शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेतीको समयमा मल नपाएको भन्दै एमाले सांसद राईद्वारा सरकारको आलोचना

शुक्रबार, २९ जेठ २०८३, १२ : ५३
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले धनकुटाका किसानले मुख्य खेतीको समयमा मल नपाएको भन्दै सरकारको आलोचना गरेका छन् ।
  • सांसद राईले मल अभावका कारण धनकुटाका किसानहरू सरकारसँग रुष्ट र आक्रोशित रहेको बताए ।
  • उनले सुरक्षित नागरिक आवास कार्यक्रमको बजेट निकासा नहुँदा गरिब जनता मर्कामा परेको विषय पनि उठाए ।

काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले धनकुटाका किसानले मुख्य खेतीको समयमा समेत रासायनिक मल नपाएको भन्दै सरकारको आलोचना गरेका छन्। 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले मल अभावका कारण धनकुटाका किसानहरू सरकारसँग निकै रुष्ट र आक्रोशित रहेको बताएका हुन् । 

धनकुटाका ७ वटा स्थानीय तहका किसानहरू अहिले धान रोप्ने र मकै गोड्ने तीव्र तयारीमा रहे पनि मल नपाउँदा ठुलो मर्कामा परेको उनले उल्लेख गरे। संसद्को शून्य र आकस्मिक समयमा पटक–पटक जनसरोकारका प्रश्नहरू उठाइए पनि सरकारले त्यसको कुनै वास्ता नगरेको आरोप उनले लगाए।

सांसद राईले संसद्‌मा बोल्दै भने, ‘१ लाख ५० हजारभन्दा बढी जनसङ्ख्या रहेको धनकुटामा किसानहरूले यतिबेला मलरूपी अमृत खोजिरहेका छन्। जनताको हितमा काम गर्ने वाचा गरेर बनेको सरकारले खेतीको मुख्य समयमा मल उपलब्ध गराउन नसक्नु दुःखद् छ। धनकुटाका जनताले कहिले मल पाउँछन्? यसको जवाफ सरकारले तत्काल दिनुपर्छ। यदि मल उपलब्ध गराइएन भने यसको परिणाम गम्भीर हुनेछ।’

मल अभावका साथै सांसद राईले सरकारको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गतको बजेट निकासा नहुँदा गरिब जनता चरम मर्कामा परेको विषय समेत जोडदार रूपमा उठाए। विगतको सरकारले ल्याएको फुस तथा खरको छाना विस्थापित गरी जस्तापाता लगाउने योजनाअनुसार सर्वसाधारणले ऋणधन गरेर घर बनाए पनि सरकारले दिने भनेको अनुदान रकम हालसम्म उपलब्ध नगराएकोमा उनले तीव्र गुनासो गरे।

विगतको योजना र सरकारी आश्वासनकै भरमा जनताले धमाधम आफ्ना घरका खरका छाना हटाइसकेको तर अहिलेसम्म टिनको छाना लगाउनका लागि दिने भनिएको पैसा सरकारले रोकेर राखेको भन्दै उनले प्रश्न गरे। जनतालाई आश्वासन दिएर अलपत्र पार्ने र किसानका आधारभूत आवश्यकता पूरा गर्न नसक्ने हो भने सुशासनको गफ मात्र हाँक्नुको कुनै अर्थ नहुने सांसद राईको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप