शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव

शुक्रबार, २२ जेठ २०८३, २० : ५३
शुक्रबार, २२ जेठ २०८३

जलवायु परिवर्तनका कारण दक्षिण अफ्रिकामा तापक्रम निरन्तर बढिरहेको छ । अहिलेसम्म खडेरी, बाढी र खाद्य असुरक्षा जस्ता प्रभावहरूमा बढी ध्यान दिइएको छ, तर अर्को गम्भीर सङ्कट विद्यालयहरूमा फैलिरहेको तथ्यबारे सरोकारवाला निकाय र सरकारहरू खासै महत्त्व दिइएको पाइदैन ।

अनुसन्धानले धेरै विद्यालयमा बालबालिकाको विकास, अध्ययन र खेलकुदका लागि खतरनाक रूपमा तातो ठाउँ बनिरहेका देखाएको छ ।

विज्ञहरुका अनुसार कक्षाकोठामा अत्यधिक तातो हुँदा बालबालिकाको एकाग्रता, स्मरणशक्ति, व्यवहार र शैक्षिक प्रदर्शनमा असर पर्छ । उचित प्रकाश र स्वच्छ हावाको लागि झ्याल तथा भेन्टिलेसनको अभाव, अत्यधिक भीडभाड हुने कक्षाकोठा र विद्यालयमा पिउने पानीको उपलब्धता सीमित हुँदा पनि बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।

दक्षिण अफ्रिकी ‘मेडिकल रिसर्च काउन्सिल’का वातावरणीय स्वास्थ्य वैज्ञानिकहरूले गरेको अनुसन्धानले बढ्दो तापक्रमले बच्चाहरूको दैनिक जीवन र कल्याणलाई असर गरिरहेको दावी गरेको हो ।

‘युनिभर्सिटी अफ जोहानेसबर्ग’सँगको सहकार्यमा गौटेङ प्रान्तमा गरिएको सो अध्ययनमा तापक्रम र आद्रतासँग सम्बन्धित मापकमध्ये आधाभन्दा बढी विद्यालय ‘सावधानी’ वा ‘अत्यधिक सावधानी’ नगर्ने वर्गमा रहेको पाइएको छ ।

जोहानेसबर्गमा कक्षाकोठाको तापक्रममा गरिएको अर्को अध्ययनमा, लगभग सबै बच्चाहरूले कम एकाग्रता देखाएको रिपोर्टमा उल्लेख छ ।

अर्को एक अध्ययनअनुसार २५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदा विद्यार्थीको अनुपस्थिति बढ्छ ।

अनुसन्धाताहरूका अनुसार धेरैजसो विद्यालय भवन र खेल मैदानहरू बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउने गरी बनाइएका छैनन् । सरकारी सहयोगमा बनेका सस्तो घर र अनौपचारिक बस्तीमा बस्ने परिवार अत्यधिक तापक्रमको जोखिममा बढी छन् ।

हालैको एक अध्ययनले पनि ग्रामीण र शहरी विद्यालयहरूबीच स्पष्ट भिन्नता देखाएको छ। अध्ययनका अनुसार ग्रामीण कक्षाकोठाको तुलनामा शहरी कक्षाकोठा २५ देखि २८ डिग्री सेल्सियसको तापक्रम राख्न बढी सक्षम छन् । यस्ता भिन्नताहरूले शिक्षा र स्वास्थ्यसम्बन्धी असमानतालाई झनै झनै चर्काउन सक्ने विशेषज्ञहरूले जनाएका छन् ।

“जलवायु परिवर्तनलाई अझै पनि धेरैले भविष्यको समस्या मानेका छन्, तर अत्यधिक तातो कक्षामा बस्ने बालबालिकाका लागि यसले उनीहरूको सिक्ने क्षमता, विकास र स्वास्थ्यमा असर पारिरहेको छ,” अनुसन्धानकर्ताहरूले भनेका छन् । उनीहरूले दक्षिणी अफ्रिकाको शिक्षा प्रणालीले तातो भविष्यको लागि तयार हुनुपर्नेमा चेतावनी दिएका छन् ।

अध्ययनका अनुसार मानव मस्तिष्कले सीमित तापक्रममा राम्रोसँग काम गर्छ । कक्षाकोठामा धेरै तातो हुँदा बालबालिकालाई ध्यान केन्द्रित गर्न, बुझ्न र सम्झन गाह्रो हुन्छ । अन्तर्राष्ट्रिय अध्ययनहरूमा पनि, तातो कक्षाहरू खराब परीक्षाको परिणाम, कम ध्यान अवधि, र उत्पादकत्वमा कमीसँग जोडिएको छ ।

वयस्कको तुलनामा उनीहरूको शरीरले कम प्रभावकारी रूपमा तातोलाई नियन्त्रण गर्न सक्ने भएकाले साना बालबालिका बढी संवेदनशील हुने गरेको अध्ययनले देखाएको छ ।

दक्षिणी अफ्रिकाका धेरै विद्यालयहरूमा कक्षाकोठाको तापक्रम बढी हुनु टिनको छाना, कमजोर इन्सुलेशन(तातो वा चिसो रोक्ने साधन), भीडभाड र हावाको प्रवाहको कमीको कारण भएको अध्ययनले देखाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप