। दृष्टिकोणविहीन नीति तथा कार्यक्रमले जनताको जीवनस्तर बदल्न नसक्ने उल्लेख गर्दै उनले अभाव र उत्पीडनमा रहेकाहरूको पक्षमा कार्यक्रम हुनुपर्नेमा जोड दिए। 

उनले भने, ‘मैले १ देखि १०० बुँदासम्म हेरेँ, तर ती कुराहरू सम्बोधन गर्न यी बुँदाहरू तयार छैनन्। यो नीति तथा कार्यक्रममा दृष्टिकोणको स्पष्ट अभाव देखिएको छ। अस्पष्ट र दृष्टिकोणको अभावमा आएको नीति तथा कार्यक्रमबाट रूपान्तरण र परिवर्तन सम्भव छैन।’ 

उनले नीति तथा कार्यक्रमलाई अस्पष्ट दस्तावेजको संज्ञा दिँदै यसबाट जनताले अपेक्षा गरेको परिवर्तन हासिल हुन नसक्ने टिप्पणी गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप