संसद्को चालु अधिवेशनबाटै संघीयता सम्बन्धी सबै कानुन पारित गर्न ढुंगानाको माग
सारांश
- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले संघीयता सम्बन्धी सबै कानुनहरू चालु संसद् अधिवेशनभित्रै पारित गर्न सरकारसँग माग गरेका छन्।
- सांसद ढुंगानाले सरकारले कानुन निर्माणमा चासो नदिएको र अध्यादेशमार्फत देश चलाउने मनस्थितिमा रहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
- उनले सरकारको गैरजिम्मेवार शैलीले बजेटमाथिको छलफलसमेत राम्रोसँग हुन नसकेको र संघीय व्यवस्था कमजोर हुनेतर्फ ध्यानाकर्षण गराए।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद आनन्दप्रसाद ढुंगानाले संसद्को चालु अधिवेशनभित्रै संघीयता सम्बन्धी सम्पूर्ण कानुनहरू पारित गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन्। सांसद ढुंगानाले सरकारले कानुन निर्माण गर्ने विषयमा फिटिक्कै चासो नलिएको भन्दै गम्भीर असन्तुष्टि समेत व्यक्त गरे।
सरकार संसद्बाट कानुन बनाउनुको साटो अध्यादेशमार्फत देश चलाउने मनस्थितिमा रहेकाले कानुन निर्माणको कामले गति पाउन नसकेको सांसद ढुंगानाको जिकिर थियो। सरकारकै गैरजिम्मेवार शैलीका कारण मुलुकमा बजेटमाथिको छलफल पनि सोचे अनुसार गहन रूपमा हुन नसकेको दाबी उनले गरे।
समितिको बैठकमा आफ्ना धारणा राख्दै सांसद ढुंगानाले भने, ‘संघीयताका लागि यो यो ऐन अति आवश्यक छ भनेर समितिले यसअघि नै भनिसकेको छ। त्यसलाई अहिलेको चालू अधिवेशनमा नै अथवा यही अवधिमा नै पास हुनुपर्दछ। किनभने त्यसपछि संसद् दसैँसम्म बन्द होला। यही अवधिमा फास्ट ट्र्याकमा सरकारले ल्याओस् र पास गरोस् भन्ने मेरो आग्रह हो। तर सरकार अध्यादेशमार्फत देश चलाउने मनस्थितिमा छ। त्यसकारण सरकारले ऐनहरू निर्माणको काममा चासो देखाएको देखिँदैन। दैनिक काम पनि जति संसद्मा हुनुपर्दथ्यो, त्यो पनि पूर्ण हुन सकिराखेको छैन। हामीले बजेटबारे पनि राम्रोसँग छलफल गर्न पाइरहेका छैनौँ।’
सांसद ढुंगानाले विभिन्न संसदीय समितिहरूले पटक-पटक सचेत गराउँदा र घच्घच्याउँदा समेत सरकारले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माणमा कुनै चासो नदिएको कुरा बैठकमा स्मरण गराए। सरकार ऐन निर्माणमा उदासीन बन्दा समग्र संघीय व्यवस्था नै कमजोर हुनेतर्फ उनले ध्यानाकर्षण गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको बजेटः नयाँ कार्यक्रममा जोड दिँदा पुराना दर्जनौँ कार्यक्रम गायब
-
एसियन गेम्स छनोटमा धाँधली भएको भन्दै पौडी खेलाडी अदालतमा
-
लेबनान मामिलामा नेतान्याहुप्रति ट्रम्प असन्तुष्ट
-
मुख्यमन्त्री विजय र पत्नी संगीता अदालतमा अनुपस्थित, सम्बन्धविच्छेदको मुद्दाको पेसी सर्यो
-
गोडैता नगरपालिकाका वडाध्यक्ष पक्राउ
-
चलचित्र ‘काला हिरण’ विवाद : अभिनेता गोविन्द नामदेवसँग ५० लाख रुपैयाँ क्षतिपूर्ति माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण