आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अधिवेशन

रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना

आइतबार, ३१ जेठ २०८३, ०९ : ४५
आइतबार, ३१ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीको प्रथम अधिवेशन आज (आइतबार) बिहान ११ बजेबाट सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदै छ ।
  • यस अधिवेशनमा प्रदेश नेतृत्वका लागि वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा र नन्दकिशोर बस्नेत (एनके) सहित चार जना आकांक्षी छन् ।
  • अधिवेशनका लागि १० जिल्लाबाट ५३० जना प्रतिनिधि छनोट भई आएका छन् ।

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीको प्रथम अधिवेशन आज(आइतबार) बिहान ११ बजेटबाट सुरु हुँदै छ ।

वीरेन्द्रनगरको शुभ होटलमा आयोजना गरिएको अधिवेशनको उद्घाटन रास्वपाका महामन्त्री भूपदेव शाहले गर्नेछन् । यस्तै रास्वपा सह–महामन्त्री विपिन आचार्यको पनि सहभागिता रहने बताइएको छ ।

रास्वपा कर्णाली प्रदेश सह–महामन्त्री तथा संगठन विभाग प्रमुख राजबहादुर शाहका अनुसार, अधिवेशनको तयारी पुरा भइसकेको छ ।  अधिवेशनका लागि १० जिल्लामा ५३० जना प्रतिनिधि छनोट भएर आएका छन् ।

प्रदेश नेतृत्वको लागि सुरुमा पाँच जनाले आकाङ्क्षा राखेका थिए । अधिवेशनको नजिक आउँदा रुकुम पश्चिमका मानबहादुर शाही सभापतिको लाइनबाट बाहिरिएका छन् ।

वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा र नन्दकिशोर बस्नेत (एनके) भने पनि सभापति बन्ने चाहना प्रकट गरिरहेको स्रोत बताउँछ ।

४ जनामध्ये वर्तमान सभापति मदन खड्का र उपसभापति प्रेमबहादुर बोहोरा नै प्रतिस्पर्धीमा आउन सक्ने आकलन रास्वपा प्रदेश नेताहरूले गरेका छन् ।

दैलेखका बस्नेत गत फागुनको निर्वाचनको केही दिनअघि मात्रै नेकपा एमालेबाट रास्वपा प्रवेश गरेका थिए । उनले रास्वपाबाट दैलेख—१ को प्रतिनिधि सभा चुनाव लडेका थिए । यद्यपि उनी कांग्रेसकी बासना थापासँग पराजित भएका थिए । यद्यपि व्यक्तित्वको हिसाबले उनी बलिया दाबेदार हुन् ।

उनी रास्वपालाई कर्णालीमा माथि उठाउनुपर्छ भनेर नै आफू केन्द्रीय कमिटीमा नबसेको बताए ।

यस्तै, रुकुम पश्चिमकै बौद्धिक युवा प्रेम बोहोरालाई पनि सम्भावित बलियो आकाङ्क्षीका रुपमा हेरिएको छ ।

उनी यसअघि प्रतिनिधि सभा चुनावमा रास्वपाबाट खस आर्यतर्फ बन्दसूचीमा परेका थिए । प्रेम बोहोरा कर्णालीमा चर्चित नाम हो । उनले वीरेन्द्रनगरमै एक संस्था चलाउँछन् भने द‎र्जनौँ पुस्तकका लेखक पनि हुन् । उनी पहिले माओवादी र त्यसपछि बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध थिए । 

सभापतिका आकाङ्क्षी एक मात्र महिला स्नेहा उपाध्यायले पनि आफ्नो तयारी भइरहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप