शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्‍यो

शुक्रबार, २२ जेठ २०८३, १० : १३
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले केन्द्र सरकारले बजेटमा कर्णालीलाई उपेक्षा गरेको बताएका छन्।
  • उनले विगतमा जस्तै अहिलेको बालेन साह नेतृत्वको सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गरेको आरोप लगाए।
  • कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा संघीय सरकारका कारण ढिलाइ भइरहेको पनि बताए।

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले केन्द्र सरकारबाट सधैँ कर्णाली उपेक्षामा परेको बताए । अहिले बालेन साह नेतृत्वको सरकारले पनि कर्णालीलाई बजेटमा उपेक्षा गरेको उनको भनाइ छ ।

‘केन्द्र सरकारले कर्णालीलाई बजेटमा जहिल्यै उपेक्षा गर्दै आएको छ,’ शुक्रबार वीरेन्द्रनगरमा आयोजित अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले पनि त्यस्तै गरियो । अक्षरमा कर्णाली प्रदेश भनेर धेरै आउँछ, अंक आइपुग्दा टिठ लाग्दो हुन्छ ।’

कँडेलले कर्णालीलाई खेल क्षेत्रको हब बनाउनका लागि सीमित स्रोत र साधनबिच पनि प्रदेश सरकारले खेल पूर्वाधारहरू निर्माण गरिरहेको बताए ।

कँडेलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहेपनि संघीय सरकारका कारण ढिलो भइरहेको बताए । ‘हामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि पूर्ण तयारीमा छौँ,’ उनले भने, ‘केन्द्र सरकारका कारण समयमै १० औँ खेल प्रतियोगिता आयोजना हुन सकेको छैन ।’

नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीबाट महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा छनोट प्रतियोगिता आयोजना गरिएको बताए । ‘पूर्वाधार र खेलाडी अभाव झेलिरहेको कर्णालीबाट महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुको खास अर्थ छ,’ उनले भने, ‘क्यानको उद्देश्य कर्णालीबाट क्रिकेटको विकास गर्नु हो ।’

क्यानका कोषाध्यक्ष एवम् कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा खेलकुद पर्यटनको उच्च सम्भावना रहेको बताए । उनले क्यानले कर्णालीमा क्रिकेटको विकासका लागि महत्त्वपूर्ण कामहरू गरिरहेको बताउँदै आगामी दिनका पनि यसलाई निरन्तरता दिने बताए ।

उनले प्रदेश सरकारले क्रिकेटका पूर्वाधार निर्माण गरिदिए त्यसको संरक्षण, रेखदेख र थप समृद्ध बनाउनका लागि क्यानले सहयोग गर्ने बताए । उनले कर्णालीमा आयोजना भइरहेको राष्ट्रिय महिला अन्डर–१९ प्रतियोगिताबाट राष्ट्रिय टिनको छनोट गरिने र सोही टिमले सन् २०२७ मा आयोजना हुने विश्वकपमा सहभागिता जनाउने जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख र उपविजेता टोलीले तीन लाख प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) लाई ४० हजार, उत्कृष्ट ब्याटरलाई २५ हजार, उत्कृष्ट बलरलाई २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई जनही तीन हजार प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप