शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँको थानकोटमा घरायसी विवादमा युवकको हत्या, भिनाजु पक्राउ

आइतबार, ०३ जेठ २०८३, ०८ : ३९
आइतबार, ०३ जेठ २०८३

सारांश

  • काठमाडौँको थानकोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ ।
  • महोत्तरी घर भई हाल थानकोट बस्ने ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन् ।
  • प्रहरीले घटनामा प्रयोग भएको चक्कुसहित हत्यामा संलग्न समि अहमदलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्ने ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार गएराति करिब ९:१५ बजे उनीहरूबिच घरायसी विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि अहमदले तरकारी काट्ने चक्कुले २०–२५ वर्षका जाकिरमाथि प्रहार गरेका थिए । 

चक्कु प्रहारबाट गम्भीर घाइते भएका जाकिरलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेड पोइन्ट अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा राति ९:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक जाकिरको स्थायी घर महोत्तरीको गौशाला नगरपालिका–५ हो ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने समि अहमदलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरेको छ । 

प्रहरी वृत्त थानकोटका अनुसार मृतकको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप