बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
सारांश
- बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री शिशिर खनालबिच द्विपक्षीय भेटवार्ता भएको छ।
- भेटमा उच्च गुणस्तरको बेल्ट एन्ड रोड (बीआरआई) सहकार्य, विद्युत् प्रसारण लाइन, राजमार्ग, सीमा नाका र उड्डयन क्षेत्रमा सहकार्य बढाउने सहमति भएको छ।
- परराष्ट्रमन्त्री खनालले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र चीनको हितविपरीत नेपाली भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बेइजिङ । बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री शिशिर खनालबिच द्विपक्षीय भेटवार्ता भएको छ। सोमबार भएको भेटमा चीनले आफ्नो छिमेक कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैँ महत्त्वपूर्ण स्थानमा राखेको चिनियाँ विदेशमन्त्री वाङले बताए।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङले सम्पूर्ण नेपाली जनताप्रति चीनले मैत्रीपूर्ण नीति अख्तियार गरेको प्रस्ट पारे। उनले नेपालको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्न तथा नेपालको आफ्नै राष्ट्रिय परिस्थितिअनुरूपको विकासको बाटो तय गर्न चीनले सधैँ सहयोग गर्ने बताए।
वाङले नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड (बीआरआई) सहकार्यलाई अगाडि बढाउन चीन इच्छुक रहेको बताए। विशेषगरी विद्युत् प्रसारण लाइन, राजमार्ग, सीमा नाका र उड्डयन क्षेत्रको सहकार्यमा ध्यान केन्द्रित गर्दै नेपाललाई भूपरिवेष्टित देशबाट भूजडित देशमा रूपान्तरण गर्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। यसका लागि दुवै पक्षले विभिन्न सहयोग संयन्त्रको पूर्ण उपयोग गर्नुपर्ने, व्यावहारिक सहकार्यलाई गहिरो बनाउनुपर्ने र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।
चीनले आफ्ना उद्यम र कम्पनीहरूलाई नेपालमा लगानी गर्न र व्यापार गर्न प्रोत्साहित गरिरहेको बताउँदै वाङले नेपालले पनि त्यसका लागि थप समतामूलक र पारदर्शी व्यावसायिक वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरे।
जवाफमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन चीनले गर्दै आएको लामो समयदेखिको सहयोगप्रति आभार व्यक्त गरे। चीनले नेपाललाई सधैं समान व्यवहार गरेको र सार्वभौमसत्ता तथा स्वतन्त्रताको सम्मान गरेको उनले उल्लेख गरे।
खनालले भने, ‘नेपाल एक चीन नीतिप्रति दृढ छ, चीनको पूर्ण एकीकरण हासिल गर्ने प्रयासलाई समर्थन गर्छ र चीनको हितविपरीत नेपाली भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न दिने छैन।’
चीनको विकास नेपालका लागि पनि अवसर भएको भन्दै खनालले चिनियाँ लगानीलाई स्वागत गरे। उनले चिनियाँ लगानीकर्तालाई निष्पक्ष, कानुनमा आधारित र मैत्रीपूर्ण व्यावसायिक वातावरण उपलब्ध गराउन नेपाल तयार रहेको बताए। साथै, नेपालले मानवताका लागि साझा भविष्य निर्माण गर्ने दृष्टिकोणलाई पूर्ण रूपमा समर्थन गर्ने र चीनले प्रस्ताव गरेका विश्वव्यापी पहलहरूलाई साथ दिने उनले स्पष्ट पारे।
भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री खनालले चिनियाँ विदेशमन्त्रीसँगको भेट फलदायी भएको बताएका छन्। उनले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगलगायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयाममा विस्तृत छलफल भएको जानकारी दिएका छन्। जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको र दुई देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई थप सुदृढ गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको उनले उल्लेख गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
नेपाल–भारत सीमा स्तम्भ संरक्षणबारे दुवै देशका अधिकारीहरूबिच के भयो छलफल ?
-
धादिङ र प्युठानबाट १७ थान भरुवा बन्दुक बरामद
-
जबरजस्ती करणीको अभियोगमा तीन जना पक्राउ
-
स्पेसएक्सको आईपीओबाट अपेक्षाभन्दा १० अर्ब डलर बढी रकम सङ्कलन
-
जवाफका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न प्रतिपक्षी सांसदको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण