मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

ट्रम्प–सी शिखर भेटवार्ताबाट आउने नयाँ सम्झौता टिक्लान् ?

शुक्रबार, ०१ जेठ २०८३, १६ : १७
शुक्रबार, ०१ जेठ २०८३

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच बेइजिङमा भएको दुईदिने उच्चस्तरीय वार्ताबाट केही नयाँ व्यापार सम्झौताहरू आउन सक्ने संकेत देखिएको छ ।

तर यस्ता सम्झौताहरू दीर्घकालीन रूपमा टिक्ने कि नटिक्ने भन्ने प्रश्न अझै अनिश्चित छ । वार्ताबाट अहिलेसम्म केही सीमित र ठोस सहमतिहरू मात्रै बाहिर आएका छन् । यद्यपि दुवै पक्षका अधिकारीहरूले आगामी दिनहरूमा थप सम्झौताहरू घोषणा हुन सक्ने संकेत दिएका छन् ।

तर अमेरिका–चीन सम्बन्धको ऐतिहासिक उतारचढाव हेर्दा अहिले घोषणा हुने कुनै पनि सम्झौतापछि असफल हुन सक्ने सम्भावनालाई पूर्ण रूपमा नकार्न सकिँदैन । विश्लेषकहरूको भनाइमा बहु–अर्ब डलरका व्यापार सम्झौताहरू कार्यान्वयन गर्न धेरै वर्ष लाग्छ । यही अवधिमा राजनीतिक तनाव, व्यापार युद्ध, प्रतिबन्ध वा कूटनीतिक विवाद फेरि बढ्न सक्छ, जसले सम्झौताहरूलाई कमजोर वा असफल बनाउन सक्छ । यस कारण अहिले घोषणा गरिने सम्झौताहरू कागजमा मात्र सीमित हुने जोखिम पनि रहने बताइन्छ ।

वार्ताअघि नै विश्लेषकहरूको अपेक्षा धेरै ठुलो थिएन । किनकि अमेरिका–चीन सम्बन्धमा सबैभन्दा विवादास्पद विषयहरू अझै समाधान भएका छैनन् । प्रविधि निर्यात नियन्त्रण, ताइवानसम्बन्धी विवादलगायत यी मुद्दाहरूले दुई देशबिचको सम्बन्धलाई निरन्तर तनावपूर्ण बनाइरहेका छन् । तर ट्रम्पका अनुसार चीनले बोइङका २०० वटा विमान खरिद गर्न सहमति जनाएको छ । त्यस्तै अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पनि चीनले अमेरिकी कृषि उत्पादनहरूमा दशौँ अर्ब डलर बराबरको खरिद गर्ने सहमति पनि सम्भावित रूपमा भएको छ ।

विश्लेषकहरूले यी सम्झौताहरूलाई अपेक्षाकृत सजिला अर्थात् राजनीतिक रूपमा घोषणा गर्न सजिलो तर दीर्घकालीन प्रभाव सीमित हुने खालका सम्झौताका रूपमा वर्णन गरेका छन् । अमेरिका–चीन सम्बन्धमा पहिले पनि यस्ता सम्झौताहरू घोषणा भए पनि पछि ती कार्यान्वयन हुन नसकेको उदाहरण धेरै छन् । पछिल्ला वर्षहरूमा व्यापार युद्धको समयमा दुवै देशबिच तनाव घटाउन वार्ता गरिएको थियो । त्यसपछि पनि विवाद बढ्दै गए, जब वाशिङ्टनले चिनियाँ कम्पनीहरूलाई अमेरिकी प्रविधि पहुँचबाट रोक्ने सूची विस्तार ग‍र्‍यो । पछि दक्षिण कोरियामा भएको ट्रम्प–सी शिखर बैठकपछि मात्र अस्थायी व्यापार युद्धविराम भयो । यो अहिले पनि अस्थायी अवस्थामै छ र वर्षको अन्त्यमा समाप्त हुने तयारीमा छ ।

ट्रम्पको २०१७ को चीन भ्रमण पनि यसैकै उदाहरण मानिन्छ । त्यतिबेला अमेरिका र चीनबिच २५० अर्ब डलरभन्दा बढी मूल्यका सम्झौताहरू घोषणा गरिएका थिए । त्यसमध्ये ८४ अर्ब डलरको ग्यास र केमिकल परियोजना, ४३ अर्ब डलरको एलएनजी परियोजनाजस्ता ठुला लगानी योजनाहरू समावेश थिए । तर दुई देशबिचको सम्बन्ध क्रमशः बिग्रँदै गएपछि तीमध्ये धेरै परियोजनाहरू पछि कार्यान्वयन हुन सकेनन् ।

अहिले पनि शंका गर्नु पर्ने अवस्था किन छ ?

विश्लेषकहरूका अनुसार अहिले पनि त्यही जोखिम दोहोरिन सक्छ । दुई देशबिच व्यापारभन्दा राजनीतिक तनाव बढी छ, प्रविधि र सुरक्षा मुद्दा अझै समाधान भएका छैनन् । दुवै देश एकअर्कामाथि प्रतिबन्धात्मक नीतिमा अडिग छन् । भू–राजनीतिक प्रतिस्पर्धा तीव्र छ । यसले कुनै पनि नयाँ व्यापार सम्झौतालाई दीर्घकालीन रूपमा टिक्न कठिन बनाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप