सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता

सोमबार, ०८ असार २०८३, ११ : १५
सोमबार, ०८ असार २०८३

सारांश

  • राष्ट्र निर्माणका लागि कुनै एक दलको विजय मात्र पर्याप्त नभई राष्ट्रिय सहमति आवश्यक छ।
  • देश राजनीतिक अस्थिरता, भ्रष्टाचार र अविश्वासमा अल्झिएको बेला जनताले स्थायित्व र राष्ट्रिय एकताको खोजी गरिरहेका छन्।
  • व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रमा राखी एकता, स्थायित्व र समृद्धिको यात्रामा अघि बढ्नुपर्छ।

राष्ट्र निर्माणको इतिहास हेर्दा एउटा सत्य बारम्बार प्रमाणित भएको छ,देशको समृद्धि कुनै एक दलको विजयबाट मात्र सम्भव हुँदैन। सरकार बदलिँदैमा देश बदलिने भए आज संसारका धेरै राष्ट्रहरू समस्यामुक्त भइसक्थे। तर समृद्धि त्यहाँ सम्भव भयो जहाँ राष्ट्रलाई दलभन्दा माथि राखियो, जहाँ सत्ता भन्दा देशको स्थायित्वलाई प्राथमिकता दिइयो र जहाँ पुस्तौँसम्म टिक्ने राष्ट्रिय सहमति निर्माण गरियो।

आज देश राजनीतिक अस्थिरता, निराशा, भ्रष्टाचार र अविश्वासको चक्रमा अल्झिएको छ। यस्तो अवस्थामा जनताले केवल नयाँ अनुहार मात्र होइन, राष्ट्रलाई एकताबद्ध गर्ने साझा आधार पनि खोजिरहेका छन्। यही सन्दर्भमा विभिन्न सार्वजनिक कार्यक्रममा, चाहे त्यो कुनै दल विशेषको किन नहोस्, राजसंस्थाको प्रसङ्ग आउँदा जनस्तरबाट सुनिने समर्थनका स्वरले एउटा सन्देश दिन्छ—देशमा अझै पनि स्थायित्व, राष्ट्रिय एकता र साझा अभिभावकत्वको आवश्यकता महसुस भइरहेको छ।

विश्व इतिहासमा पनि धेरै राष्ट्रहरूले आफ्नो राष्ट्रिय पहिचान र स्थायित्वको आधारका रूपमा राजसंस्थालाई जोगाएर राखेका छन्। त्यहाँ प्रजातन्त्र पनि छ, विकास पनि छ, समृद्धि पनि छ। कारण एउटै हो,उनीहरूले राष्ट्रिय एकताको प्रतीकलाई दलगत प्रतिस्पर्धाभन्दा माथि राखे।

आज आवश्यकता कसैप्रति घृणा गर्ने होइन, कसैको अस्तित्व अस्वीकार गर्ने पनि होइन। आवश्यकता देशलाई केन्द्रमा राखेर सोच्ने हो। यदि कुनै विचार, कुनै संस्था वा कुनै व्यवस्था राष्ट्रको स्थायित्व, राष्ट्रिय एकता र दीर्घकालीन समृद्धिको आधार बन्न सक्छ भने त्यसबारे खुला बहस हुनुपर्छ। किनकि राष्ट्रको भविष्य कुनै दलको जित वा हारमा सीमित हुँदैन; त्यो त सम्पूर्ण नेपालीको साझा भाग्यसँग जोडिएको हुन्छ।

हामीले अब दलभन्दा पहिले देश भन्न सिक्नुपर्छ। विचारको बहसभन्दा माथि उठेर राष्ट्रको समृद्धि, स्थायित्व र गौरवका लागि एकजुट हुनुपर्छ। किनकि देश रहे मात्र हाम्रो अस्तित्व रहन्छ, देश बलियो भए मात्र हाम्रो भविष्य सुरक्षित हुन्छ र राष्ट्र समृद्ध भए मात्र आउने पुस्ताले गर्वका साथ आफ्नो पहिचान बोकेर अगाडि बढ्न सक्छ।

व्यक्तिगत आग्रह, दलगत स्वार्थ र क्षणिक लाभभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रमा राखौँ। मुलुकको लागि, सन्ततिको लागि, र आउने पुस्ताको उज्यालो भविष्यका लागि राष्ट्रिय एकता, स्थायित्व र समृद्धिको यात्रामा अघि बढौँ। जसले आफ्नो स्वार्थभन्दा माथि उठेर जसले देश रोजेको छ इतिहासले अन्ततः उनीहरूलाई नै स्मरण गर्छ। आजको पुस्ताले पनि त्यही निर्णय लिन सक्यो भने भोलिको नेपाल अवश्य उज्यालो हुनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र गुरुङ
राजेन्द्र गुरुङ
लेखकबाट थप