बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको गल्तीमा परराष्ट्रमन्त्रीको प्रष्टीकरण चित्त बुझ्दो भएन भन्दै कांग्रेस सांसदले सुनाइन कविता

बिहीबार, २८ जेठ २०८३, १२ : ३७
बिहीबार, २८ जेठ २०८३

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते नेपालले भारतको सिमाना मिचेको छ भन्ने अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको प्रष्टीकरण चित्तबुझ्दो नरहेको बताएकी छिन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले खनालको प्रष्टीकरणप्रति चित्त बुझेन भन्दै  ‘देश बिर्सिएको दिन’ शीर्षकमा कविता नै सुनाएकी छन् । 

यस्तो छ उनको कविता 

देश बिर्सिएको दिन 
तिमीले देश बनाउँछु भन्यौ  
म ढुक्क थिएँ   
तर एकाएक  
तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै
आफ्नै आमाको
अस्मितामाथि औँला उठायौ  !

माटो छोएर कसम खायौ   
तर 
त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ  
अनि आमाको महिमा गाइरह्यौ  
तर सन्तान हुनुको कर्तव्य भुल्यौ   
काख र कोखको माया बिर्सियौ   ! 

त्यसैले आज म ढुक्क होइन 
मेरो मन देशको चिन्ताले 
ढुकढुक भइरहेको छ । । 

स्वार्थले प्रेरित भएपछि
सायद धेरै कुरा बिर्सन सकौला
तर नबिर्स  
तिमीमाथि असीम भरोसा बोकेर
मतको भारी बिसाउने जनतालाई नबिर्स  
जनता उभिएको माटोलाई नबिर्स  
तिमीलाई आशिष दिने 
 ति बा–आमालाई नबिर्स  !!!

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने  
एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ  
र जुन दिन देश बिर्सिन्छौ  
त्यो दिन 
तिमि कसको शासक बन्नेछौ ?
भन 
त्यो दिन तिमि 
कसको शासक बन्नेछौ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप