शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रौतहटमा एक वृद्धा मृत फेला, हत्या भएको आशंका

शुक्रबार, २९ जेठ २०८३, १२ : ०३
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • रौतहटको परोहा नगरपालिका–७ नरकटिया गाउँमा ७० वर्षीया वृद्धा लखपतिया देवी मृत फेला परेकी छन्।
  • स्थानीयले वृद्धाको सुनका गहना लुटपाट गरी घाँटी थिचेर हत्या गरेको आशंका गरेका छन्।
  • पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

रौतहट । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–७ नरकटिया गाउँकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन्।

स्थानीय दीपनारायण पटेलकी ७० वर्षीय श्रीमती लखपतिया देवी शुक्रबार बिहान खेतबारी हेर्न गएको अवस्थामा गाउँनजिकै रहेको कुलो छेउको खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासीले उनको सुनका गहना लुटपाट गरी घाँटी थिचेर हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। वृद्धाको मृत्युको खबर फैलिएसँगै गाउँ शोकमग्न बनेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतम रातोपाटीसँग कुरा गर्दै मृतकको नाकबाट रगत बगेको देखिए पनि शरीरमा अन्य कुनै चोटपटक फेला न परेको बताएका छन्। उनले मृतकले लगाएको सुनको नाकको फुली नाकमा नरहेको भन्ने आशंका स्थानीयबाट आएको जानकारी दिएका छन्।

‘शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै घटनाको वास्तविक कारण खुल्नेछ,’ प्रवक्ता गौतमले जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। हाल लुटपाट, हत्या वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने विषयमा यकिन गर्न नसकिने प्रहरीको भनाइ रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप