आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी

आइतबार, ३१ जेठ २०८३, १० : ५५
आइतबार, ३१ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कञ्चनपुरका वडा सभापति सुरेश बोहराले एक क्रसर उद्योगसँग चन्दा मागेको पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ।
  • बोहराले पत्रमा प्राविधिक गल्ती भएको र बाटो ग्राभेल तथा खेलकुदका लागि सहयोग माग्दा 'अधिवेशनका लागि' लेखिएको दाबी गरेका छन्।
  • रास्वपाले पार्टीको नीति चन्दा उठाउने नरहेको भन्दै यस्तो कार्यमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ।

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (कञ्चनपुर) कृष्णपुर नगरपालिका वडा नम्बर १ का वडा सभापति सुरेश बोहराले एक क्रसर उद्योगसँग आर्थिक सहयोग मागेको पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीभित्र र बाहिर चर्चा सुरु भएको छ।

भाइरल भएको पत्रमा रास्वपाको आगामी केन्द्रीय महाधिवेशनका लागि आर्थिक सहयोग स्वरूप ३० हजार रुपैयाँ माग गरिएको छ। सभापति बोहराले पत्र आफ्नो भए पनि त्यसमा उल्लेखित विषयवस्तु प्राविधिक गल्ती भएको दाबी गरेका छन्।

‘बाटो ग्राभेल र खेलकुदका लागि कुरा भएको हो, हाम्रो क्षेत्रमा बाटो बिग्रिएको र ग्राभेल गर्नुपर्ने थियो। क्रसरवालासँग कुरा गर्दा उनीहरूले बाटो बनाउन र युवाहरूका लागि खेलकुद सामग्री किन्न ३० हजार रुपैयाँ सहयोग गर्छु भनेका थिएँ, मैले साथीलाई पत्र लेख्न लगाएँ। म गौशालाको काममा व्यस्त थिएँ। साथीले पत्र लेख्दा ‘अधिवेशनका लागि’ भनेर लेखिदिएछ। मैले नहेरी हस्ताक्षर गरेँ,’उनले भने।

अधिवेशनका लागि पैसा दिनुहोस् भनेर पत्र लेख्दा गल्ती भएको सोचेर पत्र फिर्ता लिएर च्यातिएको उनले दाबी गरे। ‘पछि पत्रमा गलत कुरा लेखिएको थाहा पाएपछि म आफैँ क्रसरमा गएर त्यो पत्र फिर्ता ल्याएर च्यातिदिएको हुँ। तर कसैले पहिल्यै फोटो खिचेर भाइरल बनाइदिएछ। मेरो नियत खराब होइन,’ उनले भने।

उनले आफू महाधिवेशनको प्रतिनिधि समेत नरहेको र पार्टीको नाममा चन्दा उठाउने कुनै उद्देश्य नरहेको भन्दै स्पष्टीकरण दिएका छन् । यस विषयमा रास्वपा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले गम्भीर आपत्ति जनाएका छन्। उनले पार्टीको नीति चन्दा उठाउने नरहेको स्पष्ट पारेका छन्।

‘हामीले कुनै पनि व्यक्ति वा निकायसँग एक रुपैयाँ पनि मागेका छैनौँ र कसैलाई माग्न लगाएका पनि छैनौँ, अधिवेशनका लागि केन्द्रीय कार्यालयबाटै बजेट व्यवस्थापन भएको छ। पार्टीको नाम प्रयोग गरेर यस्तो गर्ने जो कोहीलाई पनि हामीले कारबाहीको दायरामा ल्याउँछौँ। यो पत्रको विषयमा हामी थप बुझ्दैछौँ र अनुशासन उल्लङ्घन गर्नेलाई छोड्दैनौँ,’ उनले भनेका छन् ।

kirshanpur

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप