बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँमा हुने भयो रास्वपा बागमतीको चुनाव, ४ जना चुनावी मैदानमा

बिहीबार, २८ जेठ २०८३, १७ : ५५
बिहीबार, २८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको स्थगित निर्वाचन आगामी जेठ ३० गते बुधबार काठमाडौँको धुम्बाराहीस्थित 'स्मार्ट दरबार' (शंख पार्क) मा हुने भएको छ।
  • विद्युतीय मतदान मेसिन प्रयोग गरिने यस निर्वाचनमा रास्वपा बागमती प्रदेश समितिको सभापतिका लागि ४ जनाको उम्मेदवारी कायम भएको छ।
  • सदस्य पदका लागि ८८ जनाको उम्मेदवारी परेको छ भने उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको चुनावको मिति पुनः तोकिएको छ । बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गतको स्थगित निर्वाचन प्रक्रिया आगामी जेठ ३० गते बुधबार सञ्चालन हुने भएको हो।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै निर्वाचनको नयाँ कार्यतालिका र मतदान सम्बन्धी विवरण सार्वजनिक गरेको हो। यसअघि जेठ २७ गते प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित गरिएको निर्वाचन प्रक्रियाअन्तर्गतका सम्पूर्ण प्राविधिक कार्यहरू (मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन र प्राविधिक परीक्षण) सम्पन्न गरेर आयोगले मतदानको मिति तय गरेको हो।

आयोगका अनुसार मतदान जेठ ३० गते बिहान ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म काठमाडौँको धुम्बाराहीस्थित ‘स्मार्ट दरबार’ (शंख पार्क) मा हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। उनका अनुसार उक्त निर्वाचनको मतदान प्रक्रिया पूर्ण रूपमा विद्युतीय मतदान मेसिन मार्फत सञ्चालन गरिने छ।

निर्वाचन आयोगले मतदानमा सहभागी हुने प्रतिनिधिहरूका लागि मतदान स्थलमा प्रवेश गर्न र मतदान गर्नका लागि पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र र लेभी बुझाएको प्रमाण अनिवार्य गरेको छ भने तोकिएको समय भित्रै मतदान केन्द्रमा उपस्थित भई मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ।

विद्युतीय मतदान मेसिन प्रयोग गर्ने तरिकाबारे मतदान स्थलमा स्वयंसेवक र निर्वाचन अधिकृतहरूले जानकारी गराउने व्यवस्था गरिएको छ भने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न उम्मेदवार तथा प्रतिनिधिहरूलाई अपिल गरेको छ।

रास्वपा बागमती प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि गत सोमबार हेटौँडामा अधिवेशन आयोजना गरिएको थियो । सोमबारबाट सुरु भएको अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया प्रारम्भ भएर ५ जनाले मतदान गरेसँगै निर्वाचनको कार्यक्रम रोकिएको थियो । प्रतिनिधि तथा मतदाता नामावली र उम्मेदवारका विषयमा विवाद हुँदा निर्वाचन कार्यक्रम स्थगित भएको थियो।

रास्वपा बागमती प्रदेश समितिको नेतृत्वको लागि ४ जनाको उम्मेदवारी कायम भएको छ । ५ जनाको उम्मेदवारी परे पनि एक जनाले उम्मेदवारी फिर्ता गरेका थिए। 

रास्वपा बागमतीको सभापतिका लागि सांसद एवम् निवर्तमान सभापति डा. अच्युतम लामिछाने (नुवाकोट), निवर्तमान प्रवक्ता उत्सव अर्याल (मकवानपुर), कृष्णमान श्रेष्ठ (धादिङ) र हरि बहादुर खत्री (रामेछाप)ले उम्मेदवारी दिएका छन् । सांसद बदन भण्डारीले भने उम्मेदवारी दिएर फिर्ता गरेका थिए।

रास्वपा बागमती प्रदेशको सदस्य पदका लागि भने ८८ जनाको उम्मेदवारी परेको छ । विभिन्न क्लस्टर तथा निर्वाचन क्षेत्र अनुसारका सदस्यका लागि ८८ जनाको उम्मेदवारी परेको हो।

रास्वपा बागमती प्रदेशको उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका लागि भने दोस्रो चरणमा निर्वाचन हुनेछ । उक्त दलमा उम्मेदवार बन्न सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था रहेकाले दोस्रो चरणमा पुन निर्वाचन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप