‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
नेपालमा केही समयदेखि देखापरेको घातक एभियन इन्फ्लुएन्जा अर्थात् बर्ड फ्लु सङ्क्रमण काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा तीव्र रूपमा फैलिएको छ ।
विशेषगरी काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर यस सङ्क्रमणको मुख्य ‘हटस्पट’का रूपमा देखा परेका छन् । बर्ड फ्लु कुखुरासहित चराचुरुङ्गीमा लाग्ने एक सङ्क्रामक भाइरस हो । चिकित्सकहरूका अनुसार यो विशेषगरी रोगी चरा वा फार्मको प्रत्यक्ष सम्पर्कमा रहने मानिसमा सर्न सक्छ, तर मानिसबाट मानिसमा यो खासै सर्दैन ।
यसै सन्दर्भमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियन डा. विमल शर्मा चालिसेसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, डा. चालिसेसँग बर्ड फ्लुसँग सम्बन्धित विषयमा गरेको कुराकानीको सम्पादित अंश–
बर्ड फ्लु भनेको के हो ? यसलाई हामीले कसरी बुझ्न सक्छौँ ?
बर्ड फ्लु एक किसिमको भाइरस हो, जुन विशेष गरी कुखुरा लगायतका चराचुरुङ्गीहरूमा बढी देखिन्छ । नेपालमा केही दिनदेखि यो निरन्तर देखिँदै आएको छ र नेपालका धेरै जिल्लामा यसको सङ्क्रमण फैलिरहेको छ ।
कुखुराबाट मानिसमा र मानिसबाट मानिसमा यो रोग सर्ने सम्भावना कत्तिको हुन्छ ?
बर्ड फ्लु लागेको कुखुरा वा रोगी चराचुरुङ्गीको प्रत्यक्ष सम्पर्कमा रहने मानिसमा यो रोग सर्ने सम्भावना हुन्छ, तर मानिसबाट मानिसमा सरेका उदाहरण भने अहिलेसम्म उल्लेख्य रूपमा भेटिएका छैनन् ।
बर्ड फ्लु फैलिरहेको बेला कुखुराको मासु र अण्डा खाँदा कत्तिको जोखिम हुन्छ ?
यदि स्वस्थ कुखुरा र त्यसबाट उत्पादित अण्डा हो भने खान डराउनु पर्दैन, तर बर्ड फ्लु लागेको कुखुरा वा त्यसबाट उत्पादित अण्डा हो भने मानिसमा सर्ने सम्भावना रहन्छ । त्यसैले, रोगी चराचुरुङ्गीको सम्पर्कमा नबस्नु र त्यस्ता उत्पादन नखानु नै बेस हुन्छ ।
मानिसमा बर्ड फ्लु भएको कसरी थाहा पाउने र शङ्का लागेमा के परीक्षण गर्ने ?
मानिसमा देखिने लक्षणहरू अन्य मौसमी रुघाखोकीसँग मिल्दाजुल्दा हुन्छन् । आँखा रातो हुने, रुघा लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने र खोकी लाग्ने यसका सामान्य लक्षण हुन् । जटिल अवस्थामा निमोनिया हुने र शरीरका अन्य अङ्गहरूमा पनि असर पुग्न सक्छ । बर्ड फ्लु देखिएको क्षेत्रमा बस्ने वा त्यस्तो फार्ममा काम गर्ने मानिसमा यी लक्षण देखिएमा तुरुन्त परीक्षण गराई बर्ड फ्लु भए–नभएको पत्ता लगाउनु पर्छ ।
कुखुरा वा चराचुरुङ्गीमा बर्ड फ्लु लागेको कसरी पहिचान गर्न सकिन्छ ?
चराचुरुङ्गीहरू अचानक धेरै सङ्ख्यामा मर्नु, अण्डा उत्पादन घट्नु, घाँटीको भाग सुन्निएको जस्तो देखिनु यसका लक्षण हुन् । यद्यपि, नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरेपछि मात्रै बर्ड फ्लु भएको निश्चित रूपमा थाहा हुन्छ ।
पहिले व्यावसायिक कुखुरामा मात्र देखिने बर्ड फ्लु अहिले जङ्गली चराचुरुङ्गीमा पनि देखिनुको कारण के हो ? के यो कुनै नयाँ भेरियन्ट हो ?
यसको नाम नै बर्ड फ्लु भएकाले यो सबै चरा प्रजातिमा हुन सक्छ । मानिसहरूले कुखुरा धेरै पाल्ने र मासु खाने भएकाले कुखुरामा मात्र हुन्छ भन्ने विश्वास बसेको हो, तर यो जुनसुकै चराचुरुङ्गीमा पनि देखिन सक्छ ।
बर्ड फ्लुबाट बच्ने उपायहरू के–के हुन् ?
फार्ममा काम गर्ने व्यक्तिहरूले कुखुरा अचानक मर्न थाले वा अण्डा उत्पादन घटेमा तुरुन्त सम्बन्धित निकायमा खबर गर्ने ।
काम गर्दा व्यक्तिगत सुरक्षाका सामग्रीहरू जस्तै मास्क, पञ्जा, गाउन आदि प्रयोग गर्ने । सर्वसाधारणले बजारबाट ल्याएको मासु वा अण्डा राम्ररी पकाएर मात्र खाने ।
चराचुरुङ्गी धेरै भएको वा सङ्क्रमण फैलिएको ठाउँमा जाँदा मास्क र चस्मा लगाउने । साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने जस्ता व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
अहिलेको समयमा मासु र अण्डा खानु कत्तिको उचित होला ?
मासु र अण्डा खानै नहुने भन्ने होइन । ७० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा पकाउँदा यो भाइरस मर्ने हुनाले राम्ररी पकाएर खान सकिन्छ । तर सङ्क्रमित क्षेत्रको उत्पादन हो भन्ने थाहा भएमा त्यसको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
बर्ड फ्लुको मानवीय जोखिम न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयको भूमिका कस्तो हुनुपर्छ ?
यसमा ‘एक स्वास्थ्य’ अवधारणा अनुसार मानव, पशु र वातावरण सबै पक्षलाई हेर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले बिरामीको उपचार र शङ्कास्पद बिरामीहरूको समयमै पहिचान र निदान गर्ने व्यवस्था मिलाउनुपर्छ ।
स्वास्थ्यका लागि भन्दै ‘हाफ बोइल’ अण्डा वा नपाकेको मासु खानेहरूका लागि के सुझाव छ ?
सामान्य अवस्थामा स्वादका लागि त्यसो गरे पनि बर्ड फ्लुको जोखिम भएको समयमा भने अण्डा र मासु राम्ररी पकाएरमात्र खानुपर्छ । अण्डाको पहेँलो भाग पनि सारो हुने गरी पकाएर खानु सुरक्षित हुन्छ ।
एउटै फार्मका केही कुखुरा मरेका र केही जीवित छन् भने ती जीवित कुखुरा खान मिल्छ ?
मिल्दैन । फार्ममा सङ्क्रमण देखिएपछि सबै कुखुराहरू सङ्क्रमित भइसकेका हुन सक्छन् । लक्षण नदेखिए पनि ती कुखुराको मासु खानु जोखिमपूर्ण हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
-
महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण