शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन

शनिबार, ३० जेठ २०८३, १५ : ३९
शनिबार, ३० जेठ २०८३

सारांश

  • काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा भएको बस दुर्घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले ६ सदस्यीय समिति गठन गरेको छ।
  • वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको संयोजकत्वमा गठित समितिले दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्षको पहिचान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नेछ।
  • यस दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा समिति गठन गरेका हुन्।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार महाभारत काभ्रेपलाञ्चोकका प्रहरी हबल्दार बासुदेव खड्का  छन् ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय,  काभ्रेपलाञ्चोकका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटी सदस्य सचिव रहेको समिति गठन भएको हो । समितिलाई दुर्घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्षको पहिचान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। शुक्रबार नै प्रधानमन्त्री कार्यालयले घटनाबारे छानबिन समिति बनाउन निर्देशन दिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप