बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

हरेक ७० जनामध्ये एक जना जबरजस्ती विस्थापित, सबैभन्दा धेरै शरणार्थी यी ७ देशका

बिहीबार, २८ जेठ २०८३, १२ : १५
बिहीबार, २८ जेठ २०८३

सारांश

  • संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले द्वन्द्व, हिंसा, मानवअधिकार उल्लङ्घन तथा उत्पीडनका कारण विश्वभर कम्तीमा ११ करोड ७८ लाख मानिस जबरजस्ती विस्थापित भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
  • पछिल्लो १० वर्षमा पहिलो पटक जबरजस्ती विस्थापनको कुल सङ्ख्या घटेको छ, जसको मुख्य कारण ठुला सङ्कटबाट विस्थापित शरणार्थी तथा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू घर फर्किनु हो ।
  • विश्वका कुल शरणार्थीमध्ये ७२ प्रतिशत भेनेजुएला, प्यालेस्टाइन, युक्रेन, सिरिया, अफगानिस्तान, सुडान र दक्षिण सुडान गरी सात देशबाट आएका छन् ।

जेनेभा । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च–आयुक्तको कार्यालय (यूएनएचसीआर) ले विश्वभर कम्तीमा ११ करोड ७८ लाख मानिस द्वन्द्व, हिंसा, मानवअधिकार उल्लङ्घन तथा उत्पीडनका कारण जबरजस्ती विस्थापित भएको उल्लेख गरेको छ । 

 यो सङ्ख्या विश्वका प्रत्येक ७० जनामध्ये एक जनाको बराबर भएको यूएनएचसीआरले आज सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । 

पछिल्लो १० वर्षमा पहिलो पटक जबरजस्ती विस्थापनको कुल सङ्ख्या भने घटेको प्रतिवेदनमा उल्लेख छ।  

 विश्वका ठुला सङ्कटबाट विस्थापित शरणार्थी तथा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आईडीपी) ठुलो सङ्ख्यामा घर फर्किन थालेपछि यो सुधार देखिएको रिपोर्टमा उल्लेख छ । 

सन् २०२५ मा विस्थापितहरूको सङ्ख्या करिब ४ प्रतिशतले घटे पनि लेबनानमा तीव्र रूपमा बढिरहेको सङ्कटले यस प्रगतिलाई ओझेलमा पारेको छ । सन् २०२६ को मार्च अन्त्यतिर अमेरिका–इजरायल युद्ध इरानमा सुरु भएयता इजरायली आक्रमणका कारण १० लाखभन्दा बढी मानिस जबरजस्ती विस्थापित भएका छन् । त्यसैगरि, इरानभित्र मात्र थप ३२ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् ।

६ करोड ८६ लाख मानिस आफ्नै देशभित्रका द्वन्द्व वा अन्य सङ्कटका कारण आन्तरिक रूपमा विस्थापित छन् ।

करिब २ करोड ८५ लाख शरणार्थी यूएनएचसीआरको संरक्षणअन्तर्गत छन् ।

९० लाख व्यक्ति शरण खोजिरहेका (आश्रय) छन् । उनीहरू अर्को देशमा सुरक्षा माग्दै निर्णयको प्रतीक्षा गरिरहेका छन् ।

७२ लाख मानिस अन्तर्राष्ट्रिय संरक्षणको आवश्यकता भएका समूहमा पर्छन् ।

६० लाख प्यालेस्टिनी शरणार्थी संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए)को संरक्षणअन्तर्गत छन् ।

शरणार्थीहरू मुख्यतः कहाँबाट आएका छन् ?

विश्वका कुल शरणार्थीमध्ये ७२ प्रतिशत केवल सात देशबाट आएका छन्ः

भेनेजुएला – ६४ लाख

प्यालेस्टाइन – ६० लाख

युक्रेन – ५२ लाख

सिरिया – ४९ लाख

अफगानिस्तान – ३७ लाख

सुडान – २८ लाख

दक्षिण सुडान – २४ लाख

अन्तर्राष्ट्रिय कानुनअनुसार उत्पीडन, ज्यानको खतरा, शारीरिक सुरक्षामा जोखिम वा स्वतन्त्रतामाथिको आक्रमणबाट बच्न आफ्नै देश छाड्न बाध्य भएका व्यक्तिलाई शरणार्थी मानिन्छ ।

सबैभन्दा धेरै शरणार्थी कुन देशले आश्रय दिएका छन् ?

विश्वका एक तिहाइभन्दा बढी शरणार्थी केवल सात देशमा बसोबास गरिरहेका छन्ः

कोलम्बिया – २८ लाख

जर्मनी – २७ लाख

टर्किए – २४ लाख

युगान्डा – १९ लाख

इरान – १७ लाख

चाड – १५ लाख

पाकिस्तान – १३ लाख

छिमेकी मुलुकमा बढी आश्रित छन् शरणार्थी 

विश्वभरका करिब ६५ प्रतिशत शरणार्थी तथा अन्तर्राष्ट्रिय संरक्षण आवश्यक भएका व्यक्तिहरू आफ्नै देशको छिमेकी राष्ट्रमा बसिरहेका छन् । इरान र पाकिस्तानमा रहेका अधिकांश शरणार्थी अफगानी हुन् भने टर्कीमा धेरैजसो सिरियाली शरणार्थी छन् । कोलम्बियामा भेनेजुएली शरणार्थीको बाहुल्य छ भने जर्मनीले ठुलो सङ्ख्यामा युक्रेनी, सिरियाली र अफगानी शरणार्थीलाई आश्रय दिएको छ । युगान्डामा दक्षिण सुडानी र चाडमा सुडानी शरणार्थीहरू सबैभन्दा ठुलो समूह हुन् ।

विश्वव्यापी विस्थापनको इतिहास

दोस्रो विश्वयुद्धपछि युरोपका शरणार्थीहरूको अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले सन् १९५१ मा शरणार्थी महासन्धि स्थापना गरेको थियो । सन् १९६७ मा यसलाई विश्वका अन्य भागमा पनि लागू गरियो ।

महासन्धि लागू हुँदा विश्वमा २१ लाख शरणार्थी थिए । सन् १९८० सम्म आइपुग्दा यो सङ्ख्या पहिलो पटक एक करोड नाघ्यो । १९८० को दशकमा अफगानिस्तान र इथियोपियाका युद्धहरूले शरणार्थी सङ्ख्या दोब्बर बनाउँदै १९९० सम्म दुई करोड पुर्‍यायो ।

त्यसपछिका दुई दशकमा सङ्ख्या तुलनात्मक रूपमा स्थिर रह्यो । तर सन् २००१ मा अफगानिस्तानमाथि अमेरिकी आक्रमण, २००३ मा इराक युद्ध तथा दक्षिण सुडान र सिरियाका गृहयुद्धका कारण सन् २०२१ को अन्त्यसम्म शरणार्थी सङ्ख्या तीन करोडभन्दा बढी पुग्यो ।

सन् २०२२ मा सुरु भएको युक्रेन युद्धले दोस्रो विश्वयुद्धयताकै तीव्र शरणार्थी सङ्कट निम्त्यायो। एक वर्षभन्दा कम समयमा ५७ लाख मानिस युक्रेन छाड्न बाध्य भए ।

सन् २०२३ मा सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सबीचको द्वन्द्वले थप १५ लाख शरणार्थी जन्मायो ।

त्यही वर्ष गाजामाथिको इजरायली बमबारीले प्यालेस्टिनी जनतामाथि विनाशकारी असर पार्‍यो । गाजाका २३ लाख बासिन्दामध्ये लगभग सबै विस्थापित भए र धेरैले पटक–पटक स्थान परिवर्तन गर्नुपर्‍यो ।

हालै अमेरिका–इजरायल युद्ध इरानमा फैलिनु तथा इजरायल–हिजबुल्लाहबीच पुनः आक्रमण सुरु भएपछि लेबनानमा नयाँ विस्थापन सङ्कट उत्पन्न भएको छ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई व्यापक रूपमा स्थानान्तरण आदेश जारी गर्दै हवाई आक्रमणसँगै स्थल आक्रमण पनि थालेको छ ।

शरणार्थीहरूको घर फिर्तीमा ऐतिहासिक वृद्धि

सन् २०२५ मा आफ्नै घर फर्किने शरणार्थी र आन्तरिक विस्थापितहरूको सङ्ख्या सन् २०२४ को तुलनामा ५० प्रतिशतले बढेर १ करोड ४७ लाखभन्दा माथि पुगेको छ । यूएनएचसीआरका अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठुलो घर फिर्तीको लहर हो ।

घर फर्किनेहरूमध्ये ९२ प्रतिशत केवल छ देशका थिए:

प्रजातान्त्रिक गणतन्त्र कङ्गो – ३६ लाख

सुडान – ३६ लाख

सिरिया – ३३ लाख

अफगानिस्तान – २० लाख

युक्रेन – ७ लाख १८ हजार ३००

म्यानमार – ४ लाख १५ हजार २००

तर यूएनएचसीआरले चेतावनी दिएको छ कि धेरै मानिस अझै पनि हिंसा र संकटग्रस्त क्षेत्रमा फर्किरहेका छन् । त्यसैले उनीहरूको सुरक्षाबारे गम्भीर प्रश्नहरू उठिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप