चेल्सीको नयाँ प्रबन्धकमा ओलोन्सो नियुक्त
सारांश
- चेल्सीले पूर्व लिभरपुल मिडफिल्डर जाभी ओलोन्सोलाई चार वर्षको सम्झौतामा नयाँ प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
- ओलोन्सोले यसअघि बायर लेभरकुजेनसँग ऐतिहासिक बुन्डेसलिगा उपाधि र जर्मन कप जिताएका थिए।
- प्रबन्धक बन्न पाउँदा गर्वित महसुस गर्दै ओलोन्सोले क्लबमा स्थिरता ल्याई ट्रफी जित्ने टोली बनाउने लक्ष्य राखेका छन्।
लण्डन । चेल्सीले पूर्व लिभरपुल मिडफिल्डर जाभी ओलोन्सोलाई आफ्नो नयाँ प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
४४ वर्षीय यी स्पेनिस प्रशिक्षकले चेल्सीसँग चार वर्षको सम्झौता गरेका छन् र उनले आगामी जुलाईदेखि आफ्नो कार्यभार सम्हाल्नेछन्।
यसअघि, तीन वर्षको सम्झौतामा बाँधिएका ओलोन्सो आठ महिना पनि नपुग्दै गत जनवरीमा आपसी सहमतिमा रियल म्याड्रिड छाडेपछि क्लबविहीन थिए।
त्योभन्दा पहिले उनले जर्मन क्लब बायर लेभरकुजेनमा तीन वर्ष प्रशिक्षकको रूपमा बिताएका थिए, जहाँ उनले क्लबलाई सन् २०२४ मा इतिहासकै पहिलो बुन्डेसलिगा उपाधि र जर्मन कप दिलाएका थिए। चेल्सीले एफए कपको फाइनलमा म्यान्चेस्टर सिटीसँग पराजय व्यहोरेको भोलिपल्ट नै ओलोन्सोको आगमनको पुष्टि गरेको हो।
यस सिजन एन्जो मारेस्का र लियाम रोजेनियर गरी दुई जना स्थायी प्रबन्धक बेहोरेको चेल्सीले ओलोन्सोको आगमनसँगै क्लबमा स्थिरता आउने अपेक्षा गरेको छ। हाल कालुम म्याकफार्लेन दोस्रो पटक अन्तरिम प्रशिक्षकको भूमिकामा छन् र उनले प्रिमियर लिगका बाँकी दुई खेलमा यो जिम्मेवारी निरन्तर सम्हाल्नेछन्।
चेल्सीको प्रबन्धक बनेपछि खुसी व्यक्त गर्दै ओलोन्सोले भने, ‘चेल्सी विश्व फुटबलकै सबैभन्दा ठुला क्लबहरूमध्ये एक हो र यस महान् क्लबको प्रबन्धक बन्न पाउनु मेरा लागि ठुलो गर्वको कुरा हो।’
उनले अगाडि थपे, ‘क्लबको स्वामित्व समूह र खेलकुद नेतृत्वसँगको कुराकानीबाट हामी दुवैको महत्त्वाकाङ्क्षा एउटै रहेको प्रस्ट भएको छ। हामी लगातार उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्ने र ट्रफीका लागि लड्न सक्ने टोली बनाउन चाहन्छौँ। यस टोलीमा उत्कृष्ट प्रतिभा र ठुलो सम्भावना छ, त्यसैले यसको नेतृत्व गर्न पाउनु मेरो लागि ठुलो सम्मानको कुरा हो। अबको हाम्रो ध्यान कडा मिहिनेत, सही संस्कृति निर्माण र ट्रफी जित्ने कुरामा केन्द्रित हुनेछ।’
ओलोन्सोले खेलाडीको रूपमा लिभरपुलबाट प्रिमियर लिगमा पाँच वर्ष बिताएका थिए, जहाँ उनले सन् २००५ मा टोलीलाई च्याम्पियन्स लिग जिताउन मद्दत गरे। उनले रियल सोसिडाड, रियल म्याड्रिड र बायर्न म्युनिखबाट पनि व्यावसायिक फुटबल खेलेका थिए।
स्पेनका लागि ११४ खेल खेलेका उनले देशलाई सन् २०१० को विश्वकप र दुई पटक युरोपियन च्याम्पियनसिपको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण