पहिलो पटक भिड्दै इंग्ल्याण्ड र डीआर कङ्गो
एटलान्टा । इंग्ल्याण्डले विश्वकप २०२६ को नकआउट चरणको पहिलो खेल बुधबार एटलान्टामा खेल्दैछ, जहाँ उसले अन्तिम ३२ मा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो) सँग प्रतिस्पर्धा गर्नेछ ।
‘थ्री लायन्स’ ले यसपटकको विश्वकपमा अफ्रिकी प्रतिद्वन्द्वीविरुद्ध पहिले नै कठिन अनुभव बेहोरिसकेको छ । इंग्ल्याण्ड र डीआर कङ्गोबिचको यो खेल इतिहासकै पहिलो भेट हुनेछ ।
पहिलो खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै आकर्षक सुरुवात गरेको थ्री लायन्सले त्यसपछि भने समूह चरणको अन्त्यसम्म प्रेरणादायी प्रदर्शन गर्न सकेन । जिलेट स्टेडियममा घानासँग गोलरहित बराबरी खेलेको इंग्ल्याण्डले सप्ताहन्तमा पनामामाथि २–० को जित त निकाल्यो, तर त्यो जित पनि निकै संघर्षपूर्ण रह्यो ।
प्रशिक्षक थोमस टुचेलले प्रतियोगिता अघि बढ्दै जाँदा आफ्नो टोली अझ सशक्त बन्दै जाने बताएका छन् । तर नकआउट चरणमा ‘लेपार्ड्स’ (डीआर कङ्गो) को चुनौती सहज हुने छैन ।
सन् १९७४ को विश्वकपमा जाइरेका नामबाट खेलेको डीआर कङ्गोले यसपटक उत्तर अमेरिकामा निकै प्रभावशाली प्रदर्शन गरेको छ । सेबास्टियन देसाब्रेको टोलीले समूह ‘के’ मा पोर्चुगलसँग बराबरी खेलेको थियो भने कोलम्बियालाई पनि कडा चुनौती दिएको थियो । त्यसपछि विश्वकप डेब्यु टोली उज्बेकिस्तानविरुद्ध ३–१ को पुनरागमन जित निकाल्दै डीआर कङ्गो अर्को चरणमा पुगेको हो ।
गृहदेशमा लामो समयदेखि विभाजित र द्वन्द्वग्रस्त अवस्थाबिच आफ्ना समर्थकलाई एकताबद्ध गर्न सफल भएको यो जुझारु टोली अब आफ्नो इतिहासकै सबैभन्दा ठूलो र अनपेक्षित जित निकाल्ने दाउमा हुनेछ ।
- जितको बाटो पहिल्याउने दाउमा थ्री लायन्स
इंग्ल्याण्डलाई सावधान रहनुपर्ने चेतावनी घाना र केही हदसम्म पनामाले मात्र होइन, अन्तिम ३२ को सुरुवातमै पाराग्वेले पनि दिइसकेको छ । चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएको पाराग्वेको प्रदर्शनले डीआर कङ्गोलाई थप आत्मविश्वासी बनाएको छ भने इंग्ल्याण्डलाई एकदमै सजग ।
क्रोएसियाविरुद्धको उत्कृष्ट प्रदर्शनपछि इंग्ल्याण्डको लय केही खस्किएको देखिए पनि थोमस टुचेलको टोली अझै राम्रो अवस्थामा छ । टुचेलले छनोट गरेका खेलाडीहरू खुला ठाउँ दिने टोलीविरुद्ध अझ प्रभावकारी हुने विश्वास गरिन्छ । तर डीआर कङ्गोले इंग्ल्याण्डलाई त्यस्तो सुविधा दिने सम्भावना कम छ ।

तनावबाट बच्न इंग्ल्याण्डलाई सुरुमै गोल आवश्यक हुनेछ । यद्यपि समूह ‘के’ मा डीआर कङ्गोले प्रतिआक्रमणमा आफू निकै खतरनाक टोली भएको प्रमाण दिइसकेको छ ।
- सुपरस्टारहरूबाट निर्णायक प्रदर्शनको अपेक्षा
इंग्ल्याण्डको समग्र प्रदर्शन अपेक्षाअनुसार नभए पनि थोमस टुचेलसँग विश्वकै उत्कृष्ट दुई खेलाडी छन् । पनामाविरुद्ध पहिलो एक घण्टासम्म संघर्ष गरेको इंग्ल्याण्डका लागि जूड बेलिङ्घम र ह्यारी केनले निर्णायक क्षण गोलको सिर्जना गर्दै टोलीलाई समूह विजेताका रूपमा अर्को चरणमा पुर्याएका थिए ।
यी दुई सुपरस्टार उत्कृष्ट लयमा रहेकाले डीआर कङ्गोको प्रतिरोध तोड्ने क्षमता इंग्ल्याण्डसँग छ । तीन गोल गरिसकेका केन आफ्नो दोस्रो विश्वकप गोल्डेन बुट जित्ने अभियानमा हुनेछन् ।
- अफ्रिकी टोलीविरुद्ध इंग्ल्याण्डको इतिहास
विश्वकपमा अफ्रिकी टोलीविरुद्ध इंग्ल्याण्डको इतिहास निकै उत्कृष्ट छ । हालसम्म भएका नौ भेटमध्ये इंग्ल्याण्डले पाँच खेल जितेको छ र सात खेलमा क्लिन सिट राखेको छ । तर घानासँगको गोलरहित बराबरी अफ्रिकी टोलीविरुद्ध इंग्ल्याण्डको चौथो ०–० नतिजा थियो । यदि बुधबार इंग्ल्याण्ड विजयी भयो भने त्यो जित पनि निकै संघर्षपूर्ण हुने सम्भावना छ ।
- इंग्ल्याण्डको सम्भावित सुरुवाती टोली
घानाविरुद्धको गोलरहित बराबरीका क्रममा रिस जेम्सको ह्यामस्ट्रिङमा चोट लागेपछि थोमस टुचेलको टोली छनोटमाथि प्रश्न उठ्न थालेको छ । प्रतियोगिता सुरु हुनुअघि टिनो लिभ्रामेन्टोलाई हटाएर ट्रेभो चालोबाहलाई टोलीमा राख्ने निर्णय गरेपछि अहिले टुचेलसँग स्वाभाविक दायाँ रक्षकका रूपमा जेड स्पेन्स मात्र बाँकी छन् ।
जारेल क्वान्साह अर्को विकल्प हुन् । तर पनामाविरुद्ध उनको खुट्टाको कुर्कुच्चामा चोट लागेकाले बुधबार खेल्ने सम्भावना अनिश्चित छ । टोलीको अर्को सकारात्मक पक्ष भनेको समूह चरणको अन्तिम खेलमा विश्राम पाएका डेक्लान राइस पुनः मिडफिल्डमा फर्कने अपेक्षा गरिएको छ । उनले इलियट एन्डरसनसँग साझेदारी गर्नेछन् । म्यानचेस्टर युनाइटेडका कोबी माइनोले भने अझै खेल्ने अवसर पाएका छैनन् ।
बायाँ विङमा मार्कस रासफोर्डले एन्थोनी गोर्डनको स्थान लिने सम्भावना छ । दायाँतर्फ बुकायो साकाले क्रमशः आफ्नो लय समात्ने समर्थकहरूको अपेक्षा छ । उनी केही समयदेखि कुर्कुच्चा (अकिलिस) को समस्यासँग जुधिरहेका छन् ।
इंग्ल्याण्डको सम्भावित टोली (४–२–३–१) : पिकफोर्ड, स्पेन्स, कोन्सा, गुएही, ओ’राइली, एन्डरसन, राइस, साका, बेलिङ्घम, रासफोर्ड र केन ।

- डीआर कङ्गोको सम्भावित सुरुवाती टोली
सेबास्टियन देसाब्रेले उज्बेकिस्तानविरुद्ध जित्नैपर्ने खेलमा चार रक्षकको रणनीति अपनाएका थिए । तर इंग्ल्याण्डविरुद्ध भने उनी पुनः ५–३–२ को रक्षात्मक संरचनामा फर्किने लगभग निश्चित छ ।
खेलाडीहरूमा धेरै परिवर्तन हुने सम्भावना छैन । टोलीमा इंग्लिस फुटबल समर्थकका लागि परिचित धेरै नाम छन् । न्युक्यासल युनाइटेडमा कठिन सिजन बिताएका योआने विस्साले समूह चरणमा तीन गोल गरेका छन् । बुधबार उनले अनुभवी सेड्रिक बाकाम्बुसँग आक्रमणको नेतृत्व गर्नेछन् । सन्डरल्यान्डका नोआ सादिकी मिडफिल्डमा खेल्नेछन् ।
सम्भावित पाँच सदस्यीय रक्षापङ्क्तिका चार खेलाडी अहिले प्रिमियर लिगमा खेलिरहेका छन् वा यसअघि इंग्लिस शीर्ष डिभिजनमा खेलिसकेका छन् । एरन वान–बिसाका, एक्सेल तुआन्जेबे, चान्सेल म्बेम्बा र आर्थर मासुआकुले एटलान्टामा थ्री लायन्सलाई रोक्ने जिम्मेवारी पाउनेछन् ।
डीआर कङ्गोको सम्भावित टोली (५–३–२) : म्पासी, वान–बिसाका, तुआन्जेबे, म्बेम्बा, कापुआदी, मासुआकु, सादिकी, मुतुस्सामी, मुकाउ, बाकाम्बु र विस्सा ।
म्याच विवरण:
- स्थान : एटलान्टा, जर्जिया (संयुक्त राज्य अमेरिका)
- रंगशाला : मर्सिडिज–बेन्ज स्टेडियम
- मिति/समय : असार १७ (जुलाई १) बुधबार, बेलुका ९ः४५ (नेपाली समय)
- रेफ्री : अधाम मखादमेह (जोर्डन)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण