शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन दिने नेपाल भ्रमण पूरा गरी भारतीय उच्च अदालतका पूर्वन्यायाधीश यादव स्वदेश फिर्ता

शुक्रबार, २९ जेठ २०८३, १८ : ०६
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • भारतीय उच्च अदालतका पूर्वन्यायाधीश रवीन्द्र सिंह यादव तीन दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
  • उनले नेपाल र भारतबिचको सम्बन्धलाई अझ बलियो बनाउन दुई देशका जनता-जनताबिचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए।
  • पूर्वन्यायाधीश यादवले भारतमा बसोबास गर्ने नेपाली यादव समुदायलाई कानुनी समस्या परेमा निःशुल्क कानुनी परामर्श र सहयोग दिने घोषणा गरेका छन्।

काठमाडौँ । भारतीय उच्च अदालतका पूर्वन्यायाधीश रवीन्द्र सिंह यादव तीन दिने नेपाल भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन्। 

अखिल भारतवर्षीय यादव महासभाका राष्ट्रिय अध्यक्ष समेत रहेका उनी नेपाल बसाइका क्रममा केही उच्चस्तरीय भेटघाट र सामाजिक संवादहरू सम्पन्न गरेर फर्किएका हुन्।

नेपाल र भारतबिच सदियौँदेखिको ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै उनले यसलाई अझ बढी बलियो र प्रगाढ बनाउनका लागि दुई देशका जनता-जनताबिचको सम्बन्ध सुमधुर हुनु आवश्यक रहेको बताए। विशेष गरी दुई देशमा छरिएर रहेका यादव समुदायबिचको आपसी भाइचारा र सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

नेपाल भ्रमणकै अवसरमा पूर्वन्यायाधीश यादवले भारतमा बसोबास गर्ने नेपाली यादव समुदायका लागि एउटा महत्त्वपूर्ण घोषणा समेत गरेका छन्। उनले भारत बसाइका क्रममा त्यहाँ रहेका नेपाली यादवहरूलाई कुनै पनि प्रकारको कानुनी समस्या आइपरेमा आफ्नो तर्फबाट निःशुल्क कानुनी परामर्श र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो व्यक्तिगत र संस्थागत पक्षबाट जे-जस्तो सहयोग आवश्यक पर्छ, त्यो गर्न आफू सधैँ तयार रहेको उनले स्पष्ट पारे।

नेपाल बसाइका क्रममा पूर्वन्यायाधीश रवीन्द्र सिंह यादव र ‘द मिसेज नेशनल’ की ब्रान्ड एम्बेस्डर अनिता यादवबिच विशेष भेटघाट र छलफल समेत भएको थियो। उक्त भेटघाटपछि ब्रान्ड एम्बेस्डर अनिता यादवले पूर्वन्यायाधीश यादवले नेपाल र नेपाली समुदायप्रति देखाएको सद्भाव र निःशुल्क कानुनी सहयोग गर्ने घोषणा सराहनीय रहेको जानकारी दिएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप