बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

नेपाल–चीनबिच विज्ञान, प्रविधि र नवप्रवर्तनमा सहकार्य विस्तार गर्ने तयारी

बुधबार, १० असार २०८३, २१ : ०३
बुधबार, १० असार २०८३

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र  नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबिच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा सन् २०२३ मा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले भएको सम्झौतालाई कार्यान्वयनतर्फ अघि बढाउन संयुक्त समिति गठन गर्ने विषयमा छलफल भएको  छ। उक्त सम्झौता हालसम्म प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको अवस्थामा त्यसलाई गति दिने सहमति खोजिएको हो।

छलफलमा नेपालमा नवप्रवर्तन केन्द्रहरूको विकास, जैविक प्रविधि क्षेत्रमा अनुसन्धान तथा विकास, उच्च हिमाली क्षेत्र तथा हिमाली जडीबुटीको अध्ययन–अनुसन्धान, इकोलोजिकल अनुगमनका लागि उपग्रह तथ्याङ्क साझेदारी, जलवायु परिवर्तन तथा वातावरणीय अनुसन्धान, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरण तथा अनुसन्धानकर्ता र वैज्ञानिकहरूको आदानप्रदान एवं तालिमका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

भेटमा चिनियाँ राजदूत चाङले चीनले आफ्नो कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब २.८ प्रतिशत अनुसन्धान तथा विकासमा लगानी गर्ने रहेको जानकारी दिँदै विज्ञान तथा प्रविधिको विकासलाई राष्ट्रिय प्राथमिकतामा राखिएको बताए।

राजदूत चाङले चीन सरकारको १५औँ पञ्चवर्षीय योजनाअन्तर्गत विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा अघि सारिएका नीति तथा कार्यक्रमबारे समेत जानकारी गराएका थिए। उनले उक्त योजनासम्बन्धी विस्तृत दस्ताबेजको प्रति नेपाली पक्षलाई हस्तान्तरण गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप