शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
संगीत

भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता

शनिबार, ३० जेठ २०८३, १४ : ००
शनिबार, ३० जेठ २०८३

सारांश

  • गायिका बबिता मानन्धरले दुई दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा सक्रिय रहँदै 'कलियुगकी राधा' नामक नयाँ गीत बजारमा ल्याएकी छन् ।
  • उनले हतारमा गीत ल्याएर संख्या बढाउनुभन्दा श्रोताको रुचिलाई बुझेर स्तरीय काम गर्नु उत्तम हुने धारणा व्यक्त गरेकी छन् ।
  • बबिताले क्षणिक चर्चाका लागि द्विअर्थी र अश्लील शब्दहरूको प्रयोग गर्ने तथा भाइरल हुने होडबाजीको कडा विरोध गर्दै सदाबहार गीतहरूले मात्र कलाकारलाई अमर बनाउने बताइन् ।

काठमाडौँ । बबिता मानन्धर नेपाली साङ्गीतिक क्षेत्रकी स्थापित गायिका हुन् । दुई दशकभन्दा बढी समयदेखि निरन्तर सुर र तालसँग रमाउँदै आएकी उनी यसलाई एउटा कलामात्र मान्दिनन् । हरेक दिन नयाँ पाठ सिक्न पाइने अनुभव गरेकी उनले सङ्गीतलाई जीवनको एउटा गतिलो विश्वविद्यालयको रूपमा लिएकी छन् ।

‘सङ्गीतमा जति गर्‍यो, त्यति नै आफूमा कमी महसुस हुन्छ,’ बबिताले कुराकानीको सुरुवातमै अनुभव सेयर गरिन्, ‘जति गाउँदै गयो, यो पो गर्नुपर्ने रहेछ भन्ने लाग्छ ।’

गायिका बबिताले पछिल्लो समय ‘कलियुगकी राधा’ बोलको गीत बजारमा ल्याएकी छन् । करिब एक वर्षको अन्तरालमा उनको नयाँ गीत आएको हो । यो ग्यापलाई उनी बजारको आर्थिक वास्तविकता र सिर्जनात्मक समीक्षाको रूपमा व्याख्या गर्छिन् ।

‘अहिलेको समयमा तुरुन्ता–तुरुन्तै गीत बजारमा ल्याउनु कलाकारका लागि सजिलो छैन’, उनले भनिन्, ‘एउटा गीत ल्यायो, त्यसले बजारमा स्थान पाएन भने अर्को गीत ल्याउन आर्थिक रूपमा निकै गाह्रो हुन्छ । कलाकारहरूका लागि लगानीको सुरक्षा र सिर्जनाको गुणस्तर दुवै महत्त्वपूर्ण हुन्छन् ।’

हतारमा गीत ल्याएर सङ्ख्या बढाउनुभन्दा श्रोताको रुचिलाई बुझेर स्तरीय काम गर्नु नै उत्तम हुने बबिताको धारणा छ । नयाँ गीत आएसँगै उनको चर्चा फेरि बजारमा चुलिएको छ । गीत उनले डान्सिङ नम्बरमा रोमान्टिक शैलीमा ल्याएकी छन्, जुन विगतका गीतभन्दा निकै फरक छ ।

‘श्रोता र दर्शकको चाहनाअनुसार एउटा उत्कृष्ट डान्सिङ नम्बर ल्याउने योजना बन्यो र जन्मियो कलियुगकी राधा,’ गीतको बारेमा उनले भनिन् । गीत ल्याउनु अघि उनले र उनको टिमले लामो गृहकार्य गरेको थियो ।

अचेल डान्सिङ नम्बर मेला–महोत्सवलाई लक्षित गर्दै बनाउने गरिन्छ । एक किसिमले मेला–महोत्सवमा जाने गायक गायिकाको यो बाध्यता पनि हो । तर बबिता भने आफ्नो गीत मेला–महोत्सवमा लक्षित नभएको स्पष्ट पार्छिन् । ‘यो जहाँ पनि गाउन मिल्ने खालको छ,’ उनले भनिन् ।

भर्खरै मात्र सिक्किमको गान्तोकमा आयोजित एक विशेष कार्यक्रमबाट फर्किएकी उनले त्यहाँ यो गीत प्रत्यक्ष प्रस्तुत गरेकी थिइन् । सिक्किमका मुख्यमन्त्री र नेपाल तथा भारतका अन्य स्थापित कलाकारहरूको उपस्थिति रहेको कार्यक्रममा गीतले पाएको प्रशंसा र प्रतिक्रियाले निकै उत्साहित बनाएको उनले बताइन् ।

आजको डिजिटल युगमा गीत–सङ्गीतको सफलतालाई युट्युबको ‘भ्युज’का आधारमा मापन गर्ने होडबाजी छ । त्यसैले बुस्ट गर्ने, भ्युज किन्ने गरिन्छ । बबिता भने अर्गानिक (रियल) भ्युजको पक्षमा छिन् । उनको नयाँ गीत ‘कलियुगकी राधा’ले ४ महिनामा युट्युबमा करिब चार लाख भ्युज पाएको छ । समय अवधि हेर्दा आफ्नो गीतको भ्युज थोरै भए पनि अर्गानिक भएको भन्दै उनी सन्तोष प्रकट गर्छिन् ।

‘हामीले कृत्रिम रूपमा गीतलाई अगाडि बढाउने कुनै प्रयास गरेनौँ’, बबिताले भनिन्, ‘गीतलाई बिस्तारै आफ्नै गतिमा अगाडि बढ्न दिएँ । भ्युज कम भए पनि वास्तविक हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

आजको सङ्गीत उद्योगमा श्रव्य (अडियो)मात्र नभएर दृश्य (भिडियो)को पनि उत्तिकै महत्त्व छ । अहिलेको समय सुन्नेभन्दा हेर्ने हो भन्ने कुरालाई बबिता पनि स्वीकार गर्छिन् । भिडियो नभई गीत श्रोतासम्म पुग्नै कठिन हुने भएकाले उनले गीतमा भिडियो निर्माण गरेकी छन् । तर, भिडियो निर्माणमा हुने ठुलो खर्च उठाउनु आजका दिनमा निकै चुनौती छ । उनले भनिन्, ‘गीत–सङ्गीतमा गरेको खर्च तुरुन्तै उठ्छ भन्ने हुँदैन । कुनै गीतको आफ्नै भाग्य हुन्छ, तुरुन्तै चल्छ । कुनैलाई समय लाग्छ ।’

616133678_2851766411678807_6915877846870076904_n

देश विदेशका स्टेज शोहरू र अन्य विविध कार्यक्रमहरूका माध्यमबाट लगानी उठाउन गाह्रो नहुने उनको अनुभव छ ।

  • बाल्यकालदेखि गायन

बबिताको सङ्गीत यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो । सुरुका दिनमा घरभित्रै गुनगुनाउने उनी एसएलसी दिएपछि स्टेजमा गाउन थलिन् । सङ्गीतमा लाग्दै जाँदा उनको पाइला व्यावसायिक सङ्गीततिर मोडियो । सुरुका दिनमा सानातिना कार्यक्रममा गीत गाउँदै गर्दा एक दिन उनी दिग्गज सङ्गीतकार शम्भुजित बास्कोटाको नजरमा परिन् ।

बास्कोटाले नै उनलाई ‘चलचित्र’ नामक फिल्ममा अवसर दिएर पार्श्व गायनमा डेब्यु गराए । पहिलो ब्रेक नै बबिताका लागि नेपाली सङ्गीत उद्योगको व्यावसायिक ढोका थियो । त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन । अहिलेसम्म उनले फिल्म तथा आधुनिक फुटकर र एल्बम गरेर पाँच सय जति गीतमा स्वर दिएकी छन् । ‘देउराली भाकै हजुर, देउ देउता भाकै हजुर’ र ‘बाँधिदिएँ मायाको डोरीले’ जस्ता थुप्रै गीतमार्फत उनी श्रोताको मनमा बस्न सफल भइन् ।

उनको साङ्गीतिक यात्राको कोसेढुङ्गा भनेको करिब १४ वर्षअघि गायक कमल खत्रीसँग गाएको ‘आत्मामा’ बोलको गीत हो, जुन गीत आज पनि नेपाली सङ्गीत प्रेमीहरूको मुखमा झुण्डिएको छ । अहिले पनि उनी जहाँ जान्छिन्, यो गीतका कारण चिनिन्छिन् ।

बबिताले भनिन्, ‘यो गीतले मलाई नेपाली सङ्गीत जगतमा एउटा बलियो र स्थायी पहिचान दियो ।’

  • सङ्गीतबाट जीवन चल्छ ?

सङ्गीत लागेर मात्र जीवन धान्न गाह्रो हुन्छ भन्ने धारणा समाजमा व्याप्त छ, तर बबिताको भोगाइ केही फरक छ । निरन्तरता र गुणस्तरीय काम गर्ने हो भने सङ्गीतले जीवन धान्न गाह्रो नहुने उनी तर्क राख्छिन् । यद्यपि, वर्तमान आर्थिक अनिश्चितताको समयमा एउटामात्र क्षेत्रमा निर्भर रहनुभन्दा वैकल्पिक व्यवसाय हुनु राम्रो हुने उनको धारणा छ ।

यसै सोचका साथ बबिताले आफ्नो साङ्गीतिक जीवनसँगै व्यवसायलाई पनि अगाडि बढाएकी छन् । करिब १०० जना महिलासँग मिलेर ‘प्लस साइज’का पहिरनहरू उत्पादन र बिक्रीमा उनको सक्रियता रहँदै आएको छ ।

क्यासेटको जमानाबाट गायन सुरु गरेकी बबिता आजको युट्युब र डिजिटल स्ट्रिमिङको जमानामा पनि सक्रिय छिन् । प्रविधिको यो विकासलाई नजिकबाट नियालिरहेकी उनले आफ्नो नामबाट युट्युब समेत खोलेकी छन् । उनको युट्युब च्यानलमा आफ्ना पुराना तथा नयाँ सिर्जनाहरू समेत राखेकी छन् ।

‘हिजोको समय र आजको समयमा निकै भिन्नता छ,’ उनले भनिन्,  ‘हाम्रो समयमा आजको जस्तो डिजिटल सुविधाहरू थिएनन् । अहिले गायक गायिकाको आफ्नै युट्युब च्यानल अनिवार्य भइसक्यो ।’ नयाँ प्रविधिको विकास र नयाँ पुस्ताको आगमनलाई उनले चुनौती र सिकाई दुवैको रूपमा लिने गरेकी छन् ।

उनी फुर्सदको समयमा नयाँ पुस्ताका कलाकारहरूसँग सङ्गीतका बारेमा सल्लाह लिने र दिने गर्छिन् ।

आजको सङ्गीत बजारमा एउटा नयाँ र डरलाग्दो विकृति पनि भित्रिएको छ– द्विअर्थी र अश्लील शब्दहरूको प्रयोग र ‘भाइरल’ हुने होडबाजी ।

बबिता यस्तो प्रवृत्तिको कडा विरोध गर्छिन् । त्यस्ता गीतहरू दुई दिन चर्चा हुने र तेस्रो दिन हराउने उनको भनाइ छ । क्षणिक चर्चाका लागि आफ्नो कला र नैतिकता बेच्नु नहुने उनले बताइन् ।

‘हाम्रो गीत आत्मामा आएको १४ वर्ष भइसक्यो, तर आज पनि मानिसहरूले यसलाई उत्तिकै सम्मानका साथ सुन्छन् । किनभने यसको शब्द र सङ्गीतमा शालीनता थियो’, उनले भनिन्, ‘कलाकार त्यस्तो हुनुपर्छ, जसले भोलि समाजमा उभिँदा आफूले गाएको गीत गर्वका साथ भन्न सकोस्, लाजले टाउको झुकाउनु नपरोस् ।’

सदाबहार गीतहरू मात्र वर्षौंसम्म बिक्छन् र तिनले कलाकारलाई अमर बनाउने उनको बुझाइ हो ।

दुई दशक लामो यात्रा तय गरिसकेकी बबिताका सपनाहरू अझै सकिएका छैनन् । उनका श्रीमान् सुरेश मानन्धरको एउटा चलचित्र निर्माण गर्ने सोच छ । उनी त्यसमा आफ्नो काँध थप्न चाहन्छिन् । साना सिर्जनाहरूमा सहकार्य गरेका उनीहरूको बिस्तारै एउटा स्तरीय चलचित्र निर्माण गर्ने योजना छ ।

सुरेश पनि सङ्गीतमै क्रियाशील छन् । सुरेश गायक तथा सङ्गीतकार हुन् । बबिताको गीतमा सुरेशको पनि सङ्गीत रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप