बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो

बिहीबार, २८ जेठ २०८३, १९ : ४१
बिहीबार, २८ जेठ २०८३

सारांश

  • काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अनुमतिबिना सार्वजनिक स्थलमा ठुलो पर्दामा विश्वकप फुटबलका खेलहरू प्रदर्शन गर्न रोक लगाएको छ।
  • विश्वकपका खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने सङ्घ-संस्था वा कम्पनीहरूले अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्नेछ।
  • अनुमतिबेगर रातको समयमा भिडभाड गर्ने वा अमर्यादित क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमतिबिना सार्वजनिक स्थलमा ठुलो पर्दा  राखेर विश्वकप फुटबलका खेलहरू प्रदर्शन गर्न रोक लगाएको छ। 

बिहीबारदेखि सुरु हुन लागेको 'फिफा विश्वकप फुटबल २०२६' का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने सङ्घ-संस्था वा कम्पनीहरूले अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने प्रशासनले जनाएको छ। 

बिहीबार एक सूचना जारी गर्दै प्रशासनले रातको समयमा ठुलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पार्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न सचेत गराएको छ।

प्रशासनका अनुसार खेलको प्रत्यक्ष प्रसारण गर्न इच्छुक सङ्घ-संस्थाले निर्धारित ढाँचामा निवेदन दिनुपर्नेछ । निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। 

प्राप्त निवेदनमाथि संस्था रहेको स्थान र सुरक्षा संवेदनशीलताको विश्लेषण गरी मात्र अनुमति दिइने सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए। 

सूचनाको अवज्ञा गरी कसैले अनुमतिबेगर रातको समयमा भिडभाड गर्ने, अमर्यादित, उच्छृङ्खल वा गैर कानुनी क्रियाकलाप गरेको पाइएमा तत्काल प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

715500793_1370292351815530_414567689947537962_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप