जाह्नवीको अभिनयभन्दा शरीरमा क्यामरा केन्द्रित गरेको भन्दै विरोध, हलबाट हटाइए विवादित दृश्यहरू
सारांश
- चलचित्र 'पेद्दी' मा जाह्नवी कपुरको चरित्रलाई बोल्ड रूपमा प्रस्तुत गरिएको भन्दै दर्शकहरूको विरोधपछि विवादित दृश्यहरू हटाइएको छ ।
- निर्देशक बुच्ची बाबु सनाले केही दृश्यहरूले गलत सन्देश दिएको स्वीकार गर्दै दर्शकहरूसँग माफी मागेका छन् ।
- महिला पात्रको चित्रणबारे विवाद भए पनि 'पेद्दी' ले विश्वभरबाट ३०० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।
मुम्बई । साउथका सुपरस्टार राम चरण र बलिउड अभिनेत्री जाह्नवी कपुर अभिनीत चलचित्र ‘पेद्दी’ बक्स अफिसमा व्यावसायिक रूपमा निकै सफल भइरहेको छ ।
तर, यस फिल्ममा जाह्नवी कपुरको चरित्रलाई आवश्यकताभन्दा बढी बोल्ड रूपमा प्रस्तुत गरिएको भन्दै ठुलो विवाद खडा भएको थियो । दर्शकहरूको तीव्र विरोध र आलोचनापछि फिल्मका निर्देशक बुच्ची बाबु सनाले विवादित दृश्यहरू फिल्मबाट हटाइएको पुष्टि गरेका छन् ।
इन्डियन एक्सप्रेसलाई दिएको एक अन्तर्वार्तामा निर्देशक बुच्ची बाबु सनाले फिल्मका केही दृश्यहरूले दर्शकमाझ गलत र भ्रमपूर्ण सन्देश प्रवाह गरेको स्वीकार गरेका छन् । यसअघि नै उनले सामाजिक सञ्जालमार्फत दर्शकहरूसँग सार्वजनिक रूपमा माफी समेत मागिसकेका छन् ।
विवाद बढ्दै गएपछि निर्देशक बुच्ची बाबु सनाले अन्तर्वार्तामार्फत आफ्नो प्रष्टीकरण दिएका हुन् । उनले भनेका छन्, ‘धेरै मानिसहरूले जाह्नवी कपुरको चरित्रलाई गलत बुझे । यस फिल्ममा मुख्य पात्र एक अत्यन्तै पिछडिएको पहाडी क्षेत्रबाट आउँछ । म उसको चरित्रको सीधापन र त्यहाँको वातावरणलाई पर्दामा देखाउन चाहन्थेँ । ऊ जुन केटीलाई माया गर्छ, उसैसँग विवाह गर्न चाहन्छ । यही प्रक्रियालाई देखाउने क्रममा केही दृश्यहरूले गलत सन्देश दिइरहेका थिए । हामीले आफ्नो गल्ती सुधार्दै ती सबै दृश्यहरूलाई फिल्मबाट हटाएका छौँ ।’
फिल्म प्रदर्शनमा आएपछि दर्शकहरूले जाह्नवी कपुरले निभाएको ‘अचियम्मा’ नामक चरित्रलाई पर्दामा देखाउने शैलीप्रति कडा आपत्ति जनाएका थिए । सामाजिक सञ्जालमा धेरैले क्यामराले जाह्नवीको अभिनय र भावभङ्गीभन्दा पनि उनको शारीरिक बनावटलाई बढी फोकस गरेको भन्दै आलोचना गरेका थिए । यसका साथै फिल्ममा राम चरण र जाहन्वीबीच खिचिएका केही रोमान्टिक दृश्यहरूलाई लिएर पनि दर्शकहरूले विरोध जनाएका थिए ।
यसअघि बुच्ची बाबुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट लेख्दै दर्शकसँग माफी मागेका थिए । उनले लेखेका थिए, ‘मेरो मनमा अन–स्क्रिन र अफ–स्क्रिन दुवै तर्फका महिलाहरूका लागि सधैँ उच्च सम्मान छ । कुनै पनि महिला पात्रलाई गलत तरिकाले देखाउने हाम्रो उद्देश्य कहिल्यै थिएन । यदि फिल्मको कुनै अंशले मानिसहरूको भावनामा ठेस पुर्याएको छ भने हामी इमानदारीपूर्वक माफी माग्दछौँ । हरेक महिला सम्मानको हकदार छन् ।’
महिला पात्रको चित्रणलाई लिएर यति ठुलो विवाद भए पनि फिल्म ‘पेद्दी’ को बक्स अफिस कलेक्सनमा भने यसको कुनै नकारात्मक असर देखिएको छैन । फिल्मले विश्वभरबाट ३०० करोड रुपैयाँभन्दा बढीको सानदार कमाइ गरिसकेको छ । यो एक स्पोर्ट्स एक्सन ड्रामा फिल्म हो, जसमा राम चरण र जाह्नवी कपुरका साथै जगपति बाबु, शिव राजकुमार, दिव्यन्दु र बोमन इरानीले पनि मुख्य भूमिका निभाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी
-
सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा हर्क साम्पाङको ‘डिस्टर्ब’
-
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३३ जना बनिसके मन्त्री
-
रास्वपा कोशी प्रदेश सभापतिका लागि ८ जनाको उम्मेदवारी
-
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
-
अमेरिकी आक्रमणपछि वार्ताबारे पुनरावलोकन गर्दै इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण