सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘कृषकलाई बालीनाली सुरक्षाका लागि हतियार उपलब्ध गराइयोस्’

मङ्गलबार, १२ जेठ २०८३, १४ : ५४
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाँदर आतङ्कका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै संसद् र सरकारको ध्यानाकर्षण गराएका छन्।
  • सांसद राईले बाँदरको समस्यालाई लिएर संसद्मा हुने गरेका ठट्टा र उपहासप्रति आपत्ति प्रकट गर्दै यसलाई जनताको पीडा र आक्रोशको रूपमा बुझ्न आग्रह गरे।
  • उनले कृषकलाई आफ्नो बालीनाली सुरक्षाका लागि कानुनी प्रक्रिया पुर्‍याएर हतियार उपलब्ध गराउने विषयमा समेत सदनमा छलफल हुनुपर्ने धारणा राखे।

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभर बढ्दै गएको बाँदरको समस्याका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै संसद् र सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले बाँदर आतङ्कका कारण जनता आफ्नो थातथलो छोड्न बाध्य भएको उल्लेख गरे।

सांसद राईले बाँदरको समस्यालाई लिएर संसद्मा हुने गरेका ठट्टा र उपहासप्रति आपत्ति प्रकट गर्दै यसलाई जनताको पीडा र आक्रोशको रूपमा बुझ्न आग्रह गरे। कृषकले दुःख गरेर हुर्काएका बालीनाली बाँदरले सखाप पार्दा ग्रामीण भेगका जनताको जीविकोपार्जनमा नै सङ्कट आएको उनको तर्क थियो। 

उनले जनतालाई रुवाएर र आफ्नै भूमिमा बस्न नसक्ने अवस्था सिर्जना गरेर कुनै पनि प्रकारको ‘आतङ्क’ लाई पाल्न नसकिने स्पष्ट पारे। उनले वैदेशिक रोजगारीमा रहेका युवाहरूले पठाएको विप्रेषण र उनीहरूका आमाबुबाले गाउँमा बाँदरसँग जुधेर गरेको सङ्घर्षको समेत स्मरण गराए।

बैठकमा बोल्दै उनले भने, ‘बाँदर आज जनताको महत्त्वपूर्ण शत्रु भएको छ। कतिपयले यसलाई बचाउनुपर्छ भन्लान्, तर जनताको पीडा भने अकल्पनीय छ। यो विषयलाई हल्का रूपमा लिएर हाँसोमजाक गर्नु हुँदैन। जनताको आक्रोशलाई दबाउन खोजियो भने यसले उग्र रूप लिन सक्छ। बाँदर व्यवस्थापनका लागि के गर्ने हो ? मार्ने, व्यवस्थापन गर्ने वा अरू कुनै निकास निकाल्ने? यसबारे सरकारले गम्भीर भएर सोचोस् र सदनमा अविलम्ब छलफल होस्।’

समस्या समाधानका लागि ठोस पहल हुनुपर्नेमा जोड दिँदै सांसद राईले विगतका अभ्यासहरूको उदाहरण समेत दिए। उनले कृषकलाई आफ्नो बालीनाली सुरक्षाका लागि कानुनी प्रक्रिया पुर्‍याएर हतियार उपलब्ध गराउने विषयमा समेत सदनमा छलफल हुनुपर्ने धारणा राखे। 

यो विषय कुनै दल वा विचारको मात्र नभई ‘भुइँ मान्छे’ हरूको साझा समस्या भएको उल्लेख गर्दै उनले सरकारलाई यस विषयमा संवेदनशील हुन र तत्काल निकासको बाटो खोज्न माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप