नेहरुदेखि मोदीसम्मले नगरेको दाबी हाम्रा प्रधानमन्त्रीले गर्नु लज्जास्पद : सांसद खड्का
सारांश
- कांग्रेस सांसद भरत खड्काले नेपालका प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको दाबी गर्नु लज्जास्पद भएको बताएका छन् ।
- उनले भारत स्वतन्त्र भएदेखि अहिलेसम्मका कुनै पनि भारतीय प्रधानमन्त्रीले यस्तो दाबी नगरेको स्मरण गराए ।
- खड्काले प्रधानमन्त्रीलाई तथ्यहरू अध्ययन गरी आफ्नो भूभाग मिचिएको सत्य स्वीकार्न सुझाव दिएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद भरत खड्काले भारत स्वतन्त्र भएपछि अहिलेसम्म भएका भारतीय प्रधानमन्त्रीहरूले नगरेको नेपालले भारतको भूमि मिचेको दाबी नेपालका प्रधानमन्त्रीले गर्नु नेपालीका लागि लज्जास्पद भएको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका खड्काले नेपालको इतिहासमा नलेखिएको र छिमेकीसमेतले नगरेको दाबी नेपालका प्रधानमन्त्रीले गर्नु लज्जास्पद भएको बताएका हुन् ।
‘सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि जवाहरलाल नेहरुदेखि नरेन्द्र मोदीसम्म दर्जनौँ प्रधानमन्त्री फेरिए पनि कसैले पनि नेपालले भारतको जमिन मिचेको दाबी गरेका छैनन्,’ खड्काले भने, ‘हाम्रो इतिहासमा नलेखिएको र छिमेकीले समेत नगरेको दाबी हाम्रै प्रधानमन्त्रीले गर्नु लज्जास्पद छ ।’ प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवार भनाइले ३ करोड नेपालीको चित्त दुखाएको र राष्ट्रिय स्वाभिमानमा चोट पुर्याएको खड्काले बताए ।
खड्काले २०७२ सालमा चीन र भारतले लिपुलेकका विषयमा सम्झौता गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दुवै देशलाई कूटनीतिक नोट पठाएर विरोध गरेको ऐतिहासिक तथ्यसमेत प्रस्तुत गरे । ‘उहाँको साहसले गर्दा भारतले उहाँलाई औपचारिक निमन्त्रणा दिएरै कुरा सुन्नुपरेको थियो, तर आज हाम्रा प्रधानमन्त्री आफ्नै देशलाई दोषी देखाउन खोज्दै हुनुहुन्छ,’ खड्काले भने ।
नेपाल र भारतबिच गठित प्रबुद्ध समूहको प्रतिवेदनमा ९७ प्रतिशत समस्या समाधान भएको र बाँकी ३ प्रतिशतमा लिम्पियाधुरा, कालापानी र सुस्ता जस्ता विवादित क्षेत्र रहेको उल्लेख गर्दै खड्काले ती प्रमाणहरू अध्ययन गर्न प्रधानमन्त्रीलाई सुझाव दिए । ‘प्रधानमन्त्रीलाई ती तथ्यहरूबारे जानकारी गराउनु आवश्यक छ, नेपालले मिचेको होइन, हाम्रै भूभाग मिचिएको छ,’ खड्काले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसंघीय विज्ञहरूद्वारा अफगान प्रहरीले महिलामाथि गरेको दमनको निन्दा
-
केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग
-
असंलग्नता र समकालीन नेपालको भू–राजनीतिक सङ्कट
-
स्रोत नखुलेको ८ लाख रकमसहित पक्राउ
-
इरान युद्धको असर: खुम्चियो बेलायतको अर्थतन्त्र
-
विगत देखाएर अहिलेको बदमासीबाट उम्किन पाइँदैन : सांसद बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण