मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

‘गदर : एक प्रेम कथा’ को  २५ वर्ष, सम्झनामा अमरीश पुरी

मङ्गलबार, ०२ असार २०८३, १३ : २८
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • बलिउडको ऐतिहासिक सफल फिल्म ‘गदरः एक प्रेम कथा’ प्रदर्शनमा आएको २५ वर्ष पूरा भएको अवसरमा निर्माण युनिटले मुम्बईमा एक विशेष कार्यक्रम गरी सिल्भर जुबली मनाएको छ ।
  • कार्यक्रममा फिल्मका मुख्य कलाकार सनी देवल, अमीषा पटेल, निर्देशक अनिल शर्मा लगायतको उपस्थिति थियो ।
  • सिल्भर जुबली समारोहमा फिल्ममा सकिनाको पिताको भूमिका निर्वाह गरेका दिवंगत अभिनेता अमरीश पुरीलाई टोलीले भावुक हुँदै स्मरण गरेको छ ।

मुम्बई । बलिउडको ऐतिहासिक सफल फिल्म ‘गदरः एक प्रेम कथा’ प्रदर्शनमा आएको २५ वर्ष पूरा भएको छ । सोही अवसरमा निर्माण युनिटले सोमबार मुम्बईमा एक विशेष कार्यक्रम गर्दै सिल्भर जुबली (रजत महोत्सव) मनाइएको छ । 

कार्यक्रममा फिल्मका मुख्य कलाकार सनी देवल, अमीषा पटेल, निर्देशक अनिल शर्मा लगायत कलाकारको साथै प्राविधिकहरूको पनि उपस्थिति रहेको थियो ।कार्यक्रममा अभिनेता सनी देवलले केक काटेर अभिनेत्री अमीषा पटेल र निर्देशक अनिल शर्मालाई खुवाएका थिए । 

 कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूले ठट्टा गर्दै ‘अहिले एआईको जमाना भएकाले यसकै माध्यमबाट कलाकारलाई सधैँ युवा देखाउन सकिने’ टिप्पणी गर्दा अमीषाले सनी देवलतर्फ इशारा भनेकी थिइन्, ‘उहाँ अहिले पनि जवान नै हुनुहुन्छ ।’

फिल्म १५ जुन २००१ मा प्रदर्शनमा आएको थियो । तत्कालीन समयमा यस फिल्मलाई लिएर दर्शकमाझ निकै क्रेज देखिएको थियो। सोही दिन आमिर खानको मुख्य भूमिका रहेको ‘लगान’ पनि प्रदर्शनमा आएको थियो । बक्स अफिसमा बलियो प्रतिस्पर्धा भए तापनि दुवै फिल्मले व्यवसाय गरेका थिए ।

करिब १८ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको ‘गदर’ ले बक्स अफिसमा १३३ करोड भारु भन्दा बढीको कमाइ गरेको थियो । त्यस्तै, ६० करोड भारुको बजेटमा बनेको यसको दोस्रो भाग ‘गदर २’ ले विश्वभर ६९१ करोड भारु भन्दा बढी सङ्कलन गर्न सफल भएको थियो । फिल्ममासनी देवलको ‘तारा सिंह’ र अमीषा पटेलको ‘सकिना’ को भूमिकालाई दर्शकले निकै रुचाएका थिए ।

सिल्भर जुबली समारोहमा फिल्ममा सकिनाको पिताको भूमिका निर्वाह गरेका दिवंगत अभिनेता अमरीश पुरीलाई टोलीले भावुक हुँदै स्मरण गर्‍यो । सनी देवलले भने, ‘अमरीश जी आज हामीमाझ हुनुहुन्न, तर उहाँ सधैँ हाम्रो हृदयमा रहनुहुनेछ ।’

निर्देशक अनिल शर्माले थपे, ‘जबसम्म ‘गदर’ को नाम रहनेछ, अमरीश पुरी जीको नाम पनि यससँगै जोडिनेछ ।’ अभिनेत्री अमीषाले पनि आफूहरूले अमरीश पुरीलाई निकै सम्झिरहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप