काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य इन्जिनियर दीपक कुमार साहलाई राजनीतिको अग्रपङ्क्तिमा आउन कहिल्यै मन भएन । उनले जहिल्यै पछाडि बसेर काम गरे । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनसरीको क्षेत्र नं. ४ बाट चुनाव लडेका उनले भारी मतसहित विजयी भए ।
साहले ४२ हजार ७७१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ज्ञानेन्द्र बहादुर कार्कीले १६ हजार ५८७ मत प्राप्त गरे। साहले २६ हजार १८४ मतान्तरले जित निकालेका हुन्।
इन्जिनियर हुँदा साहले हाइड्रोपावर क्षेत्रमा काम गरे । अहिले सांसदको भूमिकामा थप जिम्मेवारीका साथ लाग्ने उनी बताउँछन् ।
देश बनाउन लागि पहिला आम्दानी हुनुपर्छ भन्ने सांसद साहको प्रस्ट मान्यता छ । पुराना, प्रोजेक्टहरू, पुरानो राजनीतिक पार्टी, पुरानो नीति नियमले विभिन्न आयोजना निर्माणमा ढिलाइ भएको उनले बताए ।
‘१४ वर्षदेखि मैले बुझेको कुरा भनेकै देशमा परिवर्तन गर्न सही नीति हुनुपर्यो । परिवर्तन गर्ने त्यही चाहनाले म सांसद बनेको हो,’ साहले भने, ‘यो एउटा संयोग पनि बनिदियो ।’ चुनाव अगाडि उनले कुनै प्रतिबद्धता सार्वजनिक गरेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्र आइसकेकाले त्यही बाचापत्रलाई अवलम्बन गर्ने योजना उनले बनाए । देश बनाउन बेथिति हटाउने, भ्रष्टाचार अन्त्य गर्ने नै एजेन्डा थियो ।
देश र आफ्नो क्षेत्रका समस्याहरूलाई एकीकृत गरेर समाधान गर्ने प्रयास गरेको साह बताउँछन् । मानवको जीवनसँग खेलवाड हुने कामहरूतर्फ आफ्नो ध्यान रहेको उनको भनाइ छ ।
कोशी वन्यजन्तु आरक्षबाट भइरहेको मानवीय क्षतिलाई रोकथामको लागि पहल गर्ने, सुनसरी खोलाबाट पीडितहरूको समस्या समाधान गर्ने, किसानले भोगेको सिँचाइ र खादका समस्या समाधान गर्न पहल गर्न खोजिरहेको उनले बताए ।
‘तर यो जम्मै पहल त्यतिबेला मात्र सम्भव छ जब देशको ढुकुटी भरिन्छ,’ साहले भने । संघीय संसदको पूर्वाधार विकास समितिमा रहेका उनले भने, ‘अहिले देशकै ढुकुटी खाली छ, पहिला देशको ढुकुटी भर्नु पर्छ ।’
देशमा आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्नेमा आवश्यक नीति–निर्माण बनाउने काम गर्ने साहले बताए । आफूलाई अत्यधिक मत दिएर जिताउने जनताहरूप्रति उनले आभार व्यक्त गरे । जनताहरूको हरेक सुख–दुःखमा उत्तिकै चिन्ता रहेको बताए । जनताको समस्या समाधान गर्न सधैँ कोसिस गर्ने उनको भनाइ छ ।
१ प्रतिक्रिया