मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

पर्वतमा सहिदको घरमै पुगे सशस्त्र प्रहरी प्रमुख पौडेल, दोसल्ला ओढाएर गरे सम्मान

मङ्गलबार, ०२ असार २०८३, ११ : ३७
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सहिद परिवारको सुख दुःखमा संगठन सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • महानिरीक्षक पौडेलले पर्वत जिल्लाको कुस्मा नगरपालिका–७ खरेहास्थित सहिद परिवारको घरमै पुगेर उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
  • उनले सहिद परिवारको पारिवारिक जीवन, आर्थिक अवस्था र सन्तानको पढाइबारे चासो राखेका थिए र समस्या समाधानका लागि नजिकका युनिटमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

पर्वत । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठन सधैँ सहिद परिवारको साथमा रहेको बताएका छन्। 

सहिदले बगाएको रगत र पसिनाका कारण नै आज संगठन यो उचाइसम्म आइपुगेको स्मरण गर्दै उनले सहिदका हरेक परिवारको सुख दुःखलाई आत्मसात गरेर संगठन अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

महानिरीक्षक पौडेलले सहिद परिवारका सदस्यहरूमा आइपर्ने जुनसुकै समस्याको समाधानतर्फ संगठन अग्रसर रहने र उनीहरूका आश्रित परिवारको हितका लागि के गर्न सकिन्छ भन्ने भावनाका साथ निरन्तर लागिरहने प्रस्ट पारे।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र मातहतका कार्यालयहरूको निरीक्षण भ्रमणका क्रममा महानिरीक्षक पौडेल पर्वत जिल्ला पुगेका थिए। सोही क्रममा उनी कुस्मा नगरपालिका–७ खरेहास्थित सहिद परिवारको घरमै पुगेर सो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले सहिद परिवारप्रति सम्मान प्रकट गर्दै परिवारका सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गरे।

आगामी दिनहरूमा पनि सहिदका परिवारहरूसँग निरन्तर भेटघाट गर्ने योजना रहेको उनले जानकारी दिए। सहिदको परिवारमा आइपर्ने विभिन्न समस्या समाधानका लागि सशस्त्र प्रहरी बल नेपालको नजिकै रहेका युनिटहरूमा सिधै सम्पर्क राख्न समेत उनले अनुरोध गरे। भेटघाटका क्रममा महानिरीक्षक पौडेलले सहिद परिवारको पारिवारिक जीवन, आर्थिक अवस्था र उनका सन्तानको पढाइको विषयमा समेत चासो राख्दै विस्तृत जानकारी लिएका थिए।

यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालमा पनि सहिद परिवारको सम्मानमा विशेष कार्यक्रमहरू सञ्चालन गरिएका थिए। सो समयमा हरेक ६-६ महिनामा नजिकका युनिटहरू मार्फत प्रत्येक सहिद परिवारसँग भेटघाट गर्ने कार्यक्रम मिलाइएको थियो। 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटहरूको वार्षिकोत्सवका अवसरमा सहिद परिवारका सदस्यहरूलाई अनिवार्य रूपमा सहभागी गराएर सम्मान गर्ने परम्पराको सुरुवात गरिएको थियो, जसलाई वर्तमान नेतृत्वले पनि निरन्तरता दिँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप