शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी

शुक्रबार, २२ जेठ २०८३, ०९ : २१
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका विभिन्न भू-भागमा 'लु' (तातो हावाको लहर) चल्ने चेतावनी जारी गरेको छ ।
  • मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहरको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिनको सम्भावना छ ।
  • अत्यधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा आगामी तीन दिनसम्म ‘लु’ चल्ने सम्भावना औँल्याएको छ । 

विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहरको सम्भावना रहेको छ । यसैगरी, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिनको सम्भावना रहेको छ ।

विभागले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘ती प्रदेशका तराई भू-भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने सम्भावना छ ।’ अत्यधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणका अनुसार, तराईका विभिन्न जिल्लाहरूमा उच्च जोखिम रहेको छ । जसमध्ये, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कैलाली र कञ्चनपुरलाई बढी संवेदनशील सूचीमा राखिएको छ ।

तातो लहरका कारण देखिने शारीरिक असरहरू:
तातो लहरले शरीरमा विभिन्न नकारात्मक असरहरू देखाउन सक्छ । यसमा ‘शरीरको तापक्रम बढ्ने, थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने’ जस्ता लक्षणहरू प्रमुख हुन् । यसका अतिरिक्त, ‘बान्ता आउने’ र ‘झाडापखाला लाग्ने’ जस्ता समस्याहरू पनि देखिन सक्छन् ।

प्राधिकरणले तातो लहरबाट बच्नका लागि केही महत्त्वपूर्ण सुझावहरू दिएको छ । सकेसम्म घरबाहिर ननिस्कने र दिउँसोको समयमा यात्रा नगर्ने सल्लाह दिइएको छ । 

घरबाहिर निस्कनै परेमा छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने र खुकुलो, शीतल हुने सुतीका कपडा लगाउने भनिएको छ । साथै, खुल्ला र शीतल ठाउँमा बस्ने, पर्याप्त पानी पिउने, कागती पानी र फलफूल खाने तथा चिया कफी जस्ता तातो पेय पदार्थ नपिउने सुझाव दिइएको छ ।

यसका साथै, खेताला वा शारीरिक परिश्रम धेरै गर्नुपर्ने काममा बिहान वा बेलुका गर्ने, बालबालिकालाई बढी घाममा खेल्न नदिने र जेष्ठ नागरिक, दीर्घ रोगीहरूले स्वास्थ्यमा बढी ध्यान दिने भनिएको छ । स्थानीय तहमा तातो लहरबाट बच्नका लागि आवश्यक व्यवस्था मिलाउन र कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त स्वास्थ्यकर्मी वा अस्पताल जान’ प्राधिकरणले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप