बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

विपद् जोखिम घटाउन पाँच पालिकामा पूर्वतयारी अभियान

बिहीबार, २८ जेठ २०८३, १७ : ३४
बिहीबार, २८ जेठ २०८३

कञ्चनपुर । कञ्चनपुरका पाँच स्थानीय तहमा विपद् पूर्वतयारीलाई समुदायस्तरसम्म विस्तार गर्ने अभियान सञ्चालन गरिएको छ।

सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले वडा तहका विपद् व्यवस्थापन समितिलाई सशक्त र क्रियाशील बनाउन विभिन्न कार्यक्रम अघि बढाइएका छन्।

बाढी, डुबान, अत्यधिक गर्मी (लू) र आगलागीका घटना बाट हुने क्षति न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको छ। विपद्को उच्च जोखिममा रहेका शुक्लाफाँटा, भीमदत्त, बेलौरी र पुनर्वास नगरपालिका तथा लालझाडी गाउँपालिकाका वडास्तरीय विपद् व्यवस्थापन समितिका सदस्यलाई उद्धार, प्राथमिक उपचार, पूर्वसूचना प्रणाली सञ्चालन, राहत व्यवस्थापन तथा विपद् सचेतनासम्बन्धी अभिमुखीकरण प्रदान गर्न थालिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण सङ्घ (पेसवान) र प्राक्टिकल एक्सनको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ अन्तर्गत स्थानीय तहसँगको सहकार्यमा अभियान सञ्चालन गरिएको हो ।

पेसवानका प्राविधिक सुपरभाइजर जनक लेखकका अनुसार जलवायु परिवर्तनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वडास्तरीय समितिलाई प्रशिक्षण दिइएको हो।

“विपद् भएपछि मात्र उद्धारमा जुट्नेभन्दा पनि त्यसअघि समुदायलाई तयारी अवस्थामा राख्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “त्यसैअनुसार पूर्वसूचना, उद्धार, प्राथमिक उपचार र राहत व्यवस्थापनसँग सम्बन्धित समूहलाई सक्रिय बनाउने काम भइरहेको छ।”

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तोकेका मापदण्डअनुसारका उद्धार सामग्रीसमेत समितिलाई उपलब्ध गराइनेछ । ती सामग्रीको प्रयोग तथा व्यवस्थापनबारे व्यावहारिक अभ्यास गराउने कार्य पनि जारी छ।

कार्यक्रममार्फत बाढी, आगलागी र तातो हावाबाट जोगिन अपनाउनुपर्ने सावधानी तथा पूर्वतयारीबारे विपद् विज्ञहरूले जानकारी दिइरहेका छन् । खोज तथा उद्धारमा प्रयोग हुने उपकरणको प्रयोगबारे समेत प्रशिक्षण प्रदान गरिएको छ।

विपद् विज्ञ प्रभूनिधि पन्तले स्थानीय विकास योजना निर्माण गर्दा जोखिम मूल्याङ्कन र जलवायु अनुकूलनलाई अनिवार्य रूपमा समेट्नुपर्ने आवश्यकता औँल्याए। “दिगो विकासका लागि योजना निर्माणको चरणमै जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्छ”, उनले भने, “जलवायु परिवर्तन र विपद् व्यवस्थापनका विषयलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्न सके मात्र दीर्घकालीन उपलब्धि हासिल गर्न सकिन्छ ।”

कार्यक्रमअन्तर्गत पाँचवटै पालिकाका १७ समुदायमा बाढीजन्य विपद्सम्बन्धी कृत्रिम अभ्यास (मक ड्रिल) सम्पन्न गरिएको छ । सम्भावित बाढीको सूचना प्रवाह, सुरक्षित स्थानमा स्थानान्तरण, उद्धार परिचालन तथा राहत वितरणका प्रक्रियाबारे समुदायस्तरमै अभ्यास गराइएको जनाइएको छ।

जोखिम न्यूनीकरणलाई व्यवहारमा उतार्न विभिन्न संरचनात्मक तथा वातावरणीय उपायसमेत अवलम्बन गरिएका छन् । कार्यक्रम अन्तर्गत नदी कटानबाट प्रभावित क्षेत्रमा जैविक तटबन्ध निर्माण गरिएको छ भने बेलौरी र भीमदत्त नगरपालिकामा विपद्का बेला आश्रय लिन सकिने ‘सेफ हाउस’ निर्माणको काम अघि बढाइएको छ। नदी किनारका क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ।

त्यसैगरी गर्मीको प्रभाव कम गर्न सार्वजनिकस्थलमा चौतारा निर्माण गर्ने योजना पनि समावेश गरिएको छ। विद्यालयस्तरमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी विषयलाई विद्यालय सुधार योजनासँग आबद्ध गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले समुदायमा आधारित यस्ता कार्यक्रमले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

“जलवायु परिवर्तनका असर गाउँ–बस्तीमै प्रत्यक्ष देखिन थालेका छन्”, उनले भने, “समयमै जनचेतना, सीप र समन्वय बढाउन सकियो भने विपद्का कारण हुने क्षति उल्लेखनीय रूपमा घटाउन सकिन्छ । स्थानीय तह, समुदाय र विकास साझेदारबीचको सहकार्य अहिलेको आवश्यकता हो ।”

समुदायको सहभागितामा सञ्चालन भइरहेका यस्ता पूर्वतयारी कार्यक्रमले स्थानीयवासीको क्षमता विकासका साथै विपद्का बेला छिटो र प्रभावकारी प्रतिक्रिया दिन सहयोग पुग्ने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप