शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँको गोकर्णेश्वरमा बर्डफ्लु पुष्टि

मङ्गलबार, १२ जेठ २०८३, १३ : ५०
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका २, ३ र ४ वडामा 'हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा'को सङ्क्रमण पुष्टि भएको छ ।
  • सङ्क्रमण देखिएका क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिएको छ ।
  • पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाउनुका साथै अनिवार्य रूपमा फुटबाथको प्रयोग गर्न निर्देशन दिइएको छ ।

काठमाडौँ । काठमाडौँको  गोकर्णेश्वर नगरपालिकाको ३ वटा वडामा बर्डफ्लु पुष्टि भएको छ ।  नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’को सङ्क्रमण भेटिएको पुष्टि भएको हो । 

नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने ‘जुनोटिक’ प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले नगरपालिकाले सङ्क्रमण देखिएका क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ।

नगरपालिकाद्वारा मापदण्ड

संक्रमणलाई थप फैलिन नदिन र जनस्वास्थ्यको सुरक्षाका लागि नगरपालिकाले व्यावसायिक फार्म सञ्चालकहरूका लागि कडा मापदण्ड सहित  निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीद्वारा जारी सूचना अनुसार पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको छ ।

 यदि प्रवेश गराउनै पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण (डिसन्फेक्सन) गरेर मात्र प्रवेश गराउनुपर्नेछ । एउटा फार्ममा काम गर्ने श्रमिकहरू अर्को फार्ममा जान नपाउने र प्रयोग भइसकेका अण्डा राख्ने कागजका क्रेटहरू पुनः प्रयोग गर्न नपाइने व्यवस्था लागू गरिएको सूचनामा उल्लेख छ ।

प्रत्येक फार्मको प्रवेशद्वारमा अनिवार्य रूपमा चुन वा उपयुक्त निसंक्रामक औषधिको प्रयोग गरी ‘फुटबाथ’ (खुट्टा डुबाउने ठाउँ) को व्यवस्था गर्न भनिएको छ । फार्म भित्र प्रवेश गर्दा र बाहिर निस्कँदा सो फुटबाथको प्रयोग अनिवार्य गरिएको छ ।  फार्म क्षेत्रभित्र कुकुर, बिरालो र मुसाजस्ता अन्य जनावरहरूको प्रवेश रोक्न  नगरपालिकाले निर्देशन दिएको छ ।

नगरपालिकाले पन्छीजन्य उत्पादनको ओसारपसारमा समेत कडाइ गरेको छ । अबदेखि पन्छी वा पन्छीजन्य पदार्थको ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्नेछ । 

यदि कुनै पनि स्थानमा अचानक धेरै संख्यामा कुखुरा वा पन्छीहरू बिरामी परेमा वा मरेमा त्यसलाई जथाभाबी नफाल्न र सुरक्षित तवरले खाडलमा गाड्न भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप