मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

हालसम्म को–को नकआउटमा पुगे ? को समूह चरणबाटै घर फर्किए ?

मङ्गलबार, ०९ असार २०८३, ०९ : ३५
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणको समीकरणले आकार लिन थालेको छ।
  • अहिलेसम्म ६ वटा टोलीले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् भने ३ वटा टोली प्रतियोगिताबाट बाहिरिएका छन्।
  • मेक्सिको, संयुक्त राज्य अमेरिका, जर्मनी, अर्जेन्टिना, फ्रान्स र नर्वे नकआउट चरणमा पुग्ने टोलीहरू हुन्।

काठमाडौँ। सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणको समीकरणले आकार लिन थालेको छ। 

जुन २८ देखि जुलाई ३ सम्म सञ्चालन हुने राउन्ड अफ ३२ का लागि अहिलेसम्म ६ वटा टोलीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् भने ३ वटा टोली प्रतियोगिताबाट बाहिरिएका छन्।

आयोजक मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको थियो। समूह ‘ए’ अन्तर्गत बिहीबार भएको खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै मेक्सिको शीर्ष स्थानसहित अर्को चरणमा प्रवेश गरेको हो। मेक्सिकोले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २-० ले हराएको थियो। 

यसैगरी, समूह ‘डी’ बाट अस्ट्रेलियालाई २-० ले हराउँदै संयुक्त राज्य अमेरिका (यूएसए) नकआउटमा पुग्ने दोस्रो टोली बनेको थियो। अमेरिकाले पहिलो खेलमा पराग्वेमाथि ४-१ को सानदार जित निकालेको थियो। 

जर्मनी पनि शनिबार आइभोरी कोस्टलाई २-१ ले पाखा लगाउँदै अन्तिम ३२ मा पुग्न सफल भएको छ। यसअघिका दुई विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनीले यस पटक कुरासाओलाई ७-१ को विशाल अन्तरले हराएर प्रतियोगिताको सुरुवात गरेको थियो।

यता साबिक विजेता अर्जेन्टिनाले सोमबार अस्ट्रियालाई २-० ले पराजित गर्दै समूह ‘जे’ को शीर्ष स्थान पक्का गरेर नकआउटको टिकट काटेको छ। उक्त खेलमा लियोनेल मेस्सीले दुई गोल गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता (१८ गोल) को कीर्तिमान आफ्नो नाममा लेखेका छन्। मेस्सीले पहिलो खेलमा अल्जेरियाविरुद्ध ३-० को जित निकाल्दा विश्वकपमा आफ्नो पहिलो ह्याट्रिक समेत पूरा गरेका थिए। 

उपाधिको बलियो दाबेदार मानिएको फ्रान्स र नर्वे पनि समूह ‘आई’ बाट नकआउट चरणमा पुगेका छन्। फ्रान्सले इराकलाई ३-० ले हराउँदै अघिल्लो चरण तय गरेको हो, जसमा किलियन एम्बाप्पेले दुई गोल गरे।

zम्बाप्पेले पहिलो खेलमा सेनेगलविरुद्ध ३-१ को जित निकाल्दा पनि दुई गोल नै गरेका थिए। सोही समूहबाट नर्वेले सेनेगललाई ३-२ ले हराएर नकआउटमा स्थान सुरक्षित गर्‍यो। २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले पहिलो खेलमा इराकलाई ४-१ ले हराएको थियो।

अर्कोतर्फ, केही टोलीहरूको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ। समूह ‘सी’ को हाइटी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो। ब्राजिलसँग ३-० ले पराजित भएसँगै हाइटीको यात्रा टुङ्गिएको हो। सन् १९७४ पछि पहिलो पटक विश्वकप खेलिरहेको हाइटी पहिलो खेलमा स्कटल्यान्डसँग १-० ले पराजित भएको थियो। 

टर्की पनि पराग्वेसँग १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। टर्की पहिलो खेलमा अस्ट्रेलियासँग २-० ले स्तब्ध भएको थियो। 

त्यस्तै, ट्युनिसिया पनि जापानसँग ४-० ले पराजित भएपछि विश्वकपबाट बाहिरिने तेस्रो टोली बनेको छ। पहिलो खेलमा स्विडेनसँग ५-१ को भारी पराजय भोगेको ट्युनिसिया इतिहासमा कहिल्यै पनि समूह चरणभन्दा माथि उठ्न सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप