डेटोलको विज्ञापन विवादमा तानिएपछि कम्पनीले माग्यो माफी
सारांश
- ब्रिटिस सरसफाइ सामग्री ब्रान्ड डेटोलले चीनमा प्रसारण गरेको एक विज्ञापनका लागि माफी मागेको छ ।
- कम्पनीका अनुसार उक्त विज्ञापन लैङ्गिक विभेदको आलोचना गर्न बनाइएको थियो, तर त्यसको सन्देश उल्टै विवादास्पद बनेको छ ।
- यो विज्ञापनले चिनियाँ इन्टरनेटमा व्यापक आक्रोश उत्पन्न गरायो र डेटोलले विज्ञापन हटाइसकेको छ ।
काठमाडौँ । ब्रिटिस सरसफाइ सामाग्री (साबुन) ब्रान्ड डेटोलले चीनमा प्रसारण गरेको एउटा विज्ञापनका लागि माफी मागेको छ ।
कम्पनीका अनुसार उक्त विज्ञापन लैङ्गिक विभेदको आलोचना गर्न बनाइएको थियो, तर त्यसको सन्देश उल्टै विवादास्पद बनेर कम्पनीमाथि नै ‘ब्याकफायर’ बनेको छ ।
बहुउद्देश्यीय कीटाणुनाशक उत्पादनको प्रचारका लागि बनाइएको पाँच मिनेट लामो विज्ञापनलाई ‘माइक्रोड्रामा’ शैलीमा प्रस्तुत गरिएको थियो ।
विज्ञापनको सुरुआत एक पुरुषले ‘स्वच्छ’ र ‘अरू पुरुषहरूद्वारा दूषित नभएकी पवित्र’ जीवनसाथी खोजिरहेको दृश्यबाट हुन्छ ।
विज्ञापनको अन्त्यतिर कथामा मोड आउँछ, जब उसकी नयाँ प्रेमिकाले उसको महिला विरोधी सोचको आलोचना गर्दै सम्बन्ध अन्त्य गर्छिन् ।
त्यसपछि डेटोललाई ‘विषाक्त पुरुषहरू ब्याक्टेरियाजस्तै हुन्छन्’ भन्ने सन्देशसहित समाधानका रूपमा प्रस्तुत गरिन्छ ।
यो विज्ञापनले चिनियाँ इन्टरनेटमा व्यापक आक्रोश उत्पन्न ग¥यो । केही प्रयोगकर्ताले यसले महिलालाई वस्तुकरण गरेको आरोप लगाए भने अरूले ब्रान्ड बहिष्कार गर्न आह्वान गरे ।
डेटोलले विज्ञापन हटाइसकेको छ र जनाएको छ कि यसको उद्देश्य लैङ्गिक पूर्वाग्रहको आलोचना गर्नु थियो । तर पछि सामाजिक सञ्जालमा फैलिएका विज्ञापनका केही अंशहरूले यसको मूल सन्देशलाई विकृत बनाइदिएको कम्पनीको भनाइ छ ।
सोमबार जारी विज्ञप्तिमा डेटोलले भन्यो, ‘हामी स्वीकार गर्छौँ कि यसले धेरै मानिसहरूलाई, विशेषगरी महिलाहरूलाई, चोट पुर्याएको छ । विज्ञापनको सामग्री निर्माण र समीक्षा प्रक्रियामा भएको कुनै पनि लापरबाहीको जिम्मेवारी हामी लिन्छौँ ।’
कम्पनीले आफ्नो विज्ञापन सामग्रीको समीक्षा तथा निगरानी प्रक्रियाको पुनरावलोकन गर्ने पनि जनाएको छ ।
डेटोलले आफू परिवारहरूको स्वास्थ्य सुरक्षा गर्ने उद्देश्यसहित स्थापना भएको उल्लेख गर्दै भन्यो, ‘तर हामी यो पनि राम्ररी बुझ्छौँ कि वास्तविक सुरक्षा भनेको प्रत्येक व्यक्तिको सम्मान र समान व्यवहार पाउने अधिकारको रक्षा गर्नु पनि हो ।’
गत केही दिनयता यो विज्ञापनले चिनियाँ सामाजिक सञ्जालमा तीव्र बहस निम्त्याएको छ । धेरै मानिसहरू डेटोलका उत्पादनको कीटाणुनाशक क्षमतालाई कुनै ‘व्यक्तिको पवित्रता’ सँग तुलना गर्ने प्रयासप्रति आक्रोशित भएका छन् ।
चीनकोसामाजिक सञ्जाल वेइबोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘कस्तो फोहोर विज्ञापन ! म त शब्दविहीन भएको छु ।’ अर्को टिप्पणीमा भनिएको थियो, ‘कस्तो निराशाजनक कम्पनी । यसको उच्च व्यवस्थापनले आखिर के गरिरहेको छ ? म अब कहिल्यै डेटोल प्रयोग गर्दिनँ । बजारमा अरू धेरै ब्रान्डहरू छन् ।’
‘आई अन डिजिटल चाइना’ नामक समाचारपत्रिका सञ्चालन गर्ने मान्या कोएत्से लेख्छिन् ‘यदि उद्देश्य पुरुष पात्रलाई गलत देखाउनु नै थियो भने पनि त्यो सन्देश यति कमजोर ढङ्गले प्रस्तुत गरियो कि परिणाम पूर्ण रूपमा उल्टो भयो ।’
ब्रिटिस उपभोक्ता सामग्री कम्पनी ‘रेकिट’को स्वामित्वमा रहेको डेटोल यसअघि पनि चीनमा विवादमा परेको थियो । गत वर्ष पनि कम्पनीले एउटा विज्ञापनका कारण आलोचना खेपेको थियो, जसमा भनिएको थियोः ‘विवाह हुनुअघि नै केटी फिर्ता गरियो, पक्कै पनि उनी पर्याप्त सफा थिइनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण