एयर फ्रान्स र एयरबस २००९ को विमान दुर्घटनामा दोषी ठहर
पेरिस । फ्रान्सेली विमान सेवा प्रदायक कम्पनी एयर फ्रान्स र एयरबसलाई सन् २००९ मा भएको भयानक विमान दुर्घटनासम्बन्धी मुद्दामा फ्रान्सको अपिल अदालतले हत्याको दोषी ठहर गरेको छ । २२८ जनाको ज्यान जाने गरी भएको सो दुर्घटनालाई फ्रान्सेली उड्डयन इतिहासकै सबैभन्दा घातक दुर्घटना मानिन्छ ।
पेरिसको अपिल अदालतले एयर फ्रान्स र एयरबसलाई उक्त दुर्घटनाका लागि “पूर्ण रूपमा जिम्मेवार” ठहर गरेको हो । दुर्घटनाग्रस्त उडान एएफ४४७ रियो डी जनेरियोबाट पेरिसतर्फ जाँदै थियो । उडानका क्रममा विमान आँधीबेहरीमा फसेर अटलान्टिक महासागरमा खसेको थियो । यसअघि सन २०२३ अप्रिलमा अदालतले दुवै कम्पनीलाई आरोपबाट सफाइ दिएको थियो । तर आठ सातासम्म चलेको पुनः सुनुवाइपछि बिहीबार अदालतले दुबैलाई दोषी ठहर गरेको हो । एयर फ्रान्स र एयरबसले भने आफूहरू निर्दाेष रहेको दाबी गर्दै फैसला विरुद्ध पुनः अपिल गर्ने बताएका छन् ।
दुर्घटनामा विमानमा सवार सबै २१६ यात्रु र १२ जना चालक दलका सदस्यको मृत्यु भएको थियो । विमान ३८ हजार फिटको उचाइबाट समुद्रमा खसेको थियो । दुर्घटनापछि विशाल खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो । दक्षिण अमेरिकाको तटबाट करिब १ हजार १२७ किलोमिटर टाढा अटलान्टिक महासागरको गहिराइमा विमानका भग्नावशेष खोज्न महिनौँ लागेको थियो । समुद्रको करिब १० हजार वर्ग किलोमिटर क्षेत्रमा खोजी गरिएपनि विमानको फ्लाइट रेकर्डर सन २०११ मा मात्रै भेटियो ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश फ्रान्स, ब्राजिल र जर्मनीका नागरिक थिए । बिहीबार अदालतको फैसला सुनाउन पीडित परिवारका सदस्यहरू उपस्थित भएका थिए । अदालतले एयर फ्रान्स र एयरबसलाई पीडित हरेकको परिवारलाई अधिकतम २ लाख २५ हजार युरो जरिवाना तिर्न आदेश दिएको छ । तर केही पीडित परिवारहरूले उक्त रकमलाई “प्रतीकात्मक सजाय” भन्दै असन्तुष्टि जनाएका छन् । दुर्घटनामा ३३ देशका नागरिक मारिएका थिए। तीमध्ये ६१ जना फ्रान्सेली, ५८ जना ब्राजिलियन, २६ जना जर्मन, दुई अमेरिकी, पाँच बेलायती र तीन आयरिस नागरिक थिए ।
दुर्घटनाको कारण के थियो?
सन २०१२ मा फ्रान्सेली अनुसन्धानकर्ताहरूले विमानका सेन्सरमा आएको प्राविधिक खराबी र पाइलटहरूको गलत प्रतिक्रियाले दुर्घटना भएको निष्कर्ष निकालेका थिए । अनुसन्धानअनुसार विमानको एयरस्पिड मापन गर्ने सेन्सरले गलत सूचना दिन थालेपछि पाइलटहरू अन्योलमा परेका थिए । विमान “स्टल” अवस्थामा पुगेपछि नाक तल झार्नुपर्नेमा उनीहरूले उल्टै विमानको नाक माथि उठाएका थिए, जसका कारण विमान समुद्रमा खसेको थियो ।
दुर्घटनापछि विश्वभर पाइलट तालिम प्रणालीमा सुधार गरिएको थियो भने विमानका स्पिड सेन्सरहरू पनि प्रतिस्थापन गरिएका थिए । दुर्घटनाको समयमा विमानका मुख्य पाइलटसँग ११ हजार घण्टाभन्दा बढी उडान अनुभव रहेको एयर फ्रान्सले जनाएको थियो । त्यसमध्ये १ हजार ७०० घण्टा सोही प्रकारको विमानमा उडान गरेको अनुभव थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण